
काठमाडौँ- भारतको राज्यसभाका सांसद् एवं भारतका पूर्वविदेश सचिव हर्षवर्धन श्रृंगला नेपाल आउने भएका छन्। धार्मिक अभियन्ता एवं अन्तर्राष्ट्रिय सन्त स्वामी महामण्डलेश्वर कृष्णनन्द परमहंस कालिदास बाबा (कालीबाबा) सँग भारतको सिलिगुढीमा भएको भेटवार्तामा सांसद श्रृंगलाले नेपालको धार्मिक भ्रमणमा आउने भएका हुन्।
कालीबाबासँगै कालिका साधना आश्रम नेपालका अध्यक्ष डा. मिलनकुमार थापाले सांसद् श्रृंगलालाई आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरको दर्शनका लागि निमन्त्रणा गरेका हुन्।
भेटवार्तामा सांसद श्रृंगलाले ऐतिहासिक एवं जनस्तरमा रहेको सम्बन्धलाई अझै सशक्त बनाउनुपर्ने बताए। श्रृंगलाले नेपाल र नेपालको धार्मिक पर्यटन प्रवर्द्धन गर्नका लागि नवीन थालनी गर्नुपर्ने र समुन्नतिका लागि पनि सहकार्य गर्नुपर्ने बताए। श्रृंगला भारतको विदेश मन्त्रालयमा रहँदा विभिन्न देशमा राजदूत एवं जी-२० सम्मेलनका प्रमुख संयोजक थिए।
भेटवार्तापछि धार्मिक अभियन्ता कालीबाबाले नेपाल र भारतबीचको सदियौँदेखिको सम्बन्धलाई नवीन उचाई दिन, धार्मिक क्षेत्रको विकास र प्रवर्द्धन गर्न तथा नेपाली युवा पलायन रोक्नका लागि धार्मिक पर्यटनलाई विकास र विस्तार गर्नुपर्ने बताए।
कालीबाबाले नेपालको समुन्नतिमा अब युवा अग्रसरता आवश्यक रहेको बताउँदै पलायनभन्दा पनि पौरखमा विश्वास गरेर देशको समृद्धिको अभियानमा एकाकार हुन आह्वान गरेका छन्। ‘युवा विदेश पलायन हुनु नपरोस्, देशमा शान्ति समुन्नति होस् र रोजगारी सिर्जना होस् भन्ने अभिप्रायले नै नेपालको धार्मिक पर्यटनको प्रचार प्रसार व्यापक बनाइएको हो,’ कालीबाबाले भने।
कालिका साधना आश्रमका अध्यक्ष डा. मिलनकुमार थापाले नेपाल र भारतबीचको सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई बलियो बनाउँदै पशुपतिनाथ मन्दिर दर्शनका लागि वार्षिक ५० लाखभन्दा धेरै पर्यटक भित्र्याउने उद्देश्यले काम अघि बढाइएको बताए।
डा.थापाले भारतमा पशुपति दर्शन अभियान सञ्चालन गरिएपछि धार्मिक पर्यटन आगमन वृद्धि भएको जानकारी दिँदै यो कार्यलाई अझै बढावा दिने बताए। ‘विश्वभरिका सनातन धर्मावलम्बीको केन्द्र बन्नसक्छ नेपालको धार्मिक पर्यटन, त्यसैले संस्थागत एवं व्यक्तिगत पहल थालिएको हो,’ डा.थापाले भने।
यसअघि, कालीबाबाकै निमन्त्रणामा पशुपतिनाथ मन्दिरस्थित हंसमण्डपमा साउन १४ देखि २४ गतेसम्म सञ्चालित दशमहाविद्या रुद्रहवन महायज्ञमा सहभागी हुन र पशुपतिनाथ मन्दिर दर्शन गर्न भारतका केन्द्रीय बन्दरगाह, परिवहन र जलमार्गमन्त्री सर्बानन्द सोनोवाल आएका थिए।
मन्त्री सोनावालले नेपालको धार्मिक पर्यटनको विकासमा सहयोग गर्ने बताए। महायज्ञका प्रमुख सल्लाहकार डा.थापाले धार्मिक अभियन्ता डा.गुरुजी कुमारन स्वामीसहित धार्मिक अभियन्ता, कलाकार एवं राजनीतिज्ञलाई पशुपतिनाथ मन्दिर दर्शन र महायज्ञमा आमन्त्रण गरेका थिए।
धार्मिक अभियन्ता कालीबाबा संकल्पित दशमहाविद्या रुद्रहवन महायज्ञ २०० औँ हवन हो। अब भारतको सिलिगुढीमा २०१ औँ महायज्ञ आयोजनाको तयारी भइरहेको छ। कालीबाबाले विश्वशान्ति, समुन्नति, आर्थिक विकासको लक्ष्य राखेरै हवन एवं महायज्ञको संकल्प गरेका हुन्।
सांसद श्रृंगलालाई अभिनन्दन
सांसद श्रृंगलालाई बिहीबार दार्जीलिङमा नागरिक अभिनन्दन गरिएको छ। दार्जीलिङ वेलफेयर सोसाइटी कालेबुङ जिल्लाका महासचिव सुमनकुमार बस्नेतले सांसद श्रृंगलालाई दार्जीलिङको भूमिपुत्रका रुपमा सम्मान गरिएको जानकारी दिए। गोरखा रंगमञ्च भानु भवनमा नागरिक अभिनन्दन कार्यक्रम आयोजना गरिएको हो।