
काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्न सहमति नभए रूसले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्। अलास्कामा शुक्रबार हुने राष्ट्रपति भ्लादिमिर पुटिनसँगको बैठकअघि ट्रम्पले यस्तो चेतावनी दिएका हुन्। उनले भनेका छन्, ‘पुटिनले युक्रेन युद्ध अन्त्य गर्न सहमति जनाएनन् भने अत्यन्तै गम्भीर परिणाम भोग्नुपर्नेछ।’
अमेरिकी राष्ट्रपति ट्रम्पले यो चेतावनी बुधबार युरोपेली नेताहरूसँगको वार्तापछि दिएका हुन्। उक्त वार्तापछि युरोपेली नेताहरूको चिन्ता कम गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। किनभने पुटिनसँग भूभागसम्बन्धी कुनै सम्झौता गरेर त्यसलाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीमाथि थोपर्ने ट्रम्पको सम्भावित कदमप्रति युरोपेली नेताहरू सशंकित थिए।
ट्रम्पले युरोपेली नेताहरूसँगको टेलिफोन वार्तालाई ‘अत्यन्त राम्रो’ र ‘१० अंकको’ भन्दै प्रशंसा गरेका छन्। उनले अलास्का बैठकपछि पुटिन र जेलेन्स्कीबीच चाँडै भेट पनि गर्न चाहेको बताए।
पुटिनले युद्ध रोक्न अस्वीकार गरेमा कस्तो परिणाम भोग्नुपर्ला भन्ने पत्रकारको जिज्ञासामा ट्रम्पले भने, ‘अत्यन्तै गम्भीर परिणाम हुनेछन्।’ यसबारे उनले थप विवरण भने दिएनन्। ट्रम्पले यसअघि पनि रूसमाथि कडा प्रतिबन्धको चेतावनी दिँदै आएका छन्। तर त्यस्ता चेतावनी कार्यान्वयन नगरेको आरोप उनीमाथि लाग्दै आएको छ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँगै उभिँदै जर्मनीका चान्सलर फ्रिडरिख मर्जले ट्रम्पसँगको ‘अत्यन्तै रचनात्मक र राम्रो संवाद’ भएको बताएका छन्। उनले पुटिनसँगको भेटमा युद्धविराम कायम गर्नु ट्रम्पको प्रमुख प्राथमिकतामध्ये एक हुने बताए।
मर्जले भने, ‘अलास्कामा रूसी पक्षबाट कुनै लचिलोपन देखिएन भने अमेरिका र हामी युरोपेलीहरूले अझ दबाब बढाउनुपर्छ। युक्रेनमा शान्तिको आशा अझै बाँकी छ।’
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले युक्रेनको भूभागसम्बन्धी कुनै गम्भीर छलफल नभएको र ट्रम्पले युद्धविराम कायम गर्ने आफ्नो लक्ष्य ‘एकदम स्पष्ट’ रूपमा व्यक्त गरेको बताए।
नाटोका महासचिव मार्क रुट्टेले भने, ‘युरोपेली र अमेरिकी सहयोगीहरू युद्ध अन्त्य गर्न एकताबद्ध छन्, र अब बल पुटिनको कोर्टमा छ।’
गत साता अमेरिकी राष्ट्रपति ट्रम्पले पुटिनसँग द्विपक्षीय शिखर बैठक गर्ने र युद्ध अन्त्यका लागि रुस र युक्रेनबीच भूभागको अदला–बदलीको विचार प्रस्तुत गरेपछि युक्रेन र उसका युरोपेली चिन्तित बनेका थिए।
यस्तो प्रस्ताव अस्वीकार गरेमा मास्कोसँग पीडादायी भूभागीय सम्झौता गर्न बाध्य पारिन सक्नेमा युक्रेन सशंकित थियो।
युरोपेली नेताहरूले ट्रम्पसँगको वार्ताबाट केही आश्वासन पाएका जस्तो देखिए पनि युक्रेनी र युरोपेली अधिकारीहरू अझै चिन्तित छन्। किनभने चतुर मानिने रूसी नेतासँग प्रत्यक्ष बस्दा ट्रम्पको धारणा बदलिन सक्ने खतरा उनीहरूले देखेका छन्।
रुसद्वारा कब्जा गरिएका भूभागका विषयमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले भने, ‘विषयहरू धेरै स्पष्ट थिए र ट्रम्पले त्यसरी नै व्यक्त पनि गरे। युक्रेनका भूभागीय प्रश्नहरूमाथि युक्रेनका राष्ट्रपतिद्वारा मात्र वार्ता हुन सक्छ। यो नै हाम्रो समर्थनको धारणा हो र ट्रम्पले यसलाई स्पष्ट रूपमा भनेका छन्।’
जर्मनीका चान्सलर फ्रिडरिख मर्जले युक्रेनमा रुसको कब्जाको कानुनी मान्यता कहिल्यै स्वीकार्य नरहेको बताए। उनले भने, ‘युक्रेनी सशस्त्र बलले आफ्नो देशको सम्प्रभुता रक्षा गर्न सक्षम हुनुपर्छ।’
बेलायतका प्रधानमन्त्री सर कियर स्टारमरले ट्रम्पसँगको वार्तामा युरोपेलीहरूले युक्रेनको भूभागीय अखण्डता रक्षा गर्न सुरक्षा सुनिश्चितता उपलब्ध गराउने अमेरिकी सहयोगबारे वास्तविक प्रगति हासिल गरेको बताए।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पुटिनले पश्चिमी प्रतिबन्धको प्रभावलाई कम देखाएर ‘धोका दिने’ प्रयास गर्न सक्ने बताए। उनले भने, ‘पुटिन शान्ति चाहँदैन। उसले हामीलाई पूर्ण रूपमा कब्जा गर्न चाहन्छ।’