
दार्चुला- शैल्यशिखर नगरपालिकाका विभिन्न वडामा इन्टरनेट सुविधा नहुँदा सामाजिक सुरक्षाका लाभग्राहीको नवीकरणमा समस्या भएको छ। सरकारले ज्येष्ठ नागरिकलगायत लाभग्राहीको बायोमेट्रिक प्रमाणीकरण गरेर मात्र नवीकरण गर्नुपर्ने व्यवस्था गरेपछि वडाहरूमा नविकरण गर्न समस्या भएको हो।
वडा नं. १ का सचिव शेरसिंह खडायतका अनुसार इन्टरनेट विना बायोमेट्रिक सम्भव छैन। ‘समयमै इन्टरनेट नचल्दा ज्येष्ठ नागरिक वडामा आएर समस्यामात्र भोग्नुपरेको छ’, उनले भने।
एकातिर दोहोरो वडाको जिम्मेवारी छ। अर्कोतिर इन्टरनेट छैन। सेवाग्राहीले हामीलाई सेवा नदिएको गुनासो मात्रै गर्छन्। समस्याबारे स्थानीय सरकारले समयमै चासो नलिएको खडायतको गुनासो छ।
सामाजिक सुरक्षा लाभग्राही दिनहुँ वडामा पुगेर फर्किन बाध्य भएको शैल्यशिखर वडा नम्बर ७ का वडा सचिव भुपेन्द्रप्रसाद जोशीले जानकारी दिए। वडामा राम्रो ल्यापटप कम्प्युटर छैन। इन्टरनेट छैन। सेवाग्राहीको मात्रै दिनहुँ भीड लाग्ने गरेको छ।
मोबाइल नेटवर्कको स्थिति पनि दयनीय छ। ‘नेटवर्कका लागि कार्यालय बाहिर मोबाइल झुण्ड्याएर काम गर्नुपर्छ तर दुईवटा मोबाइल खस्दा बिग्रिसके’, जोशीको गुनासो छ। उनका अनुसार कम्प्युटर, ल्यापटप र इन्टरनेट भएमात्र सेवा प्रभावकारी हुन्छ।
‘गत वर्षसम्म चिठीपत्र पठाउन मोबाइलमा रिचार्ज हालेटर डाटा प्रयोग गर्थें’,सचिव जोशीले भने,‘मोबाइलबाट डाटा चलाएको रकमसमेत बेरुजु आयो, यस्तो अवस्थामा वडाले अहिले ज्येष्ठ नागरिकको बायोमेट्रिक प्रणालीबाट कसरी कामगर्न सक्छ, डाटा चलाउँदा? पाँच हजार खर्च भएको थियो।’
वडा सचिव जोशीका अनुसार नगरपालिकाले वडासम्म इन्टरनेट पहुँच पुर्याउन सकेको छैन। वडा नम्बर ४, ५, ७ र ८ मा डाटासमेत राम्रो सँग चल्दैन। यहाँका ९ वडामध्ये अन्य वडामा समेत डाटाले राम्रोसँग कामगरिरहेको छैन। वडा कार्यालयभित्र मोबाइल नेटवर्कसमेत आउँदैन।
नगरपालिकाका एमआइएस अपरेटर राजमती खडायतका अनुसार वडा नं ४, ५, ७ र ८ मामोबाइल डाटा नै चल्दैन। यहाँका अन्य वडामा भने थोरै मात्र काम हुने अवस्था छ। ‘अहिलेको समयमा इन्टरनेट विना कुनै पनि काम सम्भव छैन, वडाको कामप्रभावकारी बनाउन र समयमै सामाजिक सुरक्षा लाभग्राहीको वायोमेट्रिक विवरण अपलोड गर्न वडामा इन्टरनेट र ल्यापटप तुरुन्तै उपलब्ध गराउनुपर्छ’, उनले भने।