आफैँ उदाएको फाउन्डेसनमाथि किन प्रहार गर्दै छन् ओली?

किरण पौडेल २८ साउन २०८२ २१:२३
36
SHARES
आफैँ उदाएको फाउन्डेसनमाथि किन प्रहार गर्दै छन् ओली? प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू उदय भएको संस्थामाथि कटाक्ष गरेपछि एमालेका नेताहरू झस्किएका छन्।  प्रधानमन्त्रीसमेत रहेका ओलीले घुमाउरो पारामा मदन भण्डारी फाउन्डेसनलाई मागीखाने भाँडो बनाउन नहुने टिप्पणी गरेका थिए। ओलीले सोमबार पार्टी कार्यालयमा मदन-आश्रित स्मृति प्रतिष्ठानको कार्यक्रममा सम्बोधन गर्दै भने, ‘मदन भण्डारी फाउन्डेसन पार्टीले बनाएको होइन, हामीहरू मिलेर बनाएको हो।’

एमालेकी पूर्वउपाध्यक्षसमेत रहेकी पूर्वराष्ट्रपति विद्या भण्डारी मदन भण्डारी फाउन्डेसनमार्फत सक्रिय राजनीतिमा संलग्न हुन थालेपछि ओलीको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो। एमाले नेताहरूका अनुसार ओली कुनै बेला फाउन्डेसनकै छत्रछायामा रहेर राजनीतिक गतिविधिमा सक्रिय रहन्थे।

नेकपा एमालेमा अध्यक्ष ओली र पूर्वउपाध्यक्ष भण्डारीको भिन्नभिन्न कित्ता बनेको छ। दुई नेताबीच ध्रुवीकरण हुने प्रक्रिया अघि बढेपछि कार्यकर्ता पनि सोहीअनुसार विभाजित हुन थालेका छन्। पूर्वराष्ट्रपति भण्डारीले असार १४ मा एमाले फर्किएको निर्णय गरेकी थिइन्। एमालेलेको साउन ६ मा बसेको केन्द्रीय कमिटी बैठकले भण्डारीको सदस्यता खारेज गरिदियो। एमालेले रोके पनि भण्डारी नरोकिने भएकी छन्।

भण्डारी मदन भण्डारी फाउन्डेसनमार्फत सक्रिय राजनीतिमा संलग्न भएकी हुन्। भण्डारीकै लागि फाउन्डेसनलाई नयाँ ढाँचामा अघि बढाउन लागिएको उनी निकट नेताहरू बताउँछन्। फाउन्डेसनले मदन भण्डारीको हीरक जयन्ती भव्य रूपमा मनाउने भएको छ। जसका लागि फाउन्डेसनले समिति बनाएको छ भने नयाँ भवनसमेत भाडामा लिएको छ। काठमाडौँ नयाँबानेश्वर थापागाउँस्थित घरमा फाउन्डेसनको काम गर्न नयाँ भवन लिइएको हो।

भण्डारी निकट नेताहरू फाउन्डेसनको कार्यक्रम गर्न भने पनि भण्डारीलाई राजनीतिक रूपमा अघि बढाउन भवन भाडामा लिइएको बताउँछन्। ‘भंगाल (भण्डारी निवास)मा भेटघाट गर्न असजिलो भएकाले नयाँ ठाउँमा भवन सारिएको हो। जहाँबाट राजनीतिक कार्यक्रम गरिनेछ’, भण्डारी निकट एक नेता भन्छन्।

एमालेले भने सोमबार मदन-आश्रित प्रतिष्ठानमा नयाँ नेतृत्व लिएको छ। प्रतिष्ठानको अध्यक्ष एमालेका उपमहासचिव एवं ओली निकट नेता प्रदीप ज्ञवाली बनेका छन्। ज्ञवालीको शपथ ग्रहण समारोहमा ओलीले बोलेका कुरालाई लिएर अहिले एमाले वृत्तमा निकै चर्चा भइरहेको छ। उनले भनेका थिए, ‘पार्टीका सम्मानित नेताको नाममा स्थापना गरिएका संस्थाहरू सही बाटोमा हिँड्नुपर्छ। नेताहरूको नाममा बनाइएको प्रतिष्ठानहरू ठगी खाने भाँडो बनाउने परिपाटी हुनुहुन्न।’

के हो मदन भण्डारी फाउन्डेसन?

२०५० सालमा चितवनको दासढुंगामा भएको दुर्घटनामा मदन भण्डारीको रहस्मय निधनपछि उनकै नाममा खुलेको संस्था हो, मदन भण्डारी फाउन्डेसन। नेताहरूका अनुसार संस्थाको उद्देश्य राजनीतिबाहिरका गतिविधि गर्नु थियो। अहिले पनि फाउन्डेसनमार्फत कलेज र स्कुल सञ्चालित छन्।

मदन भण्डारी मेमोरियल कलेज र मदन भण्डारी मेमोरियल स्कुल फाउन्डेसनमार्फत सञ्चालित छन्। मदन भण्डारी कृषि प्राविधिक स्कुल पनि फाउन्डेसन ‘सम्बद्ध’ संस्था हो। यसबाहेक फाउन्डेसनले मदन भण्डारी स्पोर्ट्स एकेडेमी, मदन भण्डारी लिट्रेचर तथा आर्ट एकेडेमी र मदन भण्डारी बौद्धिक मञ्च सञ्चालनमा ल्याएको छ।

फाउन्डेसनका जानकार एमाले नेता समिर नेपालका अनुसार यी सबै संस्था अहिले जिल्लाजिल्लामा गठन भएका छन्। यो संस्था सुरुमा मदन भण्डारी अध्ययन तथा अनुसन्धान केन्द्रका रूपमा २०५६ असोज ५ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा संस्था दर्ता भएको थियोे।

२०६१ असार १७ गते जिल्ला प्रशासन कार्यलय काठमाडौँको निर्णयअनुसार यो संस्था फाउन्डेसनमा रूपान्तरण भयो। त्यतिबेलासम्म संस्था दर्ता ऐन २०३४ अन्तर्गत रहेको फाउन्डेसन २०६६ चैत १९ गतेदेखि राष्ट्रिय निर्देशन ऐन २०१८ बमोजिम दर्ता भएको हो।

‘यो संस्था रेडक्रस, स्काउटजस्ता संस्थाको जसरी र जे उद्देश्यका साथ गठन भएको थियो। त्यही उद्देश्यले फाउन्डेसन गठन गरिएको थियो’, एमाले काठमाडौँ जिल्ला अध्यक्ष नेपाल भन्छन्।

फाउन्डेसनले राजनीतिक कार्यक्रम गरेन?

उद्देश्य सामाजिक क्षेत्रमा काम गर्ने भए पनि फाउन्डेसनले नेताहरूको ‘प्रवद्र्धन’ नै गर्ने काम गर्‍यो। फाउन्डेसनलाई नजिकबाट बुझ्ने एमाले नेताहरू मदन भण्डारीको निधनपछि ओलीलाई मूलधारको राजनीतिमा ल्याउने काम फाउन्डेसनले गर्‍यो।

‘भण्डारीको निधनपछि माधव नेपाल मुख्य नेता बने। त्यतिबेला ओली ओझेलमा थिए,’ फाउन्डेसनका पूर्वकेन्द्रीय सदस्य दामोदर अर्याल भन्छन्, ‘फाउन्डेसनमार्फत ओलीले राजनीतिक गतिविधि गरिरहे। कहिलेकाहीँ त लाग्थ्यो। उनी फाउन्डेसनबाट समानान्तर गतिविधि गर्थे।’

फाउन्डेसनको पहिलो अध्यक्ष विद्या भण्डारी भइन्। संरक्षक ओली थिए। अहिले पनि फाउन्डेसनको संरक्षकमा ओली नै छन्। फाउन्डेसनमा लामो समय भण्डारीले हाँकिन्। ‘यो संस्था मदन भण्डारीका नाममा रहेकाले कसैले नराम्रो भन्न सकेन। किनभने पार्टीभित्रबाट पनि कुरा नउठेकाले सबैथोक भइरह्यो’, एमालेका एक नेता भन्छन्। फाउन्डेसन सञ्चालनका लागि सदस्यबाट रकम उठाइन्छ भने सरकारले पनि बजेट उपलब्ध गराउँछ।

फाउन्डेसको अध्यक्षमा भण्डारीपछि उनकै छोरी उषाकिरण अध्यक्ष बनिन्। बीचमा एकपटक महेन्द्र पाण्डे पनि अध्यक्ष बने। पाण्डे चीनका लागि नेपाली राजदूतमा नियुक्त भएपछि फेरि उषा नै अध्यक्ष बनिन्।

फाउन्डेसनमा भण्डारीले रुचाएका नेताहरू मात्र अध्यक्ष बनेका छन्। अधिकांश समय त भण्डारी र भण्डारी परिवारकै नेताहरू अध्यक्ष बने। जतिबेला ओली-भण्डारी एकगुटमा थिए त्यसबेला दुवै नेतालाई फाउन्डेसनले सहयोग गरेको जानकारहरू बताउँछन्। ‘ओलीको उदय नै फाउन्डेसनबाट भएको भन्दा फरक खाँदैन। यसले भण्डारीलाई पनि सहयोग नै गर्‍यो’, अर्याल सम्झन्छन्।

२०४७ सालमा नेकपा माले र नेकपा (एकीकृत समाजवादी) एकता हुँदा मनमोहन अधिकारी अध्यक्ष र मदन भण्डारी महासचिव बनेका थिए। माधव नेपाल तेस्रो वरीयताका नेता थिए भने ओली १४ औँ नम्बरमा थिए।

२०४९ माघमा भएको एमालेको पाँचौँ महाधिवेशनबाट मदन भण्डारी महासचिव बने भने मनमोहन अधिकारी अध्यक्ष बने। माधव नेपाल तेस्रो वरीयतामा रहँदा ओली ५ औँ वरीयतामा पुगे। २०५० सालमा मदन भण्डारीको निधन भएपछि माधव नेपालले कार्यवाहक महासचिव चलाए। २०५९ सालमा भएको एमालेको सातौँ महाधिवेशनबाट महासचिवमा माधव नेपाल आए भने ओली चौथो वरीयताका स्थायी समिति सदस्य बने। अर्यालका अनुसार यतिबेला ओली-नेपाल एकै प्यानलमा थिए। ओलीले फाउन्डेसनकै ब्यानरमुनि रहेर राजनीतिक गतिविधि बढाएका थिए।

‘पार्टीमा मदनमोहन अधिकारी, माधव नेपाल, वामदेव गौतमकै वर्चस्व थियो। ओलीको हैसियत कम थियो’, अर्याल सम्झन्छन्। २०६५ सालमा भएको आठौँ महाधिवेशनबाट झलनाथ खनाल अध्यक्ष बने भने ओली तेस्रो वरीयतामा पुगे। उनको पद तेस्रो स्तरको ‘नेता’ बने। नवौँ महाधिवेशनबाट ओली नेपालकै प्रतिस्पर्धी बनेर अध्यक्षमा उदाए।

‘ओली-नेपाल सम्बन्ध सकिएपछि उनीहरू प्रतिस्पर्धी बने। नवौँ महाधिवेशनमा ओली-नेपालकै प्रतिस्पर्धा भयो’, अर्याल भन्छन्, ‘ओलीले झलनाथको सहयोगमा चुनाव जिते।’

ओलीले फाउन्डेसनप्रति बोलेको विषयले एमाले कार्यकर्ताको मन पोलेको बताउँछन्, अखिलका पूर्वसचिव प्रकाश पौडेल। ‘माधव नेपालहरूले टेक्ने धर्ती हिँड्ने बाटो नदिएका बेला ओलीलाई सक्रिय बनाउने माध्यम थियो मदन भण्डारी फाउन्डेसन आज उहाँले दिएको अभिव्यक्ति लाखौँ  एमालेका कार्यकर्ताको मन पोलेको छ’, पौडेल भन्छन्।

के हो मदन-आश्रित प्रतिष्ठान?

ओलीले सोमबार मदन-आश्रित प्रतिष्ठानमा दिएको मन्तव्यलाई लिएर अहिले विद्या भर्सेस ओली र मदन भण्डारी फाउन्डेसन भर्सेस मदन-आश्रित प्रतिष्ठान बनेको छ। ओलीले प्रतिष्ठानको कार्यक्रममा फाउन्डेसनलाई ‘मागी खाने भाँडो’ भनेका हुन्।

नेताहरूका अनुसार नेताहरूका अनुसार मदन भण्डारी फाउन्डेसन र मदन-आश्रित फाउन्डेसनको स्थापना नै भिन्नभिन्न तरिकाले भएको हो। ‘मदन भण्डारी र जीवराज आश्रित २०५० साल जेठ ३ गते भएको दुर्घटनामा बितेका थिए। सोही महिनाको ९ गते प्रतिष्ठान स्थापना गरिएको हो’, एमाले नेता दीपक निरौला भन्छन्, ‘फाउन्डेसनको अध्यक्ष बन्ने त्यहीँका पदाधिकारीहरूबाट हो। प्रतिष्ठानमा भने एमालेकै सिफारिसमा अध्यक्ष छान्ने गरिन्छ। यसो हुँदा यो एमालेकै हातबाट चल्छ।’

संस्थापक अध्यक्ष बाचस्पति देवकोटा थिए। त्यसपछि लामो समय प्रदीप नेपाल अध्यक्ष बने। ‘संस्थाको खासै गतिविधि देखिदैन। वार्षिक कार्यक्रमहरू गर्ने गर्थ्यो,’ एमाले नेता समीर नेपाल भन्छन्। प्रदीप नेपाल रोगले ग्रसित बनेपछि संस्था नै निष्कृय बनेको थियो। एमाले स्रोतका अनुसार फाउन्डेसन भण्डारीको हातमा गएपछि ओलीले प्रतिष्ठानमार्फत गतिविधि बढाउने चाहेको देखिन्छ।

पहिले ओली उदाए, अब विद्या!

भण्डारीले फाउन्डेसनमार्फत गतिविधि बढाउने भएकी छन्। असार १४ मा मदन भण्डारीको स्मृति दिवसमा विद्याले फाउन्डेसनकै कार्यक्रममार्फत एमालेमा फर्किएको घोषणा गरेकी थिइन्। फाउन्डेसनको सम्पर्क कार्यालय र नयाँ समिति पनि बनाएकाले अब उनी फाउन्डेसनमार्फत गतिविधि बढाउन सक्रिय रहेको उनी निकट नेताहरू बताउँछन्।

मदन भण्डारीको हीरक जयन्ती (७५ औँ जयन्ती) देशभर मनाउने तयारी गरेको छ। पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा ७५ सदस्य मूल समारोह समिति बनाएको छ। ‘भण्डारी अब फाउन्डेसनमार्फत नै अघि बढ्दैछन्। पहिले ओलीले जेजे गरे, त्यसै गर्नेमा छन्’, एमालेका एक नेता बताउँछन्। फाउन्डेसनले हीरक जयन्तीका कार्यक्रमलाई देशभर कार्यक्रम अघि बढाउने तयारी गरेको छ। यसअघि नै भण्डारीले एमालेको अध्यक्ष बन्ने चाहना देखाएकी छन्। एमालेले आगामी भदौमा पार्टीको विधान सम्मेलन गर्दैछ।

एमालेमा अहिले दिवंगत नेताहरूका नाममा प्रतिष्ठान चलेका छन्। मनमोहन प्रतिष्ठान र पुष्पलाल स्मृति प्रतिष्ठानजस्ता संस्था छन्। एमाले नेता दीपक निरौला ओलीले फाउन्डेसनलाई मात्र नभई अन्य प्रतिष्ठानको पनि आलोचना गरेको दाबी गर्छन्। ‘अध्यक्षज्यूले ठीकै भन्नुभएको छ। मदन भण्डारी फाउन्डेसन एमालेले बनाएको होइन,’ एमाले नेता नेपाल भन्छन्, ‘अरू प्रतिष्ठानलाई पनि अध्यक्षज्यूले भन्नुभएको हो।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast