न्युयोर्कमा नेपाली आदिवासीले मनाए विश्व आदिवासी दिवस

हिमाल प्रेस २८ साउन २०८२ १२:५२
6
SHARES
न्युयोर्कमा नेपाली आदिवासीले मनाए विश्व आदिवासी दिवस

न्युयोर्क- नेपाली आदिवासीहरूको विविध संस्कृति झल्किने परेडसहित नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) ले न्युयोर्कको ज्याकसन हाइटमा ३१ औँ विश्व आदिवासी दिवस मनाएको छ। न्युयोर्क, न्युजर्सी, कनिक्टिकटलगायतका राज्यमा बसोबास गर्ने नेपाली आदिवासी तथा अन्य नेपाली समुदायको सहभागितामा सांस्कृतिक झाँकीसहितको परेड आयोजना गरी दिवस मनाएको हो। ज्याकसन हाइटको उडसाइड एभन्युको ७२ स्ट्रिटदेखि सुरु भएको परेड ७८ स्ट्रिटको मध्यभागमा निर्माण गरिएको मञ्चमा पुगेर टुंगिएको थियो। सडकमै निर्माण गरिएको मञ्चमा विश्व आदिवासी दिवसको विशेष समारोह आयोजना भएको थियो।

नेपाली महावाणिज्यदूतावास न्युयोर्कका महावाणिज्यदूत दधिराम भण्डारीको प्रमुख आतिथ्यमा भएको समारोहमा न्युयोर्क राज्यका एसेम्बली मेम्बर स्टेफन रागा, सिनेटर जोन लु, प्राइमेरी इलेक्टेड काउन्सीले मेम्बर फिल वन, बर्नी चाउ, मेयर कार्यालयका प्रतिनिधि सुकरानी धनपद, तेन्जिङ छेसाङ लगायतका स्थानीय जनप्रतिधिको सहभागिता थियो। समारोहमा उज्यालो अभियानका नायक कुलमान घिसिङ, फिप्नाअन्तर्गतका १८ जातीय सदस्य संस्थाका प्रतिनिधि, न्युयोर्कका क्रियाशील नेपाली संघसंस्थाका प्रतिनिधि न्युयोर्क सिटीका डेमोक्रेटिक पार्टीका ड्रिस्टिक्ट लिडर छेवाङ लामा र विष्णु रानामगरलगायतको विषेश उपस्थिति थियो।

बौद्ध धर्म गुरु टुल्कु उर्गेन शेर्पाबाट शान्ति प्राथना गरेर सुरु भएको कार्यक्रममा सहभागी अतिथिलाई स्वागत गर्दै फिप्नाका वरिष्ठ उपाध्यक्ष पेमा लामा ह्योल्मोले नेपालका आदिवासी समुदायको भाषा, संस्कृति र परम्पराको जगेर्ना गर्नका लागि र नयाँ पुस्तालाई आफ्नो पहिचान बारेमा दीक्षित गर्नका लागि फिप्नाले आफ्नो गतिविधि गर्दै आएको जानकारी गराए। यस्तै कार्यक्रमका संयोजक पूर्ण पैजामगरले आदिवासीको सांस्कृतिक विविधता देशको धरोहर भएको उल्लेख गर्दै देशलाई चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने यस्ता धरोहरलाई राज्यले संरक्षण गरिनुपर्ने र नयाँ पुस्ताले पनि अंगाल्ने वातावरण निर्माण गरिनुपर्ने बताए।

सो अवसरमा फिलिपिन्सका आदिवासी समुदायको पहिचान झल्किने नृत्य प्रस्तुत गरेको थियो भने तामाङ, नेवार, शेर्पा, ह्योल्मो, ढोक्प्या, राई, लिम्बु, गुरुङ, मगर आदि समुदायको परम्परागत संस्कृति झल्किने गीत तथा नृत्य प्रस्तुत गरिएको थियो।

समारोहमा शुभकामना दिँदै प्रमुख अतिथि एवं महावाणिज्यदूत दधिराम भण्डारीले फिप्नाले विश्व आदिवासी जनजाति दिवसका अवसर पारेर आयोजना गरेको यो कार्यक्रमले अमेरिकामा नेपाललाई चिनाउन मद्दत पुग्ने बताउँदै यस प्रकारको कार्यक्रम आयोजनाका लागि नेपाल सरकारले सधैँ प्रोत्साहन गर्ने बताए। आगामी दिनमा पनि फिप्ना तथा यस संस्थासँग आबद्ध सदस्य संस्थाहरूसँग मिलेर महावाणिज्यदूतको कार्यालयले नेपाल प्रवर्धनको गतिविधिहरु आयोजना गर्न तयार रहेको समेत उनले जानकारी गराए।

कार्यक्रममा विश्वभर छरिएर रहेका नेपाली आदिवासी जनजाति समुदायलाई शुभकामाना दिँदै नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङले विदेशी भूमिमा पनि नेपाली आदिवासीले आफ्नो परम्परा तथा संस्कृति प्रवर्धनका लागि गरिएको कार्यक्रम सराहनीय रहेको बताए। आफूले उज्यालो नेपाल अभियानका क्रममा रहेको चर्चा गर्दै उनले अभियानमा जोडेर सबैले सहयोग गर्न अनुरोध गरे।

न्युयोर्क राज्यका सांसद स्टेफन रागाले इतिहासमा न्युयोर्क पनि आदिवासी समुदायकै भूमि रहेको चर्चा गर्दै आदिवासी समुदायको पहुँच र सम्मानमा कमी आउन नहुने बताए। अमेरिकामा क्विन्स काउन्टी सबैभन्दा विविधताले भरिएको रहेको चर्चा गर्दै उनले यस्तो विविधतायुक्त क्षेत्रबाट आफूले संसद्‌मा प्रतिनिधित्व गर्न पाउँदा खुसी लागेको र सबै समुदायको आर्थिक सामाजिक उत्थानका लागि आफू प्रतिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाए। यस्तै राज्य सिनेटर जोन लुले न्युयोर्क सिटीमा लामो समयदेखि आफू नेपाली समुदायसँग परिचित रहेको बताउँदै नेपालको विविधताले न्युयोर्क सिटीलाई नै सशक्त बनाएको बताए।

यसैगरी न्युयोर्क सिटीका काउन्सिल मेम्बरका प्राइमरी विजेता फिल वाङ र बर्नी चाउले हरेक समुदायको भाषा संस्कृति र परम्परा अत्यन्त महत्त्वपूर्ण हुने भएकोले नयाँ पुस्तालाई पनि ती कुराहरु सिकाउनु र बुझाउनुपर्नेमा जोड दिए। सिटीका मेयर कार्यालय प्रतिनिधिहरु सुकरानी धनपद र तेन्जिङ छेवाङले दिवसका अवसरमा सबैमा शुभाकामना दिँदै नेपाली आदिवासी समुदाय र अन्य समुदायसँग मिलेर काम गर्न मेयर कार्यालय तयार रहेको जानकारी गराए।

कार्यक्रममा फिप्नाका सल्लाहकार डण्डु ढोक्प्या, आदिवासी जनजाति महिला महासंघ अमेरिकाका अध्यक्ष इन्दिरा चोङबाङ, वरिष्ठ पत्रकार प्रदीप थापा परियार, वर्ल्ड नेता अर्गनाइजेसनका वरिष्ठ उपाध्यक्ष समिर महर्जनलगायतले आदिवासी जनजातिको अधिकार र विश्व आदिवासी दिवसका बारेमा धारणा राखेका थिए।

कार्यक्रम समापन गर्दै फिप्नाका अध्यक्ष तोरण गरुङले जुनसुकै भूमिमा रहे पनि आफ्नो भाषा संस्कार संस्कृतिलाई नभुलौँ भन्ने सन्देशसहित यो कार्यक्रम आयोजना गरेको बताए। आदिवासी जनजातिको अधिकार सुरक्षित गर्नका लागि नेपालमा गणतन्त्र, समावेशिता तथा धर्म निरपेक्षतालाई प्रभावकारी कार्यान्वयनको खबरदारीसमेत कार्यक्रमको उद्देश्य भएको उनको भनाइ थियो। प्रवासमा रहेर पनि आदिवासी जनजातिको भाषा, धर्म, संस्कृति जगेर्ना गर्नु हाम्रो जिम्मेवारी रहेको बताउँदै यसका लागि अमेरिकाको स्थानीय तथा राज्य तहमा जनप्रतिनिधि तथा सरकारी तहमा प्रतिनिधित्वका लागि पहल र प्रयास गर्नु पनि फिप्नाको उद्देश्य रहेको अध्यक्ष गुरुङले बताए।

फिप्नाद्वारा सम्मान

३१ औँ विश्व आदिवासी दिवसको अवसर पारेर यो वर्ष नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाले आदिवासी समुदायको विभिन्न क्षेत्रमा विशेष योगदान पुर्‍याएका तीनजनालाई सम्मान गरेको छ। सम्मानित हुनेमा सञ्चारकर्मीद्वय मच्छेदेवी गुरुङ र खड्काबहादुर पुलामी (बिक्की) तथा फिल्मकर्मी दलप्रसाद लिङ्देन छन्। उनीहरुलाई प्रमुख अतिथि महावाणिज्यदूत दधिराम भण्डारी र फिप्नाका अध्यक्ष तोरण गुरुङले सम्मानपत्र प्रदान गरेका थिए।

नेपालमा रेडियो पत्रकारिताका क्षेत्रमा एक दशक सम्म सक्रिय रहेका मच्छेदेवी गुरुङ हाल नेपाली समुदायका अनलाइन पोर्टल एनवाईसी नेपालन्युजकी सम्पादक हुन्। यसअघि एभरेस्ट टाइम्समा सक्रिय गुरुङ नेपाल अमेरिका पत्रकार संघ नेजाका पूर्वकोषाध्यक्ष र उपाध्यक्षसमेत हुन्। यसैगरी पुलामी न्युयोर्कस्थित नेपाली सामुदायिक मिडिया मकैहाउसका सञ्चालक हुन्। लिङ्देन लामो समयदेखि लिम्बु समुदायको चलचित्र निर्माणमा सक्रिय छन्।

महासचिव दीपक चौधरीले स्थानीय सरकारका जनप्रतिनिधिहरूसँग समन्वय गरी कार्यकमको संयोजन गरेका थिए। कार्यक्रम संयोजक पूर्ण पाइजा मगरसहित, महासचिव चौधरी, कार्यसमिति र सल्लाहकारसहितको कार्यक्रम व्यवस्थापन समितिले कार्यक्रम व्यवस्थापन गरेको हो। कार्यक्रममा संस्थापक अध्यक्ष कर्मा ग्याल्जेन शेर्पा सहभागी थिए।

कार्यक्रममा द गुरुङ (तमु) सोसाइटी इन्क यूएसए, तामाङ सोसाइटी अफ अमेरिका, मगर संघ अमेरिका, शेर्पा संघ अमेरिका, किरात याक्थुङ चुम्लुङ अमेरिका, किरात राई सोसाइटी अफ अमेरिका, थारु एस्ड फ्रेरस्ड्स एसोसिएसन, ढोक्प्या किदुग यूएसए, युनाइटेड मुगुम अर्गनाइजेसन इन्क, युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका, नेवा गुठी न्युयोर्क, ह्योल्मो सोसाइटी अफ अमेरिका, नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिका (फिवना), नेप्लिज मूलवासी मंगोल कम्युनिटी इन अमेरिका, काइन्डिङ सिन्डलगायत जातीय संस्था सांस्कृतिक झाँकी र ब्यानरसहित उपस्थित थिए।

 

प्रकाशित: २८ साउन २०८२ १२:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast