
सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गाउँमा आउने विकास बजेटलाई आफूले ल्याएको हो भनेर दाबी गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका छन्। आज (मंगलबार) चौकुने गाउँपालिका वडा नं. ६ को नवनिर्मित भवनको उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले गाउँमा आउने बजेट सबै जनताकै करबाट आउने भएकाले कसैले व्यक्तिगत दाबी गर्न नहुने बताएका हुन्।
‘संघीय, प्रदेश, पालिका र वडाको बजेट हामी सबैले तिरेको करको हो, कसैको व्यक्तिगत सम्पत्ति होइन,’ उनले भने, ‘मैले ल्याएको हो, मेरो योजना हो भनेर कसैले दाबी गर्ने र जनताले पत्याउने स्थिति बन्नुहुँदैन।’
योजना पार्ने समयमा सबै सक्रिय हुने तर योजना परेपछि बेवास्ता गर्नाले विकासको गतिमा कमी आएको मुख्यमन्त्री कँडेलको भनाइ थियो। ‘हाम्रो लागि आएको योजना हो भनेर बुझ्न सके त्यो आयोजना पनि दिगो हुन्छ,’ उनले भने। भवन उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू समेत सहभागिता थियो।
साथै मुख्यमन्त्री कँडेलले निर्माणाधीन लखरपाटा खम्बागाडे मुरमुरी जामु सुनकाँडा सडकको निरीक्षण गरे। उनले समयमै सडक निर्माण कार्य पूरा गर्न सम्बन्धित निर्माण व्यवसायी र सडक निर्माणमा आवश्यक सहयोग र सहजीकरण गर्न स्थानीयवासीलाई आग्रह गरे।