
काठमाडौँ- अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा फूल आयातमा उल्लेख्य कमी आएको छ। आर्थिक वर्ष २०८०/८१ मा रु २७ करोड ६९ लाख बराबरको फूल आयात भए पनि २०८१/८२ मा आयात रकम घटेर रु १२ करोड ६० लाखमा सीमित भएको नेपाल फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ।
संस्थाका अध्यक्ष राजेशभक्त श्रेष्ठका अनुसार आयातमा करीब १५ करोडको कमी आउनुमा भन्सारमा कडाइ, स्वदेशी उत्पादनलाई प्राथमिकता र उत्पादन वृद्धिले प्रमुख भूमिका खेलेका छन्।
फूलको निर्यात भने दोब्बर बढेको छ। २०८०/८१ मा रु एक करोड दुई लाख बराबरको फूल निर्यात भए पनि गत वर्ष यो रकम बढेर रु दुई करोड १३ लाख पुगेको अध्यक्ष श्रेष्ठले जानकारी दिए। जापान, अष्ट्रेलिया, माल्टा, हङकङलगायतका मुलुकमा नेपाली फूलको निर्यात भइरहेको छ।
विशेषगरी तिहारमा प्रयोग हुने मखमली फूल र प्रणय दिवसका लागि रातो गुलाफ आयात गर्ने गरिएको भए पनि स्वदेशमै उत्पादन बढेकाले यस वर्ष तिहारका लागि आयातमा कमी हुने अनुमान गरिएको छ। तर, हरेक वर्ष १५–२० प्रतिशतले बजार माग बढ्ने भएकाले आयात पूर्णरूपमा रोक्न भने नसकिएको व्यवसायीहरूको भनाइ छ।
पछिल्लो समय फूलखेती विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङसहित ५४ जिल्लामा फैलिएको छ।
यस व्यवसायमा ५१ हजार ५० जना प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न छन्। देशभर करिब २२१ हेक्टरमा फूलखेती हुँदै आएको छ भने वार्षिक व्यापार लक्ष्य रु तीन अर्बभन्दा बढी राखिएको छ। फूलको व्यापार असोजदेखि फागुनसम्म बढी हुने गरेको छ। रासस