
भक्तपुर- शिक्षा तथा मानव स्रोत विकास केन्द्र, योजना तथा अनुगमन शाखाले प्रदेशस्तरीय शिक्षा प्रगतिसमीक्षा र अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ। केन्द्रको निर्णयअनुसार कार्यक्रम आगामी भदौ ४ र ५ गते बिहान ८ बजेबाट सानोठीमीस्थित केन्द्रको परिसरमा हुने भएको हो।
कार्यक्रममा सातै प्रदेशका शिक्षा सम्बन्धी मन्त्रालय, शिक्षा विकास निर्देशनालय र शिक्षा तालिम केन्द्रका प्रतिनिधिहरू सहभागी हुनेछन्। प्रत्येक प्रदेशबाट शिक्षा हेर्ने महाशाखा प्रमुख, निर्देशनालयका महानिर्देशक वा निर्देशक र तालिम केन्द्रका प्रमुख गरी तीन जना सहभागी हुने व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिइएको छ।
अभिमुखीकरण कार्यक्रममा सहभागी हुने प्रतिनिधिहरूले गत आव २०८१/८२ मा संघीय सरकारले प्रदेश तहमा वित्तीय हस्तान्तरण गरेका कार्यक्रमको भौतिक तथा वित्तीय प्रगति विवरण, तालिम कार्यक्रमको प्रतिवेदन, वार्षिक स्थिति प्रतिवेदन, आवासीय विद्यालय र निर्माणाधीन ठूला विद्यालयको प्रगतिविवरण, शिक्षा क्षेत्रका असल अभ्यास, समस्या, चुनौती तथा आवधिक शिक्षा योजना सम्बन्धी जानकारी प्रस्तुत गर्नुपर्नेछ।
त्यस्तै, विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, प्रदेश तहको खर्च विवरण, चालु आव २०८२/८३ को बजेट विनियोजन र खर्चको स्थिति लगायतका विवरणका प्रमाणित हार्ड र सफ्ट दुवै प्रतिलिपि ल्याउनुपर्नेछ।
केन्द्रले प्रदेश तहबाट सञ्चालित शैक्षिक कार्यक्रमको संक्षिप्त प्रस्तुतिकरण, असल अभ्यास र भावी कार्यदिशा समेत कार्यक्रमका प्रमुख एजेन्डा हुने जनाएको छ।