
काठमाडौँ- भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले मंगलबार पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्। बैठक सुरु हुनासाथ दुई दलका सांसदहरूले आसन छोडेर विरोध प्रदर्शन गरेका हुन्।
सभामुख देवराज घिमिरेले रास्वपा सांसद शिशिर खनाललाई आफ्नो माग राख्न मौका दिएका थिए। खनालले भने, ‘हामीले लामो समयदेखि सदनमा जायज माग राख्दै विरोध गरिरहेका छौँ, तर कुनै सुनुवाइ भएको छैन। लोकतान्त्रिक प्रक्रिया र नियमलाई बेवास्ता गरिँदैछ, संविधान कमजोर बनाइँदैछ र भ्रष्टाचार तथा बिचौलियाको संरक्षणले मुलुक र लोकतन्त्रलाई ठूलो संकटमा परेको छ।’
सांसद खनालले गृहमन्त्री रमेश लेखकलाई अप्ठ्यारो पर्ने कारणले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नगरेको पनि आरोप लगाए।
राप्रपा सांसद विना लामाले पनि सरकारले भिजिट भिसा प्रकरणमा उठाएका मागलाई बेवास्ता गरेको र संसद्ले समेत त्यसलाई सघाएको आरोप लगाउँदै छानबिन समिति गठन नभएसम्म विरोध जारी राख्ने जनाइन्।
त्यसपछि दुवै दलका सांसदहरूले प्रतिनिधिसभा बैठक बहिष्कार गरे। यी दुई दलले जेठ १३ गतेदेखि भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै संसद्मा निरन्तर विरोध गर्दै आएका छन्।