रूपन्देही ३ : दीपक बोहराकै परिवारमा टिकटको किचलो

विनोद परियार २७ साउन २०८२ १५:५५
34
SHARES
रूपन्देही ३ : दीपक बोहराकै परिवारमा टिकटको किचलो

बुटवल- रूपन्देहीमा पञ्चायत, बहुदल र गणतन्त्रसम्म सत्ता र शक्तिमा रहेका नेता थिए राप्रपाका वरिष्ठ नेता दीपक बोहरा। प्रतिकूल राजनीतिमा पनि चुनाव जित्ने निकै कम नेतामध्येका एक हुन् उनी। २०७९ सालमा बहालवाला गृहमन्त्री नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाणलाई हराएर प्रतिनिधिसभामा निर्वाचित भए। एमालेको साथ लिएर बोहराले चुनाव जितेका थिए।

निर्वाचनका बेला उनी स्वास्थ्यका कारण कहीँकतै पनि भाषण गरेनन्। तर पनि उनले रूपन्देही-३ बाट निर्वाचन जिते। बोहरालाई नेकपा एमालेले समर्थन गरेको थियो। यद्यपि दीपक बोहरा जनताकै बलमा शक्ति र सत्तामा रहिरहेको कुरा स्पष्ट पार्छ। निर्वाचनदेखि बिरामी बोहराको २०८१ साल चैत १८ गते निधन भयो। बोहराको निधनपछि रिक्त रूपन्देही ३ मा कात्तिक १७ गते उपनिर्वाचनको मिति तय गरिएको छ।

निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। दलहरू उम्मेदवार छनोटको तयारीमा जुटेका छन्। सर्वमान्यजस्तै बनेका दीपक बोहराको विरासत जोगाउनुपर्ने चुनौतीमा रहेको राप्रपालाई उम्मेदवार टुंग्याउनै सकस परेको छ।

बोहराकै परिवारभित्रका तीनजना आकांक्षी हुँदा नेतृत्वलाई सकस परेको हो। राप्रपा जिल्ला कार्यसम्पादन समितिले स्व. दीपक बोहराका छोराहरू गौरव बोहरा, प्रज्ज्वल बोहरा, नातिनी स्वाति थापा, वसन्तविक्रम शाही, रूपन्देही अध्यक्ष सागरप्रताप राणा र जिल्ला नेता दिलीप मल्लिकको नाम सिफारिस गरेको छ। नेतृत्व बोहराको विरासत जोगाउन बोहराकै परिवारका सदस्यलाई टिकट दिनुपर्ने मुडमा देखिन्छ। तर परिवारभित्र सहमती नहुँदा सकस परेको राप्रपाका नेताहरू बताउँछन्।

‘बोहरा परिवारबाट तीनजना आकांक्षी हुनुहुन्छ, अन्य पनि आकांक्षी हुनुहुन्छ’, राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदयले भने। उनले सकभर बोहरा परिवारमा सहमति भए आफूहरूलाई उम्मेदवार चयन गर्न सहज हुने बताए।

चुनावी अभियानमा स्वाति बोहरा र प्रज्वल बोहरा।

‘पार्टीले भदौको पहिलो सातासम्म उम्मेदवार टुंगो लगाउँछ, सकभर आकांक्षीहरूबीच सहमति होस्् भन्ने चाहना हो’, उनले भने। उदयले नेतृत्वले आवश्यकता र परिस्थितिअनुसार निर्णय गर्ने बताए। राप्रपालाई रूपन्देही ३ मा आफ्नो विरासत जोगाउनुपर्ने चुनौती छ। बोहराले २०३८ सालको राष्ट्रिय पञ्चायत, २०४२ को आमनिर्वाचन, २०७० सालमा संविधानसभा र २०७९ मा प्रतिनिधिसभा निर्वाचनमा रूपन्देहीबाट निर्वाचित भएका थिए।

पटकपटक मन्त्री हुँदै राष्ट्रिय राजनीतिको मूलधारमै रहे। बोहरा जस्ता अनुभवी र रूपन्देहीमा भिजेका नेताका लागि चुनावमा होमिनु सहजै थियो। तर यसपटक आफ्नो विरासत जोगाउने दबाबमा राप्रपा छ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सकभर बोहराको सात्वना भोट तान्नका लागि पनि त्यही परिवारकै सदस्य उठाउने पक्षमा रहेको राप्रपाका एक नेताले बताए। उनका अनुसार अध्यक्ष लिङ्देन आफैँ परिवारका दुई भाइ र नातिनीलाई सहमत गराउन छलफलमा जुटेका छन्।

स्व. बोहराका दुई श्रीमती, दुई छोरा र एक छोरी छन्। अमेरिकामा बिहे भएकी छोरी जेनीको २०८१ साल फागुन २ गते निधन भएको थियो। सौतनी आमाका दुई छोरा भएकाले पनि बुबाको विरासत जोगाउने होडबाजी चलेको हो। जेठी श्रीमती मञ्जुतर्फका छोरा हुन् गौरव बोहरा। पेसाले उनी बुद्ध एयरका सिनियर पाइलट हुन्।

उनी बुवाको राजनीतिक विरासत जोगाउन उम्मेदवारको आकांक्षी भएको बताउँछन्। पछिल्लो समय राप्रपाको विभिन्न अभियानमा समेत गौरवको सक्रियता देखिन्छ। हिन्दू राष्ट्रय निर्माणका लागि युवा अभियानको संयोजक भएर उनले बुटवल-भैरहवामा मोटरसाइकल र्‍याली गरेका थिए। यसैगरी पार्टीका अन्य विभिन्न गतिविधिमा समेत उनको सक्रियता छ। उनले बुवाको विरासत जोगाउनकै लागि आफू रूपन्देही ३ मा उम्मेदवार बन्ने दृढता पार्टीका नेताहरूसमक्ष राखेको बताए।

कान्छी श्रीमती गीतकार उन्नति शिला बोहरातर्फका छोरा प्रज्वल बोहरा निर्वाचन क्षेत्रमै निरन्तर खटिएका छन्। गत निर्वाचनदेखि नै प्रज्वल बुवाकै ‘लिगेसी’ लाई धान्दै आएका छन्। अमेरिकाको नागरिकता त्यागेर गत निर्वाचनमा बुवालाई सघाउन आएका उनी निर्वाचन क्षेत्रमा पार्टी काममा खटिएका छन्।

गत निर्वाचनकै बेला बिरामी भएकाले वुवाको ‘लिगेसी’ बचाउने गरी अभियानमा सामेल भएको उनी बताउँछन्। ‘बुवाले ५० बर्षसम्म रूपन्देहीको राजनीतिमा गरेको योगदान र समर्पणलाई जोगाउन मेरो उम्मेदवारी हो’, प्रज्वलले हिमालप्रेससँग भने, बुवाको विरासतलाई जनतासँग टुट्न नदिन म लाग्नेछु।’

प्रज्वल आफू निर्वाचन क्षेत्रका जनतासँग जोडिएकाले बुवाको बिरासत जोगाउन सक्ने दाबी गर्छन्। ‘चुनाव भनेको जनतासँग जोडिने कुरा हो, म जनतासँग जोडिएको छु, तीन वर्षदेखि पार्टी काममा खटिएको छु’, उनले भने। उनले गौरव र स्वातिले आकांक्षा व्यक्त गरे पनि अन्तिममा सहमति हुने बताए। बोहरा जीवित छँदै उत्तराधिकारीका रूपमा प्रज्वललाई अघि सार्न थालिएको चर्चा थियो।

बोहरा परिवारमै अर्की सशक्त दाबेदार हुन स्वाति थापा। राप्रपा केन्द्रीय सदस्य तथा विदेश विभाग सदस्यसमेत रहेकी उनी दीपक बोहराकी नातिनी हुन्। जेठो दाजु प्रदीपचन्द बोहराकी छोरी चन्दा थापाको छोरी हुन् स्वाति। उनी पनि हजुरबुवा दीपक बोहरासँग २०७९ को चुनावी अभियानमा खटिएकी थिइन्।

युवाहरूसँगको छलफलमा गौरव बोहरा।

अमेरिकामा अध्ययन गरेर फर्केकी स्वाति पार्टीको काममा निकै सक्रिय छन्। केन्द्रीय नेतृत्वसँग पनि उत्तिकै नजिक रहेकी स्वाति पनि सशक्त दाबेदार हुन्। पार्टीको निर्णय प्रक्रियामा समेत उनको सक्रियता रहन्छ। गौरव र प्रज्वलभन्दा पहिले राप्रपाको राजनीतिमा स्वाति जोडिएकी हुन्।

स्व. दीपक बोहराको विरासत जोगाउन परिवारभित्रै तीन आकांक्षी भएकाले थप चुनौती देखिएको राप्रपाका नेताहरू बताउँछन्। बोहरा परिवारबाहेक पनि राप्रपाबाट सशक्त उम्मेदवार हुन् सागरप्रताप राणा।

राणा जिल्ला अध्यक्ष तथा सिद्धार्थनगरका पूर्व नगरप्रमुख हुन्। उनले पार्टीबाट आफ्नो सहित ६ जनाको नाम केन्द्रीय कमिटीलाई सिफारिस गरेकाले अहिले यसबारे ठोस निर्णय हुन बाँकी रहेको बताए। ‘पार्टीले जसलाई उठाउँछ, त्यो नै आधिकारिक उम्मेदवार हुन्छ’, उनले भने। उनले दीपक बोहराका दुई छोरा र नातिनी आकांक्षी हुने कुरा स्वाभाविक भएको बताए। जोजो आकांक्षी भए पनि टिकट पाउने उम्मेदवारलाई आफूहरूले जिताउने उनले बताए। ‘हामी पार्टीको सिपाही हो, पार्टी निर्णय मान्छौँ’, उनले भने।

रूपन्देही-३ मा एक लाख ३९ हजार ७६४ मतदाता छन्। राप्रपाले २०७९ सालको चुनावमा समानुपातिकतर्फ नौ हजार १८३ मत ल्याएको छ। रूपन्देही-३ मा कांग्रेसको समानुपातिक मत धेरै छ। कांग्रेसले २० हजार २७८ मत ल्याउँदा एमालेले १६ हजार ९८६ मत ल्याएको थियो। यहाँबाट रास्वपाको १४ हजार १५४ मत आएको थियो।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीले ६ हजार र जनता समाजवादी पार्टी (जसपा) ले पाँच हजार मत ल्याएका थिए। लोसपाले पाँच हजार, जनमत पार्टीले तीन हजार ७००, माओवादी केन्द्रले दुई हजार ६०० सय, जनमुक्ति पार्टीले एक हजार ९००, हाम्रो नेपाली पार्टी (लौरो) ले एक हजार ३४७ र नेकपा एकीकृत समाजवादीले ७८१ समानुपातिक मत पाएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast