समृद्ध नेपालको चाबी युवासँग : राष्ट्रपति पौडेल

हिमाल प्रेस २७ साउन २०८२ १२:२६
6
SHARES
समृद्ध नेपालको चाबी युवासँग : राष्ट्रपति पौडेल अन्तर्राष्ट्रिय युवा दिवस २०२५ का अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेल। तस्बिर स्रोत : शीतल निवास

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्दै समृद्ध नेपाल बनाउने युगीन अभिभारा युवाहरूको काँधमा आइसकेको बताएका छन्। अन्तर्राष्ट्रिय युवा दिवस २०२५ का अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले समृद्ध नेपाल बनाउने युगीन जिम्मेवारी पूरा गर्न युवा सक्षम भइसकेका छन् भन्ने आफूलाई विश्वास लागेको बताएका हुन्।

राष्ट्रपति पौडेलले आफू र आफ्नो पुस्ताको युवावय मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको अवस्थासम्म ल्याएर राजनीतिक व्यवस्थालाई एउटा टुंगोमा पुर्‍याउनमै समर्पित रहेको बताए। उनले क्रान्ति र परिवर्तनको एउटा कालखण्ड गुज्रेर संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापना गर्न सफल भएको स्मरण गरे।

राष्ट्रपति पौडेलले आफ्नो युवावय सम्झँदै भने, ‘यो क्षणमा मैले आफ्नो युवा वयको कैयन् आरोहअवरोहका अनमोल क्षण सम्झिरहेको छु। तनहुँको बाहुनपोखरामा एउटा सामान्य किसान परिवारमा जन्मिएर अविकास, गरीबी, पछौटोपन र निरंकुशताका विरुद्ध मेरो युवावयमा हुर्किएको क्रान्ति र परिवर्तनको हुटहुटीलाई सार्थकता दिनु सहज थिएन। परन्तु यसका लागि म र मेरो पुस्ताले संघर्ष, त्याग, अभाव, जेलनेलको कुनै पर्वाह गरेन। आजको संघीय लोकतान्त्रिक गणतन्त्रको अवस्थासम्म आइपुग्दा हाम्रो जीवन राजनीतिक व्यवस्थालाई एउटा टुंगोमा पुर्‍याउनमै समर्पित रह्यो। क्रान्ति र परिवर्तनको एउटा कालखण्ड गुज्रेर हामी संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापना गर्न सफल भएका छौँ।’

राष्ट्रपति पौडेलले प्रविधिमा आधारित नवप्रवर्तन, खेलकुद, मनोरञ्जन एवम् सूचना प्रविधिसहितका उद्यमशीलताका विभिन्न क्षेत्रमा नेपाली युवाले आफूलाई अब्बल प्रमाणित गरिसकेको उल्लेख गदै भने, ‘यो सामथ्र्य र शक्तिलाई दिगो विकासको अवधारणाअनुरूप देश नवनिर्माणको उज्यालो भविष्यतर्फ उन्मुख गराउन सबैले हातेमालो गरेर अघि बढ्नुपर्दछ।’

पौडेलले प्रविधिसँग अभ्यस्त नेपाली युवालाई स्वदेशमा नै अवसर दिलाउन सरकारले सहुलियतपूर्ण कर्जा सहजीकरण, युवामैत्री लगानीका लागि वातावरण निर्माण, नवप्रवर्तन र उद्यमशीलता विस्तारलाई प्राथमिकता दिएको बताउँदै यसलाई उपलब्धिमूलक बनाउन देश परिवर्तनका संवाहक युवाको साथ, सहभागिता र जागरुकता आवश्यक रहेको स्पष्ट पारे।

राष्ट्रपति पौडेलले उद्यमशीलता र स्वरोजगारका क्षेत्रमा काम गर्नुपर्ने समयको माग भइसकेको बताउँदै विश्वव्यापीकरण र सूचना प्रविधिको तिव्रतर विकासको आधुनिक युगमा युवा पुस्ताले चाहेको विकास, सुशासन र समृद्धिको सपनालाई पूरा गर्नु नै आजको मुख्य कार्यभार भएको उल्लेख गरे। उनले उद्यमशीलता आर्थिक विकासको आधार भएको भन्दै युवाको विदेश पलायन रोकेर उनीहरूलाई रोजगारीतर्फ आकर्षित गर्ने उद्यमशीलता विस्तार एवम् प्रवर्धनका नीति र कार्यक्रमलाई प्राथमिकता दिन आवश्यक रहेको स्पष्ट पारे।

प्रकाशित: २७ साउन २०८२ १२:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast