नेपाली सन्दर्भमा निराशाको समाजशास्त्रीय विश्लेषण

प्रकाश राई २७ साउन २०८२ १२:२८
14
SHARES
नेपाली सन्दर्भमा निराशाको समाजशास्त्रीय विश्लेषण

निराशा (फ्रस्टेसन) लाई आमरूपमा व्यक्तिगत झमेलाका रूपमा बुझ्ने गरिन्छ। माजशास्त्रीय दृष्टिकोणमा भने निराशा संरचनात्मक झमेलाको फलन हो। निराशालाई ठ्याक्कै अंकगणितमा मापन गर्न नसके पनि सामाजिक सूचांकहरूको सहयोगमा ठम्याउन सकिन्छ। समकालीन नेपाली समाज सर्वाधिक निराशाबाट गुज्रिरहेको छ। समाजले आत्मविश्वास गुमाइरहेको छ भने असफलताको भविष्यवाणीबाट गुज्रिरहेको छ। ‘केही गर्न सकिँदैन, केही हुँदैन’ भन्ने भाष्य भीडभाडमा राम्ररी खपत हुने स्थिति छ। सकारात्मक प्राप्तिलाई पनि स्वीकार नगर्ने मनोविज्ञान बढ्दो छ। नेपाली हुनुको आधारभूत गौरव कमजोर अवस्थामा छ। निराशाको कारणहरूको निरूपणको विमर्श समाजशास्त्रको दायित्व हो। यो आलेखको उद्देश्य सामाजिक निराशाको सामान्य पहिचान गरी नेपाली सन्दर्भमा त्यसलाई उदारहणसहित विश्लेषण गर्नु हो।

निराशा मापन गर्न अपनाइएको विधि

निराशा मापन गर्नका लागि सामाजिक सञ्जालमा भएको अभिव्यक्ति, सार्वजनिक ठाउँमा प्रकट हुने जनताको आक्रोश र निराशाको स्थिति, केही व्यक्तिहरूसँग गरिएको कुराकानी, आन्तरिक बसाइँसराइ, वैदेशिक रोजगारमा र वैदेशिक अध्ययनमा जानेको संख्या र प्रवृत्ति, आत्महत्याको स्थिति, सम्बन्धविच्छेदको स्थिति, लागूऔषध प्रयोगको स्थिति, राजनीतिक दलहरूको घोषणा र व्यवहारको प्रवृत्ति, सुशासन अभाव, माइतीघर मण्डलामा भइरहेको आन्दोलनहरूलाई आधार बनाइएको छ।

निराशाका केही तथ्यहरू

१. सामाजिक सञ्जालमा आउने विभिन्न अभिव्यक्तिका रूपमा आमरूपमा आउने नकारात्मक धारणा, सरकारी कामकाज, सुरक्षा प्रणाली, न्यायप्रणाली, सरकारी नियकायप्रति अविश्वास देखिनु।

२. ठूलठूला भ्रष्टाचारका काण्ड सार्वजनिक हुनु तर यथोचित कारबाही नहुनु, खुलेआम रूपमा मन्त्रीको घुस बार्गेनिङ भएको कुरा सार्वजनिक हुने तर कारबाही नहुने। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदनअनुसार भ्रष्टाचारको उजुरी उल्लेख्य रूपमा बढोत्तरी हुनु।
विगत तीन आवको उजुरीको तथ्यांक हेर्दा आ.व.२०७८।०७९ मा १६,२३८, आ.व.२०७९।०८० मा २०,९०५ र आ.व. २०८१।०८२ मा २६,९१८ देखिन्छ। भ्रष्टाचारजन्य कसुरमा जनप्रतिनिधिको संलग्नतासमेत उल्लेख्य हुनु।

३. विदेशमा गएर काम गर्नुलाई मात्रै मात्रै रोजगारी विकल्प मानिँदै जानु, निर्वाचित जनप्रतिनिधि स्वयम् वैदेशिक रोजगारीमा जानु, सरकारको स्थायी शिक्षक र कर्मचारीसमेत वैदेशिक रोजगारीमा जानु निराशाका केही परिणाम हुन्।
समाचारमा सार्वजनिक भएअनुसार दाङको राप्ती गाउँपालिका वडा नं- ५ का वडाध्यक्ष, ताप्लेजुङको सिरिजंघा गाउँपालिकाका वडाध्यक्ष बिदेसिएका छन्। पूर्वी पहाडी जिल्लाको एक ठूला राजनीतिक दलको युवाको संगठनका जिल्ला अध्यक्ष मसँग गफिँदै थिए, ‘बितेको एक वर्षमा मेरो कमिटीका २१ जना युवा बिदेसिए, अब बैठक राख्नै सकिँदैन।’ अनौपचारिक तथ्यांकहरूका अनुसार ईपीएस प्रणालीबाट कोरिया जाने करिब १० प्रतिशत संख्या सरकारी शिक्षक, प्रहरी र कर्मचारी छन्।

४. गत वर्ष मैले त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र, केन्द्रीय विभाग कीर्तिपुर जान-आउन प्रायः पठाओ ‘राइडिङ सेयर’ प्रयोग गरेँ। विश्वविद्यालय जाँदाआउँदा गरेर एक सय पटकभन्दा धेरै पठाओ चढेँ। त्यसमध्ये करिब ५० जना युवालाई उसको भविष्यबारे प्रश्न गर्दा अन्धकार रहेको उत्तर दिए। ५० मध्ये ३५ जनाले वैदेशिक रोजगार बाध्यता रहेको सुनाए। अधिकांशले देश बिग्रनुमा नेताको दोष देखाए भने कर्मचारीतन्त्रलाई भ्रष्टका रूपमा चित्रित गरे।

५. लोकसेवा आयोगको परीक्षामा प्रतिस्पर्धा गर्नेको संख्या बितेको एक दशकमा करिब एक लाखले घटेको देखिन्छ। लोकसेवा आयोगको आ.व. २०७१।०७२ को प्रतिवेदनअनुसार लोकसेवा आयोगमा प्रतिस्पर्धाका लागि ५,९९,६५८ आवेदक रहेकोमा आ. व. २०८०।०८१ मा ४,७३,४९० जना देखिन्छ। भरपर्दो र निष्पक्ष मानिने सेवामा समेत आकर्षण गिर्दो देखिन्छ।

६. गत महिना बिदा मनाउन पूर्व गएको समयमा एक उपमहानगरपालिका सानो बजारमा उभिएर साथीलाई पर्खिरहेको थिएँ। दुईजना सज्जनले मेरो अगाडि मोटरसाइकल रोक्दै पुनःस्थापना केन्द्र जाने बाटो सोधे। ती सज्जनाई विश्मयमिश्रित स्वरमा सोधेँ, ‘भाइ यस गाउँमा पनि पुनःस्थापना केन्द्र स्थापना भइसके?’ स्थापना भएको पुष्टि गर्दै आफ्नो चिनजनाको मान्छे राखेकोले भेट्न हिँडेको भने। एकीकृत र यकिन तथ्यांक नभेटिए पनि यस्ता पुनःस्थापना केन्द्रहरूको विस्तार भएको छ। नेपाल प्रहरीको लागूऔषध नियन्त्रण विभागको पोर्टलमा हेर्दा बर्सेनि लागूऔषध प्रयोगकर्ताको बढोत्तरि भएको देखिन्छ।
आ.व. २०७७।०७८ मा लागूऔषध प्रयोग र बेचविखनको आरोपमा ४,६२६ जनालाई पक्राउ गरेको देखिन्छ भने आ.व. २०७९।०८० मा ६,१८६ जना र आ.व. २०८०।०८१ मा ७,६३५ जना पक्राउ परेको देखिन्छ।

७. नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको पोर्टलमा उपलब्ध आत्महत्याको स्थिति विगतको १० वर्षमा बढ्दो छ। आ.व. २०७०।०७१ मा ४,३३२ रहेकोमा आ.व. ०७९।०८० मा ६,९७४, आ.व. २०८०।०८१ मा ७,१९४ देखिन्छ। आत्मदाहको समेत घटना बढिरहेका छन्। आत्मदाहबाट संसद् भवन अगाडि मृत्युवरण भएको प्रेमप्रसाद आचार्यसमेत घटनालाई प्रतीकात्मक रूपमा लिन सकिन्छ।

८. आन्तरिक बसाइँसराइ बढ्दो छ। राष्ट्रिय जनसंख्या कार्यालयको पछिल्लो विश्लेषणअनुसार २० प्रतिशत जनसंख्याले आफ्नो थातथलो छाडेर स्थायी बसाइँसराइ गरिरहेका छन्। ५८ जिल्लाको बसाइँसराइ नकारात्मक स्थितिमा छ। बसाइँ सरेर आउनेभन्दा छाडेर जानेको संख्या धेरै छ। अस्थायी बसोवास गरेर बिना पञ्जीकरण गाउँ छाडेर सहर जानेहरूको वास्तविक तथ्यांक भयावह देखिन्छ। मूलतः पहाडी गाउँघरमा मान्छे छैनन्, रित्ता घरहरू मात्रै छन् भन्दा फरक पर्दैन। अधिकांश मानिसको लक्ष्य हो, बसाइँसराइ।

९.विभिन्न माग राखी दबिएको आवाज लिएर माइतीघरमण्डलामा बाह्रैमास हुने सम्बोधनविहीन आन्दोलनको शृंखला।

निराशाको पहिचान र विश्लेषण

युभाल नोहा हरारी आफ्नो चर्चिक पुस्तक ‘नेक्सस’मा लेख्छन्, ‘सूचना र शक्ति प्राप्त गर्न सहजतासाथ सफलता प्राप्त गर्न सकिन्छ। तर प्रज्ञा प्राप्त गर्न सूचना प्राप्त गर्नुजस्तो सजिलो छैन।’ आजको चुनौती यही हो। सूचनाको आधारमा ज्ञानको विशालतालाई परिपूरण गर्ने, तर समस्याको समाधान सूचनाले दिँदैन। त्यसका लागि प्रज्ञा÷विवेक चाहिन्छ। सूचना संकलनलाई मात्रै ज्ञान मान्ने प्रवृत्ति सामाजिक झमेलाहरू सामना गर्न चुनौतीपूर्ण छ। निराशाको पहिचान सूचनाको संकलनबाट मात्रै असम्भव छ।

विश्वव्यापीकरणले बदलेको मानक

खुला समाजको विस्तार र सूचना प्रविधिमा आएको विकासको कारण मान्छेको जीजीविषाको मानक राष्ट्रिय वा स्थानिक भूगोल रहेन। साविक जीजीविषाको मानक भत्काउनु नै विश्वव्यापीकरणको प्राथमिक उद्देश्य थियो। हैसियत र सामर्थ्य स्थानिक रहने तर आवश्यकताहरूको मानक विश्वव्यापी रूपमा एउटै हुँदै जाने कुराको वातावरण विश्वव्यापीकरणले प्रभाव पार्‍यो। उदाहरणका लागि अमेरिकामा बनेको आइफोन अमेरिकी उपभोक्तासँगसँगै नेपाली उपभोक्ताले प्रयोग गर्नुपर्ने, सोहीअनुसारको सामाजिक स्वीकार्यता प्राप्त गर्ने स्थिति सिर्जना भएको छ।

युवा पुस्ताको जीवनशैली, खानपान हेर्ने तलबमान र कमाइ अस्ट्रेलियाको अर्थतन्त्र वा बेलायतको अर्थतन्त्र हेरेर तय गर्ने र राष्ट्रिय अर्थतन्त्रका आधारमा त्यसलाई स्वीकार नगर्ने स्थिति छ। तुलनाको अर्थराजनीति संस्कृति बन्दै छ। तुलनाका आधारमा सफलता र असफलताको निर्धारण हुन्छ। तुलनाले सार्वभौमिकता प्राप्त गर्दै गएको छ। विश्वव्यापीकरणको आँधीले उदारीकरण थोपरेपछि स्वास्थ्य र शिक्षामा निजीकरणमार्फत विभेद बढेको छ। यसले आधारभूत तहमै निराशा रोपिएको छ। परम्परा र संस्कृतिजन्य मौलिक उत्पादनलाई बजारसम्म पुर्‍याउन नसक्नु, विश्व बजारमा क्रेता मात्र बन्नु जस्ता कारणले निराशाको संरचना तयार गरेका हुन्।

सिद्धान्त भुलेको राजनीति

लोकतान्त्रिक गणतन्त्र आफैँमा एउटा उमंग हो। संविधानले समाजवादतिरको कार्यदिशासहितको अनेकन् राम्रो प्रबन्ध गरेको छ। अधिकांश राजनीतिक दलहरूको सिद्धान्त समाजवाद छ। सिद्धान्तहीन राजनीतिका कारण पद र सत्ता प्राप्तिका लागि दुई वर्षमा तीन पटक सरकार परिवर्तन भइसकेको स्थिति छ। शक्ति र सत्तामा पुग्ने अनि कबुल गरिएको सिद्धान्तअनुसार काम नगर्ने प्रवृत्ति छ। राजनीतिक शक्तिले विश्वास र आशा जगाउन सकेन। नागरिकमा आशा जगाउन नसिकएपछि निराशा अभिव्यक्त हुनु सामान्य प्रत्यभिज्ञानशास्त्र (फेनोमोलोजी) हो।

जस्तै –

पक्षपात संस्थागत भइरहेको स्थिति विद्यमान छ।
ठूलठूला भ्रष्टाचारको काण्ड नेपाली जनताको नियति नै भएको स्थिति छ । (भुटानी शरणार्थी काण्ड, सीधै घुसको मोलमोलाई सार्वजनिक हुँदा पनि केही कारबाही नहुने स्थिति, भिजिट भिसा प्रकरणमा भएको दण्डहीनता आदि।)
राज्यका निकायको नियुक्तिमा दलीय भागबन्डा।
राजनीतिक नेतृत्व जसको आचरणले समाजले दिशा लिन्छ। तर राजनीतिक नेतृत्वको भूमिका नयाँ भनेका शक्तिहरूसमेत आदर्शहीन छन्। उपभोगमा सबैभन्दा अग्रभागमा छन्, राजनीतिक नेतृत्व। सवै राजनीतिक दल सिध्दान्तहीन विवादको भूमरी छन्।
खानका लागि सत्ता पक्ष विपक्ष सबै द एकै ठाउँमा आउनु।

विकासको ढाँचा र सामाजिक परिवर्तन

भौतिक पूर्वाधार निर्माणलाई मात्रै विकास भन्ने प्रवृत्ति छ। भौतिक विकास सामाजिक परिवर्तनको साधन हो। सामाजिक परिवर्तन भन्नाले नागरिक वा समुदायको शिक्षा, स्वास्थ्य र आम्दानीमा हुने सकारात्मक परिवर्तन हो। त्यसैले भौतिक पूर्वाधार विकास गर्दा सो विकासले सामाजिक परिवर्तनमा योगदान गर्नुपर्दछ। जस्तै : बितेको १३ वर्षमा हुलाकी सडक आयोजनाले सडक बनाउन ७० अर्ब २८ करोड ६३ लाख पचास हजार रुपैयाँ खर्च गरिसकेको छ। यसले तराईका जिल्लाको दक्षिण भेगको सामाजिक परिवर्तमा कस्तो योगदान गरेको छ भनेर मापन गर्नुपर्दछ। तर यसो हुन सकेको छैन। तब त विकास भयो भन्छौँ मानिस खुसी हुँदैन।

बसाइँ सराइ

नेपालको कुल जनसंख्याको ३५ प्रतिशत आदिवासी जनजाति छन्। यसमध्ये २६.१ प्रतिशत पहाडी आदिवासी जनजाति भएको जनसांख्यिक बनोट भएको देशमा पहाडको बसाइँ सराइ नकारात्मक हुनु भनेको आफैँमा सामाजिक विज्ञानको अपवाद हो। बसाइँ सराइ निरन्तर बढ्दो क्रममा छ। बसाइँ सराइपछाडिको कारण सामाजिक परिवर्तनमा आधारित विकास पद्धतिको अभाव मुख्य हो।

पहाडमा अहिलेसम्म गतिलो स्वास्थ्य केन्द्र नहुनु, शिक्षालय नहुनु, रोजगारीको अवसर नहुनुजस्ता कारणबाट हेर्न सकिन्छ। गाउँले गुमाउँदै गएको आत्मविश्वास जनसंख्याको आधारमा अनुकूलन हुने अर्थराजनीतिक दृष्टिकोण हुनु पनि हो। बसाइँ सराइको निर्धारण वैदेशिक रोजगारले पनि हुने गरेको देखिन्छ। बसाइँ सराइले परिवार विखण्डन, सहरको अलगाव जीवनशैलीको कारणले गर्दा उत्पन्न हुने एकान्तीकपन, संस्कार संस्कृतिको बन्धनबाट निरपेक्ष हुनु र भविष्यको अनिश्चिय र पारिवारिक बिछोडले उत्पन्न हुने परिस्थिति निराशाको महत्त्वपूर्ण आधार हो।

वैदेशिक रोजगारमा आधारित जीविका कमजोर आन्दोलनको शक्ति

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार आ.व २०५२।०५३ मा ३,६०५ जना तेस्रो मुलुकमा रोजगारीमा गएको देखिन्छ। आ.व. ०८०।०८१ को अभिलेख हेर्दा ७,४१,२९७ र गत आ.व. ८,३९,२६६ जना बिदेसिएको तथ्यांक छ। वैदेशिक अध्ययन अनुमतिपत्र लिएर गत आ.व. २०८०।०८१ मा १,१,२२६९ जनाले देश छाडेको देखिन्छ। देशको अर्थतन्त्र रेमिटान्स (विप्रेषण) ले धानेको छ। निरपेक्ष गरिबीको निवारण, शिक्षा, स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको छ। यसको नकारात्मक पक्ष पनि उत्तिकै छ। राज्यका तर्फबाट रेमिट्यान्स परिचालनमा कुनै कार्यक्रम नभएकाले तत्कालीन उपभोगमा मात्रै वैदेशिक रोजगारीमा जानेको कमाइ खर्च भइरहेकाले उनीहरू असुरक्षित भविष्यबाट चिन्तित र निराश छ।

समाजले सरकारबाट राम्रो भएन भने लोकतन्त्रमा संसदमा विपक्षको भूमिकाकोबाट संरक्षणको अपेक्षा गर्दछ। निर्वाचितको भूमिका कमजोर हँुदा नागरिक सडक आन्दोलनबाट आफ्नो सुरक्षा खोज्छ। निर्वाचित जनप्रतनिधिबाट निराश जनता देशमा अकल्पनीय खराबी हुँदासमेत सडक तात्ने स्थिति छैन। आन्दोलन गर्नका लागि युवा जनशक्ति चाहिन्छ। सो युवा जनशक्ति बिदेसिनुले सडक पनि सुनसान छ। यसकारण निराशाबाट समाजलाई बचाउने उपाय कमजोर भएको स्थिति छ।

आत्महत्या, लागूऔषध प्रयोग, सम्बन्धविच्छेद जस्ता सामाजिक विचलन

इ. दुरखाइमका अनुसार ‘आत्महत्याको दरको संरचना मानिसको सामाजिक सम्बन्धहरूको संरचनाको सकारात्मक फलन हो।’ आधारभूत आवश्यकताको स्थानिक मापदण्ड बनाउन नसिकएकाले तुलनाको प्रवृत्ति हो भयो। विश्व परिप्रेक्ष्यमा नेपालमा उभिएर, आफ्नो मौलिक पाराले, नेपालको कुनै गाउँमा उभिएर गाउँको मौलिक शैलीमा जीवन स्वीकार्न कठिन छ। सामाजिक, आर्थिक र सांस्कृतिक कारणले मानसम्मानको परिभाषा निर्धारण हुन्छ। असमानता र विभेद अर्थ-सामाजिक-सांस्कृतिक संचनाबाट उत्सर्जन हुन्छ।

अध्ययनले विश्वमा आत्महत्या गरिब तथा कम आम्दानी भएको देशको हिस्सा ७५ प्रतिशत रहेको देखाउँछ। नेपाल विश्वको सातौँ बढी आत्महत्या हुने देशमा पर्दछ। यी सबै चरहरूको एकीकृत फलन हो आत्महत्या। त्यसैले आत्महत्यालाई व्यक्तिपरक कारण ठान्न सकिँदैन। निराशाको चरम परिणाम हो आत्महत्या। लागूऔषध प्रयोगको पनि निराश अभिव्यक्तिको अर्को माध्यम हो। अध्ययनका आधारमा लागूऔषधको कुलत आर्थिक-सामाजिक-सांस्कृतिकहरू संरचनात्मक सम्बन्धले निर्धारण गर्छ। अन्य सामाजिक विचलनहरूलाई पनि यसै मान्यताभित्र हेर्नुपर्छ।

निष्कर्ष

निराशाको सिकार नेपाली समाज भइरहेको मापन गरिसकेपछि कारण कुनै एकपक्षीय नभएको निश्चयमा पुग्न सहज हुन्छ। कति कुरा नेपाली समाजको नियन्त्रणमा छैन। देशका नाममा विश्व समाजलाई विभाजन गर्न सकिन्छ तर अन्तसम्बन्धलाई निषेध गर्न सकिँदैन। सर्वत्र निराशाको निन्दा गर्नु भन्दा पनि यसबाट मुक्त हुने उपायको व्यापक खोजी नेपाली समाजको ज्वलन्त आवश्यकता हो। यहाँ दृष्टिगोचर गर्न खोजेको विषय निराशाको अन्वेषण र निदानको सामान्य विमर्श हो। हरारीको कुरा दोहोर्‍याउनु सान्दर्भिक हुन्छ, ‘सूचनाको भारी भन्दा पनि प्रज्ञा (विजडम)को खोजी अनिवार्य छ।’

निदान खोज्न उच्च नेतृत्वको प्रतिबद्धताबाट अनिवार्य हुन्छ। राष्ट्रिय मानक बनाउँदै नेपाली पाराले बाँच्ने संकल्प गर्ने त्यस्तो बाटो देखाउन सम्बन्धित पक्षको नैतिकता खोजी भएको वास्तविकतामा अन्तरनिहित छ, निराशाको विस्थापन। अतः यस्तो सन्दर्भमा विमर्शका अनेक प्रयत्नको खाँचो छ।

(राई त्रिभुवन विश्वविद्यालय कीर्तिपुर, समाजशास्त्र विभागको एमफिल शोधार्थी हुन्।)

सनदर्भ सामग्री

Durkheim, E. (1951). Suicide: A study in sociology (J. A. Spaulding & G. Simpson, Trans.). Free Press. (Original work published 1897)
Mueller, A. S., Abrutyn, S., Pescosolido, B., & Diefendorf, S. (2021). The social roots of suicide: Theorizing how the external social world matters to suicide and suicide prevention. Frontiers in Psychology, 12, Article 621569. https://doi.org/10.3389/fpsyg.2021.621569
Thapaliya, S., Sharma, P., & Upadhyaya, K. (n.d.). Suicide and self harm in Nepal: A scoping review. [Unpublished manuscript].
Upadhyay, P. (n.d.). The social aspects of drugs abuse: A study of rehabilitation centers of Kathmandu, Nepal. [Unpublished manuscript].

नेपाल प्रहरी लागु औषध नियन्त्रण विभाग (२०७८–८१) वार्षिक प्रतिवेदन [Annual Reports]. https://narcotics.nepalpolice.gov.np/ (Accessed २०८१)

नेपाल प्रहरी अपराध अनुसन्धान विभाग (२०७०–८१) आत्महत्याको स्थिति [Suicide Statistics]. https://cid.nepalpolice.gov.np/ (Accessed २०८१)

वैदेशिक रोजगार विभाग (२०५२–०८१) वार्षिक तथ्यांक [Annual Statistics]. https://dofe.gov.np/ (Accessed २०८१)

राष्ट्रिय जनसंख्या कार्यालय (२०८०) बसाइँसराइसम्बन्धी विश्लेषण [Migration Analysis]. https://npc.gov.np/ (Accessed २०८०)

लोकसेवा आयोग (२०७१–८१) वार्षिक प्रतिवेदन [Annual Reports]. https://psc.gov.np/ (Accessed २०८१)

प्रकाशित: २७ साउन २०८२ १२:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast