
इटहरी- सुनसरीको भोक्राहामा सोमबार (आज) बिहान भएको बस र माइक्रो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। प्रारम्भिक अनुसन्धानअनुसार माइक्रोले बसलाई ओभरट्याक गर्ने क्रममा तीव्र गतिका कारण सवारी नियन्त्रण गुमाएर ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
झापाको काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको माइक्रो (विङ्गर) एकापसमा ठक्कर भएर दुर्घटना हुँदा सप्तरीको मधावे गाउँपालिका–६ बस्ने ३५ वर्षीय शंकर मण्डल, सुनसरीको कोशी गाउँपालिका–६ बस्ने ७० वर्षीय लक्ष्मण सदा, विराटनगर महानगरपालिका–१० बस्ने ४० वर्षीय अशोक यादव, सप्तरीको तिरहुत गाउँपालिका–३ बस्ने ६० वर्षीया अनारवतीदेवी यादव र सप्तरीकै गोईठी गाउँपालिका–३ बस्ने ६८ वर्षीय जिवछ महात्माको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) सुमनकुमार तिम्सिनाका अनुसार मण्डल, सदा र यादवको सुनसरीस्थित ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल भोक्राहामा मृत्यु भएको हो । यसै गरी अनारवतीदेवीको जिल्ला अस्पताल इनरुवा र महात्माको भने नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। मृतक सबैको शव आफन्तले बुझेर लगेको उनले जनाए। मृत्यु भएका सबै जना माइक्रोमा सवार थिए। घटनामा २८ जना घाइते भएकामध्ये पाँच जनाको मृत्यु भएको र उपचारपछि ७ जना डिस्चार्ज भएका छन्। बाँकी घाइतेको उपचार भइरहेको छ।
घटनामा मोरङको सुन्दरहरैँचा नगरपालिका-९ बस्ने ३२ वर्षीया अम्बिका राई, खोटाङको रावाबेसी गाउँपालिका-२ बस्ने १९ वर्षीया निरुता परियार, सोही ठाउँकी ३८ वर्षीय निर्मल परियार, सप्तरी मन्धेव गाउँपालिका–६ बस्ने २० वर्षीय रवीन्द्र प्रसाद मण्डल, उदयपुरको चौदण्डिगढी नगरपालिका–५ बस्ने ५० वर्षीय रेनुका श्रेष्ठ, सप्तरीको बिष्णुपुर गाउँपालिका–१० बस्ने ४५ वर्षीया ममता साह, झापाको अर्जुनधारा नगरपालिका–१ साजनटार बस्ने २० वर्षीय सत्य राई घाइते भएका छन्।
यस्तै सप्तरीको राजविराज नगरपालिका–६ बस्ने १० वर्षीय रुद्र राय, विराटनगर महानगरपालिका–१० बस्ने ४८ वर्षीया शोभा यादव, राजविराज–१२ बस्ने ४४ वर्षीय प्रमोद रजक, राजविराज–२ बस्ने २४ वर्षीय भोला यादव, सप्तरीकै तिलाठी गाउँपालिका–५ बस्ने २२ वर्षीय रवि राय, राजविराज तेतरीगाछी बस्ने ३५ वर्षीय प्रदीप यादव, सुनसरीको कोशी गाउँपालिका–६ श्रीपुर बस्ने ६० वर्षीय जोगिन्द्र दास, सप्तरीकै डाक्नेश्वरी नगरपालिका–३ बस्ने ३० वर्षीया अमृता राय घाइते भएका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको एसपी तिम्सिनाले बताए।
यसै गरी खोटाङको हलेसी तुवाचुङ नगरपालिका १० बस्ने ८४ वर्षीय नेत्रलाल गिरी, उनका छोरा ३९ वर्षीय केदार गिरी, सप्तरीको राजविराज–४ बस्ने २१ वर्षीय सन्तोष बास्तोला, झापाको भद्रपुर नगरपालिका–९ बस्ने ५३ वर्षीय सन्तोष खत्री, उदयपुरको बेलका नगरपालिका–१ बस्ने २० वर्षीय दीपक विश्वकर्मा, इलाम चुलाचुली गाउँपालिका–३ बस्ने ३६ वर्षीय सविन राई र सप्तरीको धिकुती गाउँपालिका–६ बस्ने वर्ष नखुलेको रवीन्द्र मेहता उपचारपछि डिस्चार्ज भएका छन् ।
‘तीव्र गतिको माइक्रोले ओभरट्याक गरिसकेपछि विपरीत लेनमा गएर बसलाई हान्दा यो परिणाम आयो,’ एसपी तिम्सिनाले भने। बस चालक झापाको अर्जुनधारा नगरपालिका-१ बस्ने ३६ वर्षीय गोपाल अधिकारी सुनसरी प्रहरीको नियन्त्रणमा रहेका छन्। घटनाबारे थप अनुसन्धान जारी राखिएको सुनसरी प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार चालकले ओभरट्याक गर्न खोज्दा पर्याप्त दूरी नपुगेको र सवारी तीव्र गतिमा गुडिरहेको हुँदा दुर्घटना भएको हो। ट्राफिक नियम अनुसार, दृश्य स्पष्ट नभएको मोड, पुल, उकालो र भीडभाड क्षेत्रमा ओभरट्याक गर्न निषेध छ।