![सुनसरी दुर्घटना अपडेट : मृतकको संख्या चार पुग्यो, २२ घाइते [सबैको नामावलीसहित]](https://himalpress.com/wp-content/uploads/2025/08/accident-1.jpg)
इटहरी- पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ जलुवाटोलस्थित फूल चौकमा सोमबार बिहान भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार जना पुगेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता, डीएसपी योगराज खतिवडाका अनुसार घटनामा गम्भीर घाइते भएकाहरूको मृत्यु भएको हो। हालसम्म चार जनाको मृत्यु भएको र बाँकी घाइते भएका छन्।
आज (सोमबार) बिहान करिब ८ बजेतिर विराटनगर-राजविराज रुटमा चल्ने प्रदेश २-०१-००१ ज ००४७ नम्बरको माइक्रोबस र काँकडभिट्टा-दिक्तेल रुटमा चल्ने मे १ ख १७९९ नम्बरको बस एक-आपसमा ठोक्किँदा दुर्घटना भएको थियो।
दुर्घटनामा परी मृत्यु हुनेमा सप्तरीको मधावे गाउँपालिका-६ बस्ने अन्दाजी ३५ वर्षीय शंकर मण्डल, सुनसरीको कोशी गाउँपालिका-६ बस्ने अन्दाजी ७० वर्षीय, लक्ष्मण सदा, विराटनगर बस्ने अशोक यादव र अन्दाजी ४५ वर्षीया महिला (पहिचान खुलिसकेको छैन)रहेका छन्।
मृतक सबै माइक्रोमा सवार रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनामा गम्भीर घाइते भएका उनीहरूलाई ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल, जिल्ला अस्पताल इनरुवा र विराटनगर पठाइएको थियो। उपचारका क्रममा मृत्यु भएको डीएसपी खतिवडाले जानकारी दिए।
यसैगरी घटनामा मोरङ सुन्दरहरैँचा नगरपालिका-९ बस्ने अम्बिका राई, खोटाङको रावाबेसी गाउँपालिका-०२ बस्ने निरुता परियार, सोही ठाउँकी ३८ वर्षीय निर्मल परियार, सप्तरी मन्धेव गाउँपालिका-६ बस्ने रवीन्द्र प्रसाद मण्डल, उदयपुरको चौदण्डिगढी नगरपालिका-५ बस्ने ५० वर्षीय रेनुका श्रेष्ठ, झापाको शिबसतासी नगरपालिका-५ बस्ने ३८ वर्षीय खगेन्द्र थापा घाइते भएका छन्।
यसैगरी झापाको भद्रपुर नगरपालिका-९ बस्ने ५३ वर्षीय सन्तोष खत्री, उदयपुरको बेलका नगरपालिका-१ बस्ने २० वर्षीय दीपक विश्वकर्मा, इलामको चुलाचुली-३ बस्ने ३६ वर्षीय सविन राई, सप्तरी धिकुति गाउँपालिका-६ बस्ने रवीन्द्र मेहता, सप्तरीकै गोइठी गाउँपालिका-३ बस्ने ६८ वर्षीय जिवछ महात्मा, खोटाङको हलेसी तुवाचुङ नगरपालिका १० बस्ने ८४ वर्षीय नेत्रलाल गिरी, उनका छोरा ३९ वर्षीय केदार गिरी घाइते भएका छन्।
उनीहरूको ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल भोक्राहा सुनसरीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, झापाको अर्जुनधारा नगरपालिका १ साजनटार बस्ने २० वर्षीय सत्य राई, सप्तरीको राजविराज नगरपालिका-६ बस्ने १० वर्षीय रुद्र राय, विराटनगर महानगरपालिका-१० बस्ने ४८ वर्षीया शोभा यादव, सप्तरीकै राजविराज-१२ बस्ने ४४ वर्षीय प्रमोद रजक, सप्तरीकै तिलाठी गाउँपालिका-५ बस्ने २२ वर्षीय रवि राय, राजविराज-२ बस्ने २४ वर्षीय भोला यादव घाइते भएका छन् ।
यसैगरी राजबिराजकै तेतरीगाछी बस्ने ३५ वर्षीय प्रदीप यादव, सुनसरीको कोशी गाउँपालिका-६ श्रीपुर बस्ने ६० वर्षीय जोगिन्द्र दास, सप्तरीको डाक्नेश्वरी नगरपालिका-३ बस्ने ३० वर्षीया अमृता राय घाइते भएका छन् । उनीहरूको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।
सप्तरीको राजविराज-४ बस्ने २१ वर्षीय सन्तोष बास्तोलाको विराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको छ । उनी माइक्रोका सहचालक रहेको खुलेको छ । प्रहरीले मृतक र घाइतेको उमेरको विवरण खुलाएको छैन।
सुनसरी सवारी दुर्घटना अपडेट : तीनजनाको मृत्यु, ४ गम्भीर, १३ यात्रु घाइते