पहिरोले सिंगो गाउँ नै जोखिममा

हिमाल प्रेस २६ साउन २०८२ १०:५५
8
SHARES
पहिरोले सिंगो गाउँ नै जोखिममा

पर्वत- लगातारको वर्षाका कारण पर्वतको मोदी गाउँपालिका २ देउपुरको कोरुंगा गाउँ जोखिममा परेको छ। भिरबाट पहिरो झर्ने क्रम नरोकिएपछि सिंगो गाउँनै जोखिममा परेको हो।

यहाँ आधादर्जन घरपरिवारको बसोबास रहेको छ । पातीचौर–देउपुर–लप्सीवोट सडक निर्माणपछि करिब एक दशकदेखि सुरुआत भएको कोरुंगाको पहिरो बढ्दै गएर बस्तीतर्फ पुगेको हो । अहिले यहाँका पाँच घरपरिवार उच्च जोखिममा परेका छन्।

पहिरोका कारण स्थानीय टीकाराम जैसीको घर भत्किएको छ भने कुमार केसीको घर उच्च जोखिममा परेको छ । पहिरोले घर नै क्षतिग्रस्त भई बस्न अयोग्य भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा सर सामान सुरक्षितस्थान तर्फ सारिएको छ भने बस्न अस्थायी टहरासमेत निर्माण गरिएको छ । पहिरो रोकथामको प्रयास नहुँदा यहाँका बासिन्दा रातभर जाग्राम बस्ने गरेको बाबुराम जैसीले जानकारी दिए ।

केही वर्ष पहिलेदेखि सुरु भएको पहिरोको रोकथामका लागि आवश्यक पहल हुन नसक्दा बर्सेनि झनै बढ्दै गएको र जोखिम बढिरहेको स्थानीयले गुनासो गरेका छन् । पहिरो झर्ने क्रम नरोकिएकाले जुनसुकै बेला बस्ती नै दुर्घटनामा पर्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए ।

गत वर्ष सोही पहिरोको कारण गाउँपालिकाको केन्द्रदेखि वडा नं १, २, ३ र ४ जोड्ने मुख्य सडक तीन महिना पूर्णरूपले अवरुद्ध भएको थियो । पातीचौर देउपुर लप्सीबोट सडकको कोरुङ्गा खण्डको झण्डै दुई किलो मिटर पक्की सडक क्षतिग्रस्त भएको छ । यसवर्ष पनि सो सडक पूर्णरूपले अवरुद्ध बनेको छ ।

गाउँपालिकाको केन्द्र जोड्ने मुख्य सडकनै अवरुद्ध भएपछि स्थानीयले निकै सास्ती बेहोर्नु परेको छ । अन्य वैकल्पिक सडकसमेत मर्मत सम्भार नहुँदा आवतजावतमा निकै समस्या परेको स्थानीय शिक्षक भूमिराज शर्माले जानकारी दिए । विकल्पको रूपमा रहेको बेतेनी गौँडा टापु सडक पनि स्तरोन्नति नहुँदा सञ्चालनमा कठिनाइ भएको उनले बताए । नयाँ पुल मख ठूली पोखरी सडक पनि ठाउँ ठाउँमा पहिरो गएर क्षतिग्रस्त भएको छ ।

वातावरणीय र भौगोलिक अवस्थालाई ख्याल नगरी अव्यवस्थित किसिमले सडक निर्माण गरिएको र ढल निकासको राम्रो व्यवस्था नभएका कारण ग्रामीण भेगका सडक निर्माण सम्पन्न नहुँदै क्षतिग्रस्त हुने गरेका छन् । वर्षाको समयमा गरिने निर्माण कार्यले पनि विपत्ति निम्त्याइरहेको स्थानीय बताउँछन् । रासस

प्रकाशित: २६ साउन २०८२ १०:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast