साउनसम्मको खडेरीले ‘अन्नभण्डार’मा धान घट्ने प्रक्ष्येपण

हिमाल प्रेस २६ साउन २०८२ ७:०४
10
SHARES
साउनसम्मको खडेरीले ‘अन्नभण्डार’मा धान घट्ने प्रक्ष्येपण

धनुषा- खडेरीको प्रभावमा परेका मधेश प्रदेशका आठ जिल्लामा हालसम्म करिब ७७ प्रतिशत धान रोपाइँ भएको छ।

कृषि विकास निर्देशनालयका निर्देशक जितेन्द्र यादवका अनुसार सबैभन्दा बढी रोपाइँ बारामा ९५ प्रतिशत भएको छ भने सबैभन्दा कम महोत्तरीमा ६१।५ प्रतिशत रोपाइँ भएको छ।

प्रदेशको कूल पाँच लाख ४२ हजार ५८१ हेक्टर खेती योग्य क्षेत्रमध्ये तीन लाख ७२ हजार ६४५ हेक्टरमा धान रोपाइँ हुने गरेकामा हालसम्म दुई लाख ८५ हजार ३३५ हेक्टरमा रोपाइँ भएको हो ।

उनका अनुसार पर्याप्त वर्षा नभए पनि बोरिङको माध्यमबाट रोपाइँको क्षेत्रफल वृद्धि भएको हो। बारा र पर्सामा गण्डक नहर, सप्तरीमा कोशी, सर्लाही र रौतहटमा बागमतीबाट किसानले सिंचाइ गरेर धान रोप्दा केही सहजता भएको छ । तर, धनुषामा कमला नदी सुक्दा समस्या भएको हो ।

यस वर्ष प्रदेशमा अधिकतम ८० प्रतिशतसम्म रोपाइँ हुने अनुमान गरिएको छ । ढिलो रोपाइँका कारण कुल धान उत्पादनमा करिब २७ प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको निर्देशक यादवले बताए ।

सुक्खा र खडेरी प्रभावित क्षेत्रका लागि भूमिगत सिँचाइ व्यवस्थापन सहयोग कार्यक्रम अन्तर्गत प्रदेश सरकारले किसानलाई तत्काल राहत दिने घोषणा गरेपछि प्रदेशभरका २२ हजार ५२ किसानले आवेदन दिएका छन् ।

सिंचाइ व्यवस्थापन सहयोगका लागि मधेश प्रदेश सरकार संघीय सरकारको निर्णयको पर्खाइमा रहेको मुख्यमन्त्री सतिशकुमार सिंहले बताए। प्रदेश सरकारले किसानलाई सो सहयोगका लागि १८ करोड बजेट विनियोजन गरे पनि पर्याप्त नभएको उनको भनाई छ ।

प्रकाशित: २६ साउन २०८२ ७:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast