
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदका लागि बुद्धिमान तामाङले आकांक्षा देखाएका छन्। उनको अध्यक्ष बन्ने अभिव्यक्तिले संस्थापनमा तरंग उत्पन्न भएको छ। हालसम्म संस्थापनबाट राजेन्द्र लिङ्देन मात्रै आकांक्षी थिए। लिङ्देन २०७८ मंसिरदेखि अध्यक्ष छन्।
नेता तामाङ पार्टी अध्यक्ष बनेर राजनीतिबाट अवकाश लिने योजनामा रहेको बताए। ‘म कहाँ जाने त?’ तामाङले हिमालप्रेससँग भने, ‘म सबै पदमा बसिसकेँ। अब लड्दा दुई पदमा लड्छु। कि अध्यक्षमा चुनाव लड्ने हो कि धादिङबाट प्रतिनिधिसभाको चुनाव लड्ने हो। अरू चुनाव म लड्दिनँ।’
इतरपक्षबाट धवलशमशेर राणा र विक्रम पाण्डेको चर्चा छ। अब तामाङ पनि अध्यक्षको आकांक्षी देखिएपछि इतरपक्ष खुसी भएका छन्।
तामाङले यसअघि राप्रपाको औपचारिक बैठकमा पनि आफू अध्यक्षमा लड्ने घोषणा गरिसकेका थिए। उनले यसो भन्नुको अर्थ हो, चुनाव लड्दा अध्यक्षमा मात्र लड्ने। तामाङले राप्रपामा विभिन्न जिम्मेवारी निर्वाह गरिसकेका छन्। तामाङ जनजाति क्लस्टरका सांसद हुन् भने संसदीय दलको उपनेता पनि। राप्रपाको २०७८ मा सम्पन्न महाधिवेशनपछि उपाध्यक्ष पदमा मनोनीत भएका हुन् उनी।
राप्रपा यसअघिको महाधिवेशनमा तामाङ कमल थापा निकटस्थ थिए। थापा राप्रपामा टिकेनन्। तामाङ राप्रपामै रहे। अब फेरि राप्रपामा तिक्तता छ। लिङ्देन-राणा टकराव बढ्दा तामाङ मौन छन्। तामाङ आफू संस्थापन पक्षधरकै भएको बताउँछन्। उनले भने, ‘म फुटाउन लाग्दिनँ। संस्थापनमै बस्छु भनेर भनिसकेको छु।’
तामाङ पटकपटक सांसद भए। मन्त्री पनि बने। तर उनी पार्टी विभाजनबारे पटक्कै बुझ्दैनन्। अहिलेका दुवै पक्षका कुराले उनलाई चित्त बुझेको छैन। यो पार्टीभित्रको लडाइँ नेतृत्वकै लागि भएको तामाङले बुझेका छन्।
‘अशक्त हुँदासम्म राजनीति गर्दिनँ’
तामाङ लामो समय राजनीति गर्ने योजनामा उनी छैनन्। ‘अब अरू नेताजस्तो हातखुट्टा नलागुन्जेलसम्म पदमा बस्दिनँ,’ तामाङ भन्छन्, ‘राजनीतिक चासो, चिन्ता त हुन्छ तर पदमा बस्दिनँ।’ ७८ वर्षीय तामाङ शारीरिक कमजोरपन लिएर राजनीति नगर्नेमा ढुक्क छन्।
‘ठूला नेताहरू जसरी अन्तिम समयसम्म राजनीति गर्छन्। त्यो मबाट हुँदैन’, उनी भन्छन्। राप्रपाका पूर्वअध्यक्ष एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द पनि ‘अवकाशपूर्ण राजनीतिक जीवन’ बिताइरहेका छन्। अब तामाङ पनि त्यही बाटोमा छन्। किनभने देशको राजनीतिक परिस्थिति, पार्टीभित्रको कचिंगलले उनलाई राजनीति छाड्नै मन छ।
राप्रपामा अहिले विवाद चुलिएको छ। कहिले संस्थापन त कहिले इतरपक्ष मानिने झुन्डले छुट्टै भेला गरिरहेका छन्। गुट बनाउन अध्यक्ष राजेन्द्र लिङ्देन आफैँ सक्रिय छन् भने महामन्त्री धवलशमशेर राणा गुटको नेतृत्व गर्दै कुदिरहेका छन्।
त्यसो त लिङ्देन आफूविरुद्ध बोल्नेलाई कारबाहीको शृंखला बढाइरहेका छन्। उनले यसअघि पुराना नेता नवराज सुवेदी, युवा नेता सगुनसुन्दर लावती र उनका पुराना मुकुन्दश्याम गिरीलाई कारबाही गरिसकेका छन्।
सुवेदीलाई अनुशासन समितिको अध्यक्षबाट, लावतीलाई प्रवक्ताबाट र गिरीलाई प्रवक्ताबाट लिङ्देनले निकालेका छन्। हुन त यी सबै नेताहरू निर्वाचित नभई मनोनीत हुन्। यही कारण पनि लिङ्देनले कारबाही गरेका हुन्।
राणा समूह अन्यायमा परेको दाबी गर्दै निर्वाचन आयोग पुगेको छ। एकपटक सुवेदी र लावतीको विषय लिएर र अर्को पटक गिरीको पदको पुनर्बहालीलाई लिएर इतरपक्ष आयोग पुगिसकेको छ। नेताहरूका अनुसार राप्रपाको विवाद समाधानतिर होइन, विस्फोटतिर गइरहेको छ। हुन त विवादको समाधान कोहीसँग पनि छैन। दुवै समूह आफूलाई दर्बिलो देखाउने प्रयासमा छन्।
यही विवादले गर्दा राप्रपाका पुराना नेता बुद्धिमान तामाङ भने विरक्तिएका छन्। पार्टीका उनी वरिष्ठ नेता उपाध्यक्ष छन्। तर पार्टीको विवादबारे उनी मौन छन्। पार्टी स्थापनाकालदेखि ‘तटस्थ’ भूमिकामा रहेका उनी विवाद हुँदा बैठकमा समन्वयकारी भूमिका निर्वाह गर्थे। उनी अहिलेसम्म आफू तटस्थ बसेको बताउने गरेका छन्। अब भने राप्रपाको विवादले उनी आजित भएका छन्।
‘कति मिलाउनु विवाद! दिक्क भइसक्यो। अब म मिलाउने पक्षमा छैन,’ तामाङ भन्छन्, ‘एकपटक होइन, सधैँ तनाव-सधैँ विवाद।’ हुन त राप्रपा भन्ने पार्टी नै यस्तै छ।
२०४६ सालमा पञ्चायत अन्त्य भएपछि राप्रपा गठनको पहल भएको थियो। त्यतिबेला पार्टी स्थापनामा सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्दका साथै प्रकाशचन्द्र लोहनी, पशुपतिशमशेर जबरा, कमल थापा, बुद्धिमान तामाङ, पद्मसुन्दर लावती, रवीन्द्रनाथ शर्मालगायत संलग्न थिए।
एकताको पहल हुँदै गर्दा बीचमै नेताहरुबीच विवाद हुँदा एकै दिन, २०४७ जेठ १५ गते, राप्रपा (चन्द) र राप्रपा (थापा) नामका दुई पार्टीको घोषणा भएका थिए। त्यसबेला तामाङ थापासँगै रहे। त्यसयता राप्रपा पटकपटक विभाजित भयो, अनुमान गर्न गाह्रो छ। किनभने टुट्ने र फुट्ने शृंखला जारी छ। यसका साक्षी हुन्, तामाङ। अहिले पनि राप्रपा दुईवटा छ।
एकातिर लिङ्देन नेतृत्वको राप्रपा र अर्कातिर कमल थापाका। राप्रपाका विवादमा प्रायः तामाङ विभाजनको विपक्षमा लाग्थे। कतिपयले उनलाई संस्थापन खेमामा बसेर रमाउने पनि भन्थे। उनी विभाजनमा नलाग्न भन्थे। तर कहिल्यै राप्रपामा तामाङले भनेको भएन। जनजाति नेता तामाङ हिन्दु राष्ट्रका पक्षमा छन्। उनलाई अहिले पनि त्यस्तै लाग्छ। विदेशी शक्तिहरूकै कारण नेपालमा हिन्दु राष्ट्र हटेको तामाङको ठम्याइ छ। अहिले पनि यो आन्दोलनमा लागिरहेका छन्। उनी आन्दोलनकै क्रममा पटकपटक पक्राउ परेका छन्।
हुन त उनी पार्टी टुटफुटका अधिकांश शृंखलामा उनी सूर्यबहादुर थापा निकट रहे। थापा राप्रपामा अग्ला कदका नेता मानिन्थे भने तामाङका सम्बन्धित पनि हुन्। राप्रपा नेताहरूका अनुसार थापा तामाङका मीत बाबु हुन्। अर्थात् सूर्यबहादुरका छोरा सुनिलबहादुरसँग तामाङले मीत लागेका छन्।
राप्रपाका मतदातामा अधिकांश ४० माथिका
राप्रपामा अहिले युवा नेतृत्वको खुबै चर्चा छ। हुन त यसअघि लिङ्देनले पनि पुस्तान्तरणको मुद्दाले अध्यक्षमा थापालाई हराएका थिए। अहिले पुस्तान्तरण भज्ने दुई नेता (लिङ्देन–राणा) बीच नै तिक्तता छ। यता तामाङ भने आफ्नो पार्टीका भोटर नै ४० माथिका रहेको बताउँछन्।
‘कम्युनिस्टहरूले कम्युनिस्टलाई र लोकतान्त्रिकहरूले कांग्रेसलाई मत हाल्ने हो,’ तामाङको बुझाइ छ, ‘हामीलाई देशभक्त र अलिक पाकाहरूले मत हाल्नुहुन्छ।’ उनका अनुसार ४० वर्षमाथिको जनशक्तिमा देशभाव र आस्थाको राजनीति बढी हुन्छ।