हास्य कलाकारका लागि विशेष पर्व ‘गाईजात्रा’

हिमाल प्रेस २५ साउन २०८२ १७:१७
10
SHARES
हास्य कलाकारका लागि विशेष पर्व ‘गाईजात्रा’ तस्बिर : एआई

काठमाडौँ- भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौँ उपत्यकासहित देशैभर विभिन्न कार्यक्रम भइरहेको छ।

यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ। पञ्चायती व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै २०१७ सालपुस १ गतेको शाही ‘कू’पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो।

विं स. २०३३ मा नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानले महोत्सवका रूपमा झाँकी र हास्यव्यंग्यसहित गाईजात्रा फेरि मनाउन थाल्यो। त्यसपछि हास्य कलाकारहरूले पनि विशेष कार्यक्रम गर्दै आएका छन्। विशेषतः हास्य कलाकारका लागि ‘गाईजात्रा’ ठूलो पर्वका रूपमा मानिन्छ। गाईजात्राका अवसरमा यस वर्ष काठमाडौँस्थित प्रज्ञा-प्रतिष्ठान र सांस्कृतिक संस्थामा विभिन्न हास्य कलाकारको प्रस्तुति चलिरहेको छ।

लामो समयपछि महजोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गतवर्ष ‘महजात्रा’ नामक प्रहसन स्वदेश तथा विदेशमा गरे। फिल्ममा व्यस्त रहेका कलाकार आचार्यले समय मिलाएर प्रहसनमार्फत दर्शकसँग साक्षात्कार गरिरहेको बताए।

उनले भने, ‘हामीले गत वर्ष महजात्रालाई विदेशसँगै नेपालमा पनि देखायौँ। म र मदन दाई (मदनकृष्ण श्रेष्ठ) लाई दर्शकले दिनुभएको मायाले हामी मिलेसम्म प्रहसन लिएर आउने गरेका छौँ। पछिल्लो समय विविध कारणले गाईजात्रामा प्रस्तुति दिन पाइरहेका छैनौँ। तर, नयाँ पुस्ताले दिनुभएको निरन्तरताले हामीलाई खुसी दिएको छ।’

कलाकार आचार्यले महजोडी बनेर काम सुरु गर्दा आफ्ना कुरा सिधैँ भन्न पाइने व्यवस्था नभएको स्मरण गरे। उक्त समयमा अभिव्यक्त गर्ने विषयलाई शब्दसँग खेल्दै त्यसलाई कलात्मक बनाएर प्रस्तुत गर्ने गरेको उनले सुनाए।

‘तत्कालीन व्यवस्थाले हामीलाई धेरै छुट दिएको थिएन । हामीले कलाको प्रयोग गरेर आफ्ना कुरा भन्ने गथ्र्यौं। अहिले धेरै छुट छ, तर हामीले त्यसलाई कलात्मक बनाउन छोड्न हुँदैन। हामीले गर्ने प्रस्तुतिले मनोरञ्जनसँगै संस्कृतिलाई पनि व्यक्त गर्नुपर्छ’, कलाकार आचार्यले भने।

पछिल्लो समय ‘गाईजात्रा’ मा प्रहसन दिन नभ्याउने कलाकारमा ‘माग्ने बुढा’ अर्थात् कलाकार केदार घिमिरे पनि पर्छन। फिल्ममा अभिनय गर्न थालेपछि उनले ‘गाईजात्रा’ मा आफूलाई प्रस्तुत गरेका छैनन्। फिल्मबाट मनोरञ्जन दिइरहेका कलाकार घिमिरे प्रहसन र मञ्चलाई सधैँ सम्झना आइरहने बताए।

‘हामी हास्य कलाकारको ठूलो पर्व हो गाईजात्रा। मञ्चमा उभिएर अगाडि रहेका दर्शकलाई खुसी बनाउनुको आनन्द बेग्लै छ। तर, केही वर्षयता फिल्ममा व्यस्त भएकाले समय छुट्याउन सकेको छैन। फिल्ममा जोडिएपछि अभिनयसँगै प्रचारप्रसार र प्रदर्शनपछि पनि काम गर्नुपर्छ,’ उनले भने। गाईजात्रामा प्रस्तुत हुने रहर नभएका हास्य कलाकार कमै हुने घिमिरेले बताए। समय मिलाएर आगामी दिनमा ‘गाईजात्रा’ मा प्रहसन दिने उनको भनाइ छ।

२०६१ सालदेखि हरेक वर्ष निरन्तर रूपमा गाईजात्रालाई लक्षित गर्दै प्रस्तुति ल्याइरहेका कलाकार शिवशंकर रिजालले यस वर्ष ‘मिसन नौटङ्की’ ल्याए। साथै सांस्कृतिक संस्थानमा प्रस्तुति पनि दिइरहेका छन्। आफ्नो प्रस्तुतिमार्फत राजनीतिक घटनाक्रम, सामाजिक विकृतिदेखि आधुनिक फेसन र ग्ल्यामरसम्मलाई व्यङ्ग्य गरिएको उनले बताए। ‘हामीले डिजिटल रूपमा वा प्रत्यक्ष प्रस्तुत गर्ने प्रहसनमा व्यावसायिक लाभ नहुन सक्छ, तर यस्ता प्रस्तुति ल्याउनु हामी हास्य कलाकारको धर्म हो। मैले सुरुवातदेखि नै निरन्तर गाईजात्रा विशेष कोसेली ल्याइरहेकाे छु। प्रत्यक्ष रूपमा पनि आफ्नो प्रस्तुति दिने गरेको छु’, उनले भने।

पछिल्लो समय फिल्ममा व्यस्तता बढेसँगै चर्चामा रहेका दीपकराज गिरी, दीपाश्री निरौला, सीताराम कट्टेल ‘धुर्मुस’, जितु नेपाललगायत हास्य कलाकार गाईजात्राका अवसरमा आयोजना हुने कार्यक्रममा कमै सहभागी हुने गरेका छन्।

‘गाईजात्रा’ पर्व राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई संसारले पनि यस्तै शोक व्यहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आआफ्नो घरका दिवंगत भएका व्यक्तिका नाममा गाईजात्रा निकाल्नु र सहर परिक्रमा गराउनु’ भनी आज्ञा दिएका आधारमा सुरु भएको ऐतिहासिक विश्वास छ।

प्रकाशित: २५ साउन २०८२ १७:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast