काठमाडौँमा मनाइयो गाईजात्रा

हिमाल प्रेस २५ साउन २०८२ १६:०३
10
SHARES
काठमाडौँमा मनाइयो गाईजात्रा

काठमाडौँ- काठमाडौँका नेवार समुदायले गाईजात्रा पर्व मनाएका छन्। एक वर्षभरि दिवंगत भएका आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्व काठमाडौँको वसन्तपुरमा मनाइएको हो।

नेवार समुदायका मृतकका परिवारहरुले बिहानैदेखि गाईजात्रा निकालेका थिए। दिवंगत भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर सहर परिक्रमा गर्ने चलन छ। यसो गर्दा मृत व्यक्तिको आत्माले यमलोक जाँदा बाटोमा पर्ने बैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वास छ।

सहरमा गाई पाल्नेहरुले भने गाईलाई सिंगारेर नगर परिक्रमा गराउने गर्छन् भने केहीले जोगीको भेष धारण गरी रंगीबिरंगी कपडा, मुखुण्डो तथा लामो जामा र पटुका लगाएर सांस्कृतिक बाजागाजासहित नगर परिक्रमा गर्ने चलन छ।

नगर परिक्रमा गर्दा दिवंगत आफन्तको सम्झनामा विभिन्न भोजन गराइन्छ। गाईजात्रा काठमाडौँ उपत्यकामा तत्कालीन राजा प्रताप मल्लकी रानी आफ्नो छोरा चक्रप्रतेन्द्र मल्लको मृत्यु शोकमा डुबेपछि, रानीलाई सान्त्वना दिन प्रताप मल्लले सहरमा वर्षभरी कति जनाले आफन्त गुमाए, कतिजनालाई यस्तै शोक प¥यो भनेर देखाउन यो जात्रा मनाउन थालेको विश्वास छ।

यसो गर्दा पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ।

काठमाडौँ उपत्यकालगायत मूख्य रुपमा नेवार समुदायको बाक्लो बस्ती रहेका सहरहरु बनेपा, धुलिखेल, त्रिशुली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा, पोखरा, तानसेनमा पनि यो पर्व मनाइन्छ।

प्रकाशित: २५ साउन २०८२ १६:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast