
काठमाडौँ- नेपाल शिक्षक महासंघकी सचिव कल्पना पनेरुले प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकबाट पारित भएको शिक्षा विधेयक आफूहरूको लागि स्वीकार्य नरहेको बताएकी छन्।
शनिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त विधेयक स्वीकार गर्न नसकिने र शिक्षक महासंघ आन्दोलनमा जानुपर्ने बताएकी हुन्।
उनले शिक्षा क्षेत्र अत्यन्त अराजक अवस्थामा र मनोमानी ढंगले गुज्रिरहेको बताइन्। पञ्चायतकालीन शिक्षा ऐनलाई आज गणतान्त्रिक भनिएको नेपालमा आआफ्नो अनुकूलतामा व्याख्या विश्लेषण गर्ने काम भइरहेको उनको भनाइ छ।
सचिव पनेरुले शिक्षा विधेयकको सन्दर्भमा अहिले शिक्षा समितिको बहस सुन्दा आफूहरूलाई लाज लाग्ने गरेको बताइन्। आफूहरुले गरेको आन्दोलनको माग तलबभत्ता बढाउनुपर्छ भन्ने नरहेको उनको भनाइ छ। समितिले विधेयक पारित गर्दा महासंघसँग विभिन्न मितिमा गरेको सम्झौतालाई नजरअन्दाज गरेको उनले बताइन्।
‘नेपाल सरकारसँग २०७५, २०७८, २०८१ सालमा सम्झौता भयो। शिक्षाको जिम्मेवारी हामी लिन्छौं,सरकार जवाफदेही छ भनेर पटकपटक पठाउने काम भयो। तर, त्यो कार्यान्वयन भएन। आन्दोलनको मर्मलाई नजरअन्दाज गर्ने काम सरकारबाट भएको छ। त्यो अत्यन्त निन्दनीय र आपत्तिजनक छ,’ उनले भनिन्।
उनले अस्थायीहरूको सवाल न्यायपूर्ण समायोजन हुनुपर्ने र ६० प्रतिशतमात्रै आन्तरिक प्रतिस्पर्धा आफूहरूलाई स्वीकार्य नरहेको बताइन्।