
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि चार खेलाडी अधिकतम १५–१५ लाख रुपैयाँमा बिक्री भएका छन्। शनिबार भएको मिनी अक्सनमा उनीहरू अधिकतम १५–१५ लाखमा बिक्री भएका हुन्।
‘ए’ श्रेणीका मोहम्मद आदिल आलम, पवन सर्राफ, देव खनाल र अर्जुन साउद १५–१५ लाखमा बिक्री भएका हुन्।
आदिलका लागि भने एनपीएलका आठवटै टोलीले बोली लगाएका थिए। ‘लक्की ड्र’ मार्फत उनी काठमाडू गोर्खाज टोलीमा आवद्ध भए। त्यस्तै सर्राफ, खनाल र साउदका लागि पनि एकभन्दा बढी टोलीले अधिकतम मूल्यको बोली लगाएपछि उनीहरूको गन्तव्य पनि ‘लक्की ड्र’ मार्फत तोकियो।
खनालका लागि चितवन राइनोज र लुम्बिनी लायन्सबीच ‘लक्की ड्र’ हुँदा उनी चितवनमा आवद्ध भएका छन्। त्यस्तै साउदका लागि चितवन, कर्णाली याक्स र विराटनगरबीच ‘लक्की ड्र’ भएको थियो। कर्णाली र विराटनगरलाई पछि पार्दै चितवनले उनलाई अनुबन्धित गर्यो।
सर्राफ लक्की ड्रमार्फत कर्णाली याक्समा अनुबन्धित भएका छन्। उनका लागि कर्णाली, चितवन, लुम्बिनी र विराटनगरले अन्तिमसम्म बोली लगाएका थिए।
शनिबारको अक्सनमै काठमान्डू गोर्खाजले टीमलाई पूर्णता दिएको छ। आदिलसहित गोर्खाजले सन्तोष यादवका लागि १० लाख, आकाश त्रिपाठीका लागि ७ लाख, तुलबहादुर थापाका लागि २ लाख र उत्तम रंगु थापा मगरका लागि ३ लाख रुपैयाँ खर्चेको छ।
युवराज खत्री पुनः कर्णालीमै आवद्ध भएका छन्। उनी १० लाख रुपैयाँमा बिक्री भए। त्यस्तै दीपक डुम्रे र इमरान शेख २–२ लाखमा कर्णालीमै अनुबन्धित भए।
विराटनगर किङ्सले सूर्य तामाङलाई खरिद गर्न १० लाख खर्चेको छ। साहिल पटेल र नारायण जोशी ५–५ लाखमा बिक्री भए। दुवै जना विराटनगरमा अनुबन्धित भएका छन्।
लुम्बिनी लायन्सले दिलिप नाथलाई १० लाखमा खरिद गर्दा पोखराले लक्की ड्रमा विशाल पटेललाई ५ लाख रुपैयाँमा अनुबन्धित गरेको छ।
हेमन्त धामी १० लाख रुपैयाँमा सुदूरपश्चिम रोयल्समा आवद्ध भएका छन्। उनका लागि चार टोलीले अन्तिमसम्म प्रतिस्पर्धा गरेका थिए। त्यस्तै टेक रावत र दीपेन्द्र थापा २–२ लाख रुपैयाँमा सुदूरपश्चिममा अनुबन्धित भएका छन्।
पोखरा एभेन्जर्सले अर्जुन कुमालका लागि पाँच लाख खर्च गर्यो। त्यस्तै कृष्ण पौडेल र अभिषेक तिवारी २–२ लाखमा पोखरामा अनुबन्धित भएका छन्।
डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले मयन यादवलाई ७ लाख ७५ हजार रुपैयाँमा टिममा अनुबन्धित गरेको छ। त्यस्तै आदित्य महत ५ लाख र सचिन भट्ट २ लाख रुपैयाँमा जनकपुर बोल्ट्समा आवद्ध भएका छन्।
पहिलो चरणमा श्रेणी ‘ए’ बाट सन्तोष कार्की, मोसम ढकाल, सुनिल धमला र शरद भेष्वाकर बिक्री भएनन्। यो चरणमा उनीहरू कुनै पनि टिमको रोजाइमा परेनन्। अब टिमहरूको विस लिस्टका आधारमा उनीहरू ‘बी’ श्रेणीको मूल्यमा बिक्री हुन सक्ने छन्।
त्यस्तै श्रेणी ‘बी’ बाट रवीन्द्रजंग शाही, अनिल खरेल, शंकर राना, रित गौतम, दीपक बोहरा, मिलन बोहोरा, भुवन कार्की र कृष्ण कार्की पनि बिक्री भएनन्। पहिलो चरणमा ‘अनसोल्ड’ ए र बी श्रेणीका खेलाडीहरूलाई अक्सनको अन्त्यतिर फेरि टोलीले आवद्ध गर्न सक्ने व्यवस्था गरिएको छ।