
काठमाडौँ- केन्यामा एउटा बस दुर्घटनामा कम्तीमा २५ जनाको मृत्यु भएको छ। बसमा सवार यात्रुहरू एक व्यक्तिको अन्त्येष्टिबाट फर्किरहेका थिए। स्थानीय अधिकारीका अनुसार दुर्घटनामा २५ जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन्।
किसुमु–काकामेगा राजमार्गमा चालकले बसमाथि नियन्त्रण गुमाउँदा बस सडकबाट तल पल्टिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।
प्रहरीका अनुसार १० महिला, १० पुरुष र एक बालिकाको घटनास्थलमै मृत्यु भएको थियो। चार जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका २० मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ। दुर्घटनामा ज्यान गुमाउने सबै एउटै परिवारका सदस्य रहेको बताइएको छ।
यो क्षेत्रमा यसअघि पनि पटक–पटक सवारी दुर्घटना भएको बताइएको छ।
प्रकाशित: २४ साउन २०८२ १७:४४
प्रतिक्रिया