
भक्तपुर- विद्यालय शिक्षा ऐन निर्माणको प्रक्रियाबीच स्थानीय तहले जबर्जस्ती शिक्षक सरुवा गर्न थालेको भन्दै नेपाल शिक्षक महासंघले आपत्ति जनाएको छ।
महासंघले केही स्थानीय तहले अस्थायी शिक्षकलाई आतङ्कित पार्ने, म्याद नथप्ने वा करार सम्झौता नगर्ने कार्य गरिरहेको भन्दै त्यसलाई तत्काल रोक्न जोडदार माग गरेको छ। यस्ता अन्यायपूर्ण कार्यविरुद्ध दृढ भएर उभिन महासंघले सबै शिक्षकसँग अपिल गरेको छ।
नेपाल शिक्षक महासंघले २०८२ सालको भदाै दोस्रो साताबाट पुनः सशक्त आन्दोलनमा जाने घोषणा गरेको छ। महासंघले संसद्मार छलफलमा रहेको विद्यालय शिक्षा विधेयकमा आफूहरूको माग समावेश नभएको भन्दै आन्दोलन अपरिहार्य भएको जनाएको हो।
महासचिव तुलाबहादुर थापाका अनुसार आगामी भदाै ३ र ४ गते राष्ट्रिय समिति बैठक बसेर आन्दोलनको कार्यतालिका र स्वरूप तय गरिनेछ। महासंघले आन्दोलनबाट सिर्जना हुने असहज परिस्थिति प्रति सरकार जिम्मेवार हुने चेतावनी पनि दिएको छ।