पुस्तक चर्चा

बगेको भाषा र कथ्यमा ‘देवयानी’

चन्द्र खड्का २४ साउन २०८२ १९:५५
52
SHARES
बगेको भाषा र कथ्यमा ‘देवयानी’

साहित्य र समाज अभिन्न हुन्छ। कहिले समाजले विषयवस्तुको सिर्जना गरिदिन्छ। लेखक त्यसैमा कलागत सौन्दर्य भर्छ। कहिले साहित्यले समाजलाई नवीन मार्ग दिन्छ। लेखकले पात्र समाजबाटै लिन्छ। समाजमा अनेक प्रकारका मानव मनका अनेकौँ विचारले प्रभाव पारिरहन्छन्। स्रष्टाले नयाँ कुराको सिर्जनामा विशेष चासो लिनुभन्दा भएका विषयलाई फरक ढंगले भन्न प्रयत्नशील रहनु श्रेयस्कर हुन्छ। यिनै तथ्यको शृंखलामा स्रष्टा वसन्त चौधरीको हालै एक पुस्तक बजारमा आएको छ। आख्यानमा पहिलो प्रयास स्वरुप उनको उपन्यास ‘देवयानी’ प्रकाशनमा आएको हो। नारीलाई प्रमुख र निर्णायक भूमिका दिइएको प्रस्तुत कृति देवयानीको मनोदशा चित्रणमा केन्द्रित छ। उनको मनमा उब्जेको प्रबल प्रेम भावना द्वन्द्वात्मक रूपमा द्विविधाभित्र रुमल्लिएको पाइन्छ।

यो उपन्यास देवयानी, माधवी र आदित्यबिचको त्रिकोणात्मक सम्बन्धमा जेलिएको छ। उक्त जालोबाट उत्कर्षतिर डोर्‍याएर निष्कर्ष उन्मुख टुंग्याउने काम भने विक्रान्तले गरेको छ। प्रतिष्ठित कम्पनीको मालिक आदित्य आफ्नो ड्रिम प्रोजेक्टका लागि आर्किटेक्ट डिजाइनरको खोजीमा हुन्छन्। यही क्रममा भेटिएकी देवयानी कसरी आदित्यसँगको सामीप्य बढ्छ। उनीहरूबिच केकस्ता कार्ययोजनाहरूमा सहकार्य हुन्छ? व्यावसायिक सम्बन्ध कसरी पारिवारिक बन्धनतिर उन्मुख हुन्छ? व्यक्तिगत चाहना र फराकिलो उमेरको अन्तरालमा पनि किन यी दुई पात्र निकट रहन्छन्? यिनीहरू किन एकअर्काको जीवनको निर्णयमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्दछन्? देवयानीले आदित्यलाई किन सत्य कुरा सुनाउन बारम्बार रोक्छिन्? जस्ता अनेकन् प्रश्नहरू पाठकका मनमा निरुत्तर यात्रा गरिरहन्छन् उपन्यासका घटनासँगै। देवयानी र आदित्यले गोपनीयताको उच्च सतर्कता अपनाउँदाअपनाउँदै पनि बिस्तारै पटाक्षेप हुन्छन्। यससँगै उपन्यास पाठकलाई अन्योलमा नै राखेर अन्त्य हुन्छ।

आदित्यले बाँचिरहेको समयको उत्तरार्धतिरबाट उपन्यास सुरु हुन्छ। छोरी अदिति र नातिनी आराध्याको आकस्मिक आगमन उनको घरमा आगमनसँगै कथाले गति लिन थाल्छ। स्मृतिका कठोर कोर्राले आदित्यलाई हिर्काइरहन्छ। हाँस्नसमेत बिर्सँदै गएका उनलाई तिनै तिता स्मृतिले पछ्याउन छाड्दैन।

आख्यानकार चौधरीले पाठकलाई पात्रको विगतसँगै निरन्तर यात्रा गराउँदै जान्छन् र घटनाहरू पाठकका आँखामा दृश्य बन्दै जान्छन्। ठोरी गाउँको सन्दर्भ बारम्बार आउँछ। पाठकलाई त्यो ठाउँ वास्तविक हो कि काल्पनिक अन्योलमै राखेर कृतिको बिट मारिएको छ। पुरानो हिन्दी चलचित्र साजनको झल्को दिने गरी आदित्यलाई छद्म साहित्यकार बनाएका छन् उपन्यासकारले।

उपन्यासभरि बारम्बार पात्र आदित्य साहित्यिक रूपमा प्रस्तुत हुन्छ। लाग्छ, त्यो पात्रको अनुभूति नितान्त स्वयम् लेखक चौधरी नै हुन्। गीतका टुक्रा, मुक्तक र छोटा कविताले कृतिलाई आकार बढाउन र पाठकलाई रुचिकर बनाउन दुवै दृष्टिले सफल बनाएको छ।
एकानब्बे परिच्छेदमा संरचित उपन्यास दोस्रो अंकदेखि नै देवयानीसँगको भेटको प्रसंगबाट अघि बढ्छ। देवयानी नामकी पात्र पेसाले आर्किटेक्ट इन्जिनियर हुन्। उनलाई भने देवयानी रूप सौन्दर्य, प्रतिभा र स्वभाव-व्यवहारमा असाधारण प्रतिभा भएकी अद्वितीय व्यक्तित्व हुन्।

आफू रियल स्टेटका ठुला व्यापारी भए पनि वातावरण संरक्षणमा विशेष चासो र चिन्ता लिने प्रकृतिप्रेमी व्यक्ति हुन् आदित्य। मुख्य सहायक भूमिकामा रहेकी रेणु आदित्यकी अति मिलनसार बालसखा हुन् जसले आदित्य र देवयानीको जीवन बर्बाद हुनबाट जोगाउन भरमग्दुर प्रयत्न गरेकी छन्।

रेणु नै व्यावसायिक सम्बन्धको सूत्रधार पनि हुन्- देवयानी र आदित्यबिचमा। यसपछि हरेक प्रोजेक्टमा अब्बल कार्यकुशलता देखाएकी देवयानीप्रति कुन विन्दुबाट प्रेम अङ्कुरण भयो भन्नेमा अनभिज्ञ छन् आदित्य।

आदित्य-देवयानीबिचको सघन भेटले पाठकलाई यी दुईबिच प्रेमिल सम्बन्धको अनुमान गर्न रत्तिभर समय लाग्दैन। तर व्यावसायिक जीवनमा अनेकौँ पटक देशविदेश आवतजावत गरिरहनुपर्ने यिनीहरूबिच अनेकौँ तगाराहरूले पाठकको मनलाई अमिलो बनाउँछन्। तथापि यस उपन्यासमा प्रेमको भावमात्रले यति ठुलो आकार लिएको होइन। यी र यस्ता अनौठो प्रेमका साथ अनेक प्रसंगले कृतिलाई थप पठनीय बनाएको छ।

बोल्नेका मात्र सबै पूरा हुने भए रत्नपार्कमा शिलाजित बेच्नेहरूका सबै रहर पूरा हुनुपर्ने आदित्यको तर्कले व्यावहारिक जीवनमा आदर्शले मात्रै जिउन नसकिने यथार्थ छ प्रस्तुत गरेको छ। यस्तै संसारमा हरेक मान्छेका लागि एक दिनमा २४ घण्टा मात्र हुने तर्क र दृष्टान्तले शाश्वत तथ्यको प्रस्तुति दिएको छ।

‘देवयानी’ उपन्यासले पात्रको मनोविज्ञानलाई विश्लेषणात्मक रूपमा केलाएको छ। मूलतः अन्तर्मुखी व्यक्तिको मनोविश्लेषण सपाट ढंगले गरिएको छ। आदित्य अलिक निकै यस्तो प्रवृत्तिको पात्र देखिन्छ भने देवयानी पनि उसँगको प्रेमको सन्दर्भलाई नियाल्ने हो भने केही हदसम्म उस्तै देखिन्छ। आफ्ना मनका कुरा खुलस्त भन्न नसकेकै कारण प्रभासका नामले साहित्य रचनामा ऊ सक्रिय रहेको देखाइएको छ। आदित्यकी पत्नी माधवीको सन्दर्भले नेपाली महिलाहरूको निरीहता र बाध्यात्मक परिस्थितिको नियति भोगाइ तितो यथार्थ हो। परिवारको खुसीमा आफ्नो लक्ष्यको तिलाञ्जली दिने कैयौँ नेपाली नारीको प्रतिनिधि पात्र हो माधवी। उसले आफू डाक्टर बन्ने सपना त्यागेर बाबुआमाको इच्छामुताबिक सानै उमेरमा बाध्यात्मक वैवाहिक सम्बन्धमा बाँधिएकी छन्।

हुनत महिलाको विवशता र निरीहतामा केन्द्रित उपन्यास हो तथापि उपन्यासकार पुरुषका सन्दर्भमा भन्छन्- ‘पुरुषको आँसु ढुंगा जस्तो हुन्छ, यो सितिमिति आउँदैन तर आयो भने तरल भएर बग्दैन, ठोस भएर जम्छ।’

उपन्यासका अनेकन् परिच्छेदमा आदित्य र देवयानीबिचको प्रणय भाव छचल्किएको सन्दर्भले स्थान पाएको छ। आदित्यले प्रायः पछिल्ला भेटहरूमा देखाएको कामुक शैलीको व्यवहार अलिक अपाच्यजस्तो देखिन्छ तथापि शब्दचयनमा सचेतता अपनाएको देखिन्छ। यसले उपन्यास अशिष्टताको बाटोतिर मोडिनबाट जोगिएको छ।

यसका केही सन्दर्भहरू देवयानीको सुन्तलाको केस्रा जस्ता भरिलो अधरमा लालमोहर लगाएको, आदित्यका औँलाहरू उनका शरीरका अङ्गप्रत्यङ्गमा सलबलाउन थालेको जस्ता सहज नै लाग्छ। अर्कोतिर जीवन दर्शनको गहनतम सन्दर्भ पनि उपन्यासमा भेट्न सकिन्छ। जन्ममरण कुनै व्यक्तिको हातमा तर्क गरिएको छ। मृत्युलाई अर्को जीवनको तयारीका रूपमा परिभाषित गरिएको छ। स्वर्गलाई शान्ति, सुरक्षा, करुणा र सम्मानको द्योतक भएको बताइएको छ। जातपात, ठुलोसानो, धनीगरिब भन्ने कुरा भगवान्ले बनाएको नभएर मान्छेले बनाएकाले छोइछिटोको भेद गर्नु पाप भएको भन्दै विभेदको अन्त्यको खोजी गरिएको छ।

बाध्यता र विवशता जे जस्तो भए पनि माधवी जस्ती कुशल, व्यावहारिक एवम् त्यागी र कर्तव्यनिष्ट महिलाप्रति आदित्यको व्यवहार अनुचित लाग्छ। आफू विवाहित भएको तथ्य लुकाएर वा भुलेर नवयौवना देवयानीप्रति आशक्त हुनु आदित्यको बदमासी हो। ती दुवै हरेक दृष्टिले सही नै थिए। तथापि माधवीलाई त्यागेर आफूलाई स्वीकार्न देवयानीले दिएको दबाव भने पूर्णतः गलत देखिन्छ। अचानक सिंगापुरमा देवयानीसँग भेटिएको विक्रान्त उपन्यासमा भूमिका छोटो भए पनि प्रभावकारी छ। उसैका कारण उपन्यासका पात्रहरूप्रति न्याय भएको छ। देवयानी र माधवी दुवैको जिन्दगी बर्बाद हुनबाट जोगाउन उपन्यासकारले विक्रान्तको उपस्थितिलाई अर्थपूर्ण बनाएका छन्।

पात्रको मनोविश्लेषणमा उपन्यास सबल छ। देवयानीले अन्तर्मनमा आदित्यसँगको भेटको कल्पना गर्दा साँच्चिकै साक्षात्कार भएका प्रसंगहरू यथेष्ट छन्। आदित्य-माधवीको सम्बन्धमा तुसारापात हुँदा बालक छोरीलाई दिल्ली घुमाउने बहानामा स्कुल भर्ना गरिएको दृश्यले पाठकको मन चस्स हुन्छ। आमाबाबुको खराब सम्बन्धले बालबालिकामा पर्ने नकारात्मक बालमनोविज्ञानको जीवन्त चित्रण छ। आधुनिक नेपाली समाजमा अभिभावकको सम्बन्धबाट ‘ट्रमा’ जिन्दगी भोगिरहेका सहरिया बालबालिकाको अवस्थाको कारुणिक सन्दर्भ यथार्थ लाग्छ।

उपन्यासले ४१६ पृष्ठ र एकानब्बे परिच्छेद ओगटेको छ। आयामगत हिसाबले आजको व्यस्त जीवन बाँचिरहेका पाठकका लागि गतिलै आँट चाहिन्छ, तर भाषाशैलीका दृष्टिले कसैले पढ्दापढ्दै थन्क्याउने सोच बनाउँदैन। झिनो कथानक भएको प्रस्तुत उपन्यास सरल, सरस र बोधगम्य भाषिक प्रयोगले सुन्दर बन्न पुगेको छ। सन्देशमूलक यस कृतिमा नारीको सबल उपस्थिति र निर्णायक भूमिकाले पात्रप्रति न्याय गरेको छ। काव्य साधनामा रमाउने स्रष्टा वसन्त चौधरीको पहिलो आख्यान कृतिले उनको लेखनीगत परिपक्वता झल्काएको प्रस्ट हुन्छ।

प्रकाशित: २४ साउन २०८२ १९:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast