
काठमाडौँ- नयाँदिल्लीस्थित नेपाली दूतावासले भारतको उत्तराखण्डमा गएको बाढीपहिरोमा पाँचजना नेपाली हराइरहेको जानकारी गराएको छ। दूतावासले शुक्रबार विज्ञप्ति प्रकाशित गरी उक्त जानकारी दिएको हो। गत बुधबार उत्तराखण्ड प्रदेश पौडी गढवाल जिल्लाको बागोडामा गएको बाढीपहिरोमा पाँचजना नेपाली हराइरहेको विज्ञप्तिमा उल्लेख छ।
‘उत्तराखण्ड प्रदेश पौडी गढवाल जिल्लाको बागोडामा ६ अगस्टमा गएको बाढीपहिरोपश्चात् पाँचजना नेपाली हराइरहेका छन्। घाइते भएका चारजना नेपालीमध्ये उपचारपछि तीनजना घर फर्केको र एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको उत्तराखण्ड प्रहरीलाई उधृत गर्दै दूतावासले उल्लेख गरेको छ।
उत्तराखण्ड प्रदेशअन्तर्गतको उत्तरकाशी जिल्लाको धरालीमा गएको बाढीपहिरोमा हराएका ३७२ जनाको सकुशल उद्धार गरिएको छ। जीवित उद्धार गरिएका तथा मृतकको सूचीमा कुनै पनि नेपाली नागरिक नरहेको जानकारी आएको विज्ञप्तिमा उल्लेख छ।
हराइरहेका नेपालीको खोजी तथा उद्धार, घाइतेको उपचार एवं अन्य आवश्यक सहयोगका लागि दूतावासले निरन्तर रुपमा उत्तराखण्ड सरकारका सम्बन्धित निकाय तथा भारतीय परराष्ट्र मन्त्रालयसँग समन्वय गरिरहेको विज्ञप्तिमा उल्लेख छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भने उत्तराखण्डको बाढीमा हराइरहेका १७ नेपाली कामदारको खोजीका लागि नेपालले भारतसँग कूटनीतिक प्रयास थालेको जानकारी गराएका छन्।
तुर्कमेनिस्तानबाट शुक्रबार फर्कँदै गरेका प्रधानमन्त्री ओलीले फेसबुकमार्फत शोक सन्देश जारी गर्दै भारत सरकारलाई नेपाली कामदारको खोजीका लागि आग्रह गरेका हुन्।
फेसबुकमा उनले लेखेका छन्, ‘छिमेकी तथा मित्र राष्ट्र भारतको उत्तराखण्डमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको दुःखद समाचारले मलाई अत्यन्त मर्माहत बनाएको छ। उक्त बाढीमा १७ भन्दा बढी नेपाली नागरिक परेको जानकारी प्राप्त भएको छ। उनीहरूको उद्धारका लागि दूतावासमार्फत तत्काल कूटनीतिक संवाद गरिएको छ।’
हराइरहेका १७ जनामध्ये १३ जना जाजरकोट जिल्ला र चारजना बर्दिया जिल्लाका भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन्। उनीहरू भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लास्थित धराली क्षेत्रमा मंगलबार दिउँसो आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका हुन्।
जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले रासससँगको कुराकानीमा बाढीपछि हराएका स्थानीयहरूसँग सम्पर्क हुन नसकेको बताएका छन्। बर्दिया जिल्ला प्रशासन कार्यालयले पनि सोही बाढीका कारण बर्दियाका चारजना नेपाली नागरिक हराइरहेको पुष्टि गरेको छ।
उत्तराखण्डमा आरीघोप्टे वर्षाले ठूलो क्षति, नेपालमा यस्तो वर्षाको सम्भावना कति?