पुस्तकमा सामाजिक विकासमन्त्री भण्डारीको एकवर्षे कार्यकाल

हिमाल प्रेस २३ साउन २०८२ १४:१४
4
SHARES
पुस्तकमा सामाजिक विकासमन्त्री भण्डारीको एकवर्षे कार्यकाल

सुर्खेत- कर्णाली सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले आफूले पदभार ग्रहण गरेको एक वर्षमा पूरा गरेको कामको विवरण सार्वजनिक गरेका छन्।

मन्त्री भण्डारीले एक वर्षको अवधिमा सम्पादन गरिएका प्रमुख क्रियाकलाप समावेश गरी ‘जिम्मेवारी, चुनौती र प्रतिबद्धताको एक वर्ष’ नामक समीक्षात्मक पुुस्तक सार्वजनिक गरेका छन्। मन्त्री भण्डारीको सचिवालयले बिहीबार पत्रकार सम्मेलनमार्फत पुस्तक सार्वजनिक गरेको हो।

उनी दैलेख प्रतिनिधिसभा निर्वाचन क्षेत्र न. २ (क) बाट प्रदेशसभामा निर्वाचित भई नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलको निर्णय बमोजिम २०८१ साउन २० गते मन्त्री बनेका थिए।

पुुस्तकमा उल्लेख भएअनुसार मन्त्रीको एक वर्षको समयावधिमै तीनजना सचिव फेरिँदा संस्थागत स्थायित्व र कार्यसम्पादनका दृष्टिले स्थायी सरकारका रूपमा चिनिएको निजामती सेवाको विशिष्ट श्रेणीका सचिवको अस्थायी प्रवृत्तिको सामना गर्नुपरेको थियो।

मन्त्री भण्डारीले भने, ‘उमेर हदका कारण सचिवहरू निजामती सेवाबाट निवृत्त हुनुभएको थियो। सचिवको फेरबदलले राजनीतिक–प्रशासनिक सहकार्यमा जटिलता ल्याउनुका साथै प्रशासनिक अनिश्चितता देखिएको छ। जसबाट कार्यसम्पादनमा संरचनागत, नीतिगत, व्यवस्थापकीय र मनोवैज्ञानिक तहमा विविध प्रभाव परेका छन्।’

उक्त प्रभाव सकारात्मक, नकारात्मक वा मिश्रित प्रकृतिका रहेको मन्त्री भण्डारीले बताए। जनसेवामूलक मन्त्रालयका हिसाबले मन्त्रालयप्रति राजनीतिक एवम् प्रशासनिक नेतृत्वहरू गम्भीर हुन आवश्यक देखिएको उनको भनाइ छ।

कर्णाली प्रदेशको सामाजिक आर्थिक रूपान्तरण गर्ने मन्त्रालयको दीर्घकालीन सोचअनुरूप ३९ वटा कार्यालयमार्फत सेवा प्रवाह हुँदै आएको छ। तर सीमित स्रोतसाधन, जनशक्ति र निश्चित समयमा उल्लेख्य कार्य गर्ने दृढ इच्छाबमोजिम मन्त्रीस्तरबाट गर्नुपर्ने कार्यजिम्मेवारीलाई पूरा गर्ने प्रयास गरिएको मन्त्री भण्डारीले बताए।

कार्यसम्पादन थप प्रभावकारी बनाउन चालुु आर्थिक वर्ष २०८२÷०८३ को थालनीमै साउन ११ गते नै वार्षिक कार्यक्रम सञ्चालन दिग्दर्शन स्वीकृत भई कार्यान्वयनमा आएको छ। मन्त्रालयले डेंगी रोग नियन्त्रण गर्न साउन महिना डेंगी सचेतना महिनाका रुपमा राष्ट्रिय अभियानअन्तर्गत लार्भा खोज र नस्ट अभियान सञ्चालन गरिरहेको छ।

प्रदेश अस्पताल सुर्खेतमा मिर्गौला तथा कलेजो प्रत्यारोपण सेवाजस्ता कामलाई मन्त्रालयले उपलब्धिका रूपमा लिएको छ। कडा रोगमा मेजर अपरेशन गरेका १३१ जना बिरामीलाई प्रतिबिरामी एक लाखसम्मको उपचार सहायता प्रदान गरिएको छ। आगामी आर्थिक वर्षमा कडा रोगमा नयाँ रोग थप गरी रकम उपलब्ध गराइने तयारी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast