
काठमाडौँ- विद्यालय शिक्षा विधेयक, २०८० अन्तर्गत शिक्षकहरूको बढुवाका लागि तीनवटा आधार प्रस्ताव गरिएको छ। प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा आज उक्त प्रस्ताव प्रस्तुत गरिएको हो।
बैठकमा समितिका सभापति अम्मरबहादुर थापाले परामर्श उपसमितिले सहमतिको आधारमा तयार पारेको संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए। उपसमितिले विभिन्न सरोकार पक्षसँगको परामर्शपछि शिक्षकको बढुवासम्बन्धी नयाँ संरचना तयार गरेको हो। नयाँ प्रस्तावमा शिक्षकको बढुवा तीन विधिबाट हुने व्यवस्था गरिएको छ। ती विधिमा आन्तरिक प्रतियोगिता, जेष्ठता र कार्यसम्पादन मूल्यांकन र कार्यक्षमताको मूल्यांकन।
यसअघि विधेयकमा समावेश आन्तरिक प्रतियोगिता र आवधिक (समय आधारित) बढुवाको सट्टा यी तीन संयन्त्र प्रस्ताव गरिएको हो। नयाँ प्रस्तावले बढुवा प्रक्रियालाई बहुआयामिक, पारदर्शी र प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ।
बैठकमा समितिका सदस्यहरू, शिक्षा मन्त्रालयका प्रतिनिधिहरू तथा सरोकारवालाबीच उक्त प्रस्तावमाथि छलफल भइरहेको छ। सहमति कायम भएमा विधेयकलाई छिट्टै अन्तिम रूप दिइने र संसदमा टेबुल गरिने जनाइएको छ।