काठमाडौँ- विद्यालय शिक्षा विधेयक-२०८० लाई अन्तिम रूप दिनका लागि संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सिंहदरबारमा जारी छ।
समितिले विधेयकमाथि उठेका विषयमा अन्तिम छलफल गर्दै आवश्यक संशोधन र सहमतिको प्रयास गरिरहेको छ। शिक्षा क्षेत्रका सरोकारवालाहरूबाट आएको सुझाव, माग र आन्दोलनलाई ध्यानमा राख्दै समितिले विधेयकलाई टुंग्याउने तयारी गरेको हो।
बैठकमा समितिका सदस्यहरूका साथै शिक्षा मन्त्रालयका प्रतिनिधिहरूको पनि सहभागिता रहेको छ। विधेयकमा शिक्षक बढुवा, बालविकास, निजी विद्यालय नियमन लगायतका विषयमा अन्तिम निर्णय हुन सक्ने समिति सदस्य प्रभु हजाराले जनाए।
यसअघि नेपाल शिक्षक महासंघलगायत विभिन्न शिक्षक संगठनहरूले विधेयकमा शिक्षकमैत्री व्यवस्था समावेश गर्न दबाब दिँदै आएका थिए। तर, सरकारको ढिलासुस्तीप्रति असन्तुष्टि जनाउँदै महासंघले नयाँ रणनीति बनाउन बैठकसमेत थालेको छ।