
काठमाडौँ- नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्या भण्डारीले मदन भण्डारी फाउन्डेसनमार्फत राजनीतिक सक्रियता बढाएकी छन्। एमालेको सदस्यता नवीकरण गरेर सक्रिय हुन खोजेकी भण्डारीलाई पार्टीले भने पूर्वराष्ट्रपतिकै हैसियतमा राख्ने निर्णय गरेको थियो।
त्यसपछि पार्टीको पूर्वउपाध्यक्षका हैसियतमा पत्रकार सम्मेलन गरेर उनले आफ्नो उद्देश्य पार्टी सदस्य बन्ने, पार्टीलाई सबल, सुदृढ र एकताबद्ध बनाउने र राजनीतिमार्फत देश र जनताको सेवा गर्ने रहेको धारणा सार्वजनिक गरेकी थिइन्। मुलुक र जनतालाई समृद्ध र सुखी बनाउने अभियान अगाडि बढाउने उनको उद्देश्य छ।
पत्रकार सम्मेलन गरेपछि भण्डारीले सांगठनिक गतिविधि पनि भित्रभित्रै अगाडि बढाइरहेकी छन्। यसका लागि उनले काठमाडौँको थापागाउँस्थित एउटा रातो बंगला भाडामा लिएकी छन्। ‘हामीले मदन भण्डारीको एक वर्षसम्म मदन भण्डारीको हीरक जयन्तीका लागि भनेर नयाँ घर लिएका हौँ। अब यहीँबाट कार्यक्रम अघि बढ्छ,’ हीरक जयन्तीको व्यवस्थापन हेरिरहेका एमाले नेता प्रकाश गौतमले भने, ‘फाउन्डेसनको भवनबाट राजनीतिक कार्यक्रम गर्न केही असजिलो भयो। छेउछाउमा विद्यालय छन्। त्यसैले यहाँ भवन लिएको हो।’
त्यो बंगला पनि फाउन्डेसनकै नाममा भाडामा लिइएको गौतमले हिमालप्रेसलाई जानकारी दिए। भण्डारी निकट नेताहरू उनलाई नेतृत्वमा लैजाने गरी सक्रिय भएका छन्। विद्याका गतिविधि मदन भण्डारीको ७५ औँ जन्मोत्सवका नाममा वर्षेभरि मनाइने उनी निकट नेताहरू बताउँछन्। यसका लागि एमाले नेता डोरमणि पौडेलको नेतृत्वमा ‘जननेता मदन भण्डारी ७५औँ जन्म जयन्ती मूल व्यवस्थापन समिति’ गठन भएको छ। समितिमार्फत हीरक जयन्तीको काम अघि बढेको गौतमले बताए।
फाउन्डेसनले थापागाउँमा भाडामा लिएको घर एमाले नेता विदुर मैनालीको हो। मैनाली काठमाडौँका पूर्वउमेयर हुन्। मदन भण्डारीले २०४८ सालमा साविक काठमाडौँ क्षेत्र नम्बर १ बाट उठ्दा मैनालीको सोही घरबाट प्रचारप्रसार कार्यालय सञ्चालन गरेका थिए।
२०५० सालमा भण्डारीको रहस्यमय निधन भएपछि विद्या भण्डारीले उपनिर्वाचन लडिन्। भण्डारीले समेत सोही घरबाट प्रचारप्रसारका गतिविधि अघि बढाएकी थिइन्। ‘सम्मानीय(विद्या भण्डारी)ज्यूको राजनीतिक करियर अघि बढेको थियो,’ गौतम भन्छन्, ‘अब फेरि यहीँबाट कार्यक्रम अघि बढाउँदै छौँ।’ उनका अनुसार मदनले पुरानो घरबाट प्रचारप्रसार गरेका थिए। सोही घर भत्काएर नयाँ बनाइएको छ। अहिले विद्याले नयाँ घरबाट गतिविधि अघि बढाएकी हुन्। भवनको मर्मतसम्भार र कार्यालय स्थापनाका लागि काम भइरहेको छ।
मदन भण्डारीको ७५ औँ जन्मोत्सवका लागि गठित समितिमा एमालेका काठमाडौँ उपत्यका विशेष समितिदेखि काठमाडौँ, भक्तपुर र ललितपुरका अध्यक्षसमेत छन्। गौतमका अनुसार जन्मजयन्ती मनाउन ०८२-०८३ भर विभिन्न कार्यक्रम गरिनेछ।
हीरक जयन्तीका कार्यक्रम वडास्तरसम्म हुनेछन्। यसमा जनताको बहुदलीय जनवाद (जबज), मदन भण्डारीको योगदानका विषयमा चर्चा गरिने गौतमले बताए। त्यस्तै ०८४ मा भने जन्मजयन्ती कार्यक्रमको समीक्षासहित अन्त्य गरिनेछ। ‘भव्य कार्यक्रम गर्ने भएकाले नयाँ भवन लिइएको हो’, गौतम भन्छन्। भण्डारी निकट नेताहरूका अनुुसार उनी अहिले भित्रभित्रै रणनीति बनाउँदै छिन्। एमालेका ओलीप्रति असन्तुष्ट नेताहरूसँग उनको छलफल चलिरहेको छ।
एमालेको ओली पक्षले सदस्यता नवीकरण नगर्ने भने पनि भण्डारी पक्षधर नेताहरू नवीकरण गराउने पक्षमा लागेका छन्।
‘ईश्वर पोखरेलजीले पनि पनि अबको सचिवालय बैठकमा फरक मत राख्दै हुनुहुन्छ। उहाँ पूर्वराष्ट्रपतिका पक्षमा हुनुहुन्छ’, एमालेका एक नेता भन्छन्, ‘अस्तिको केन्द्रीय कमिटीका बैठकका एजेन्डा अनुमोदनका लागि केही दिनमा सचिवालय बस्दै छ। अब फरक मत राख्नुहुन्छ।’
यसअघिको केन्द्रीय कमिटीको बैठकमा ओलीको आधिकारिक लाइनसँग असन्तुष्ट रहदै एमाले उपाध्यक्ष युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे र स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले फरक मत राखेका थिए। केही समयअघिदेखि भण्डारीको पक्षमा खुलेका पोखरेल भने सोही बैठकमा मौन थिए। तर अब भने उनी फेरि खुल्न लागेका छन्।
एमालेले भण्डारीको पक्षधरता नलिनका लागि मौखिक निर्देशन जारी गरेको छ। एमालेका नेताहरू भण्डारीको एमाले राजनीतिबारे ‘च्याप्टर क्लोज’ भएको बताइरहेका छन्।