
काठमाडौँ- नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को भव्य उद्घाटन काठमाडौँको भृकुटीमण्डपस्थित नेपाल प्रहरी क्लबको सगरमाथा हलमा सम्पन्न भएको छ।
समारोहका प्रमुख अतिथि उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पानसमा दीप बालेर औपचारिक रूपमा प्रदर्शनीको उद्घाटन गरे। कार्यक्रम उद्योग क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, सञ्चारकर्मी, व्यवसायी तथा अटोमोबाइल क्षेत्रका अग्रजहरूको उपस्थितिबीच सम्पन्न भएको हो।
उद्घाटनपछि मन्तव्य दिँदै अर्थमन्त्री पौडेलले नाइमाले छोटो अवधिमै यति ठूलो प्रदर्शनी आयोजना गर्नु उत्कृष्ट कार्यकुशलताको परिचायक भएको बताए। ‘नेपालमा भइरहेको भौतिक विकास उल्लेखनीय छ। गुणस्तरीय सडक पूर्वाधार विना अटोमोबाइल क्षेत्रको सम्भावना पूरा हुन सक्दैन,’ उनले भने,‘सरकार उद्योगमैत्री वातावरण निर्माणमा प्रतिबद्ध छ।’
नाइमा अध्यक्ष ऋतु सिंह वैद्यले उद्घाटन समारोहमा मन्तव्य दिंदै नेपालको अर्थतन्त्रमा अटोमोबाइल उद्योगको योगदान उल्लेख गरिन्। ‘नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो अटोमोटिभ प्रदर्शनीको उद्घाटन गर्दैछौं, जुन सहकार्य, नवप्रवर्तन र दिगो वृद्धिको नयाँ अध्याय हो,’ उनले भनिन्।
वैद्यका अनुसार मोबिलिटी क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा १२ लाख ४० हजारभन्दा बढी रोजगारी सिर्जना गरिरहेको छ। ‘नेपालमा ५५ लाखभन्दा बढी सवारी साधन दर्ता भएका छन् जसले बिक्री, मर्मत, लजिस्टिक्स र पूर्वाधार क्षेत्रमा रोजगारी र आर्थिक योगदान पुर्याइरहेका छन्,’ उनले जनाइन्।
एक्स्पो समितिका अध्यक्ष शिरीष कुमार मुरारकाले यो एक्स्पो केवल सवारीसाधन र प्रविधिको प्रदर्शनी नभई सफा, स्मार्ट र समावेशी यातायात प्रणालीतर्फको सामूहिक प्रतिवद्धताको सुरुवात भएको बताए।। ‘नेपालको मोबिलिटी क्षेत्रको भविष्य निर्माण गर्ने साझा अभियानमा हामी सबैको साथ र सहकार्य आवश्यक छ,’ उनले भने।
५ दिनसम्म चल्ने नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्ड सहभागी छन्। साउन २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि खुला रहने यो प्रदर्शनी बिहान ११ बजे देखि बेलुका ८ बजेसम्म सञ्चालन हुनेछ।
प्रदर्शनीको पहिलो दिनमै १५,००० भन्दा बढी अवलोकनकर्ताहरूको उत्साहजनक उपस्थिति देखिएको आयोजकले जनाएको छ।