
भीमफेदी- मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मकवानपुरको मनहरी गाउँपालिका–६ जोगिताल पुछार टोलमा आज (बुधबार) करेन्ट लागेर एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
आज (बुधबार) बिहान करिब ९ बजे जोगितालस्थित आफ्नै खेतमा बाली जंगली जनावरबाट जोगाउन बनाइएको करेन्टयुक्त तारमा छोइएपछि लालबहादुर मोक्तानको घटनास्थलमै ज्यान गएको हो।
चितवन जिल्ला राप्ती नगरपालिका–१ बसोबास गर्दै आएका करिब ३५ वर्षीय मोक्तानले मनहरी गाउँपालिका–६ स्थित आफ्नै खेतमा जंगली जनावरबाट बाली जोगाउनका लागि नांगो विद्युत् तारमा हुक जोडेर करेन्ट प्रवाह गराएका थिए। खेतको निगरानीका लागि गएका उनी ती तारमा छोइएर मृत्यु भएको प्रहरी चौकी सुनाचुरीले जनाएको छ।
प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए।