एसईई र कक्षा १२ को परीक्षाफल

केटाकेटीले पढ्न जानेनन्, शिक्षकले पढाउन पनि जानेनन् : प्रा.डा. विद्यानाथ कोइराला [अन्तरवार्ता]

रमेश दवाडी २२ साउन २०८२ ११:२२
270
SHARES
केटाकेटीले पढ्न जानेनन्, शिक्षकले पढाउन पनि जानेनन् : प्रा.डा. विद्यानाथ कोइराला [अन्तरवार्ता]

यही साउन १९ गते कक्षा १२ को परीक्षाफल सार्वजनिक भयो। यस वर्ष कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् जुन गत वर्षको ५२.१२ प्रतिशतभन्दा उल्लेख्य वृद्धि हो। त्यस्तै गत २१ असारमा सार्वजनिक भएको एसईईको परीक्षाफलअनुसार ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भए। गत वर्ष ४८ प्रतिशत उत्तीर्ण भएका थिए। नतिजा वृद्धि भएको भन्दै मुलुकभर शिक्षा प्रणालीको अवस्था, सुधारको दाबी र गुणस्तरबारे बहस चुलिएको छ। एसईई र कक्षा १२ को परीक्षा सुरु हुनुअगाडि र परीक्षा भइरहँदा पनि शिक्षा ऐन माग गर्दै लाखौँ शिक्षक काठमाडौँको सडक आन्दोलननमा थिए। त्यसैले पनि परीक्षाफलमा आएको सुधारलाई आशंका पनि गरिएको छ। कतिपयले  त प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी शिक्षकको आलोचना गरेपछि शैक्षिक प्रशासन नै  विद्यार्थी पास गराउन माथिदेखि नै सक्रिय रहेको शंका गरेका छन्। यिनै विषयमा शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइरालासँग गरिएको कुराकानी :

कक्षा १२ को नतिजामा सुधार (गत वर्ष ५२.१२ प्रतिशत र यस वर्ष ६१.१७) देखिएको भनिँदै छ।  सुधार भएकै हो? कारण के होला?

विद्यार्थीले पढ्ने कला जाने। किनभने पहिलाको र अहिलेको प्रश्न उस्तैउस्तै भएको थाहा पाए। त्यो एउटा सकारात्मक कुरा हुन सक्छ। दोस्रो कुरा, विद्यार्थीले कम्युटरबाट सिक्ने तरिका पनि जाने। उत्तर खोज्ने तरिका जाने। दोस्रो उपाय यो हुन सक्छ। तेस्रो कुरा के हुन सक्छ भने शिक्षकले प्रश्न झिक्दा सजिलो बनाए। जोचाहिँ कक्षा १० को भन्दा पनि सतही भयो। हाम्रा शिक्षक चोराउन पनि जान्नुहुन्छ र विद्यार्थी पनि चोर्न सिपालु हुनुहुन्छ। सबै ठाउँमा भन्दिनँ। केही ठाउँमा गत साल पनि नम्बर बढ्यो। नम्बर बढ्नु भनेको यान्त्रिक कुरा हो। मचाहिँ यान्त्रिक कुरालाई ठूलो उपलब्धि भन्दिनँ। किनभने ‘क्रेडिट आवर’  पद्धतिमा विद्यार्थी फेल हुनु भनेको बर्बाद हो। क्रेडिट आवर भनेको फेल हुने पद्धति होइन। हामीले त के बुझ्न जानेनौँ भने क्रेडिट आवरको कुरा पनि गर्छौँ अनि फेल र पासको कुरा पनि गर्छौँ। यो भन्न नहुने कुरा हो। क्रेडिट आवरको विशेषता के हुन्छ भने मैले अंग्रेजी फेल गरेँ, जस्तो अहिले अंग्रेजीमा, लेखामा, सामाजिकमा, नेपालीमा फेल भए भनिन्छ नि! मलाई अंग्रेजी पढ्न मन छैन भने अंग्रेजी नपढे पनि पास हुने बनाउन मिल्दैन? त्यो त गरेको देखिँदैन नि।

यहाँले एसईईलाई पनि जोड्नुभएको हो?

एकदम ठिक भन्नुभयो। किनभने १०, १२ र ८ को एउटै कुरा हो। यिनीहरूलाई ‘सेल्फ टर्मिनेटिङ एक्जाम’ भन्छन्। त्यो भनेको कक्षा १० पछि कोही नपढ्ने पनि हुन सक्छन्, १२ कक्षापछि कोही नपढ्ने पनि हुन सक्छन् र ८ कक्षा पनि कोही नपढ्ने हुन सक्छन्। त्यसैले तिन्ले गरिखाने सीप जान्नुपर्छ भन्ने हो। त्यो ढंगबाट हेर्ने हो भने हामीले गरिखान सिकाएका छौँ त? प्रश्न त्यहाँनेर आउँछ।

विषयगत रूपमा हेर्दा कक्षा १२ को नेपालीजस्ता विषयमा पनि धेरै अनुत्तीर्ण देखिएका छन्। कारण के होला?

यसको कारणचाहिँ म कसरी देख्छु भनेदेखि केटाकेटीले पढ्न जानेनन्, शिक्षकले पढाउन पनि जानेनन्। मैले दुईवटैलाई दोष लगाएँ। पढ्न जानेनन् कसरी भने नेपाली त आफ्नो भाषाबाट पढ्छन् नि! मगर केटाकेटीले नेपाली पढ्नुपर्‍यो भनेदेखि त मगरको चिन्तन ल्याउँछ। व्याकरण त्यसैगरी ल्याउँछ। तामाङका केटाकेटीले बाउ पनि आयो र आमा पनि आयो भन्नु भनेको नौलो होइन। किनभने उनीहरूको व्याकरणमा त्यही हुन्छ। नेपाली व्याकरणमा आमा आइन्, बाउ आए भन्नुपर्‍यो वा आउनुभयो भन्नुपर्‍यो। शिक्षकलाई त्यसबारेमा जानकारी छैन। शिक्षकले के थाहा पाउनुपर्‍यो भने विद्यार्थीले बोल्ने भाषामा कुन कुरो गराइ छ? उसको भाषाबाट यतातिर ल्याउँदा के जोड्नुपर्ने रहेछ? दोस्रो, विद्यार्थीले कसरी गर्ने हो कला थाहा पाउँदो रहेनछ। यी दुईवटै कारणले गर्दा गाह्रो भएको हो। त्यसैले म के भन्छु भने केटाकेटीले पढ्ने कला पनि जानेनन्, शिक्षकले पढाउने कला जानेन्। त्यसको परिणति विद्यार्थी फेल भएका हुन्।

गुणस्तरमा सुधार भएको जस्तो लाग्छ यहाँलाई? गुणस्तर सुधारमा के गर्नुपर्ला?

मज्जाको कुरा ल्याउनुभयो। भर्खरै मात्रै हामीले बागमती प्रदेशका निम्ति डा. रूप मुनकर्मी र म मिलेर के बनायौँ भनेदेखि यो गुणस्तरको मानक भनेको के हो साँच्चै? पाठ्यक्रमलाई कति दिने होला? अहिलेको प्रविधि कति जान्नुपर्ने होला? पुर्खाको कुरा कति जान्नुपर्ने होला? अनुसन्धान कति जान्नुपर्ने होला? सिद्धान्त र व्यवहार कति मिलाउनुपर्ने होला? रैथाने ज्ञान कसरी आर्जन गर्नुपर्ने होला? गरिखाने कसरी होला? यी सबैको आधार हामीले बनाएका छौँ। गुणस्तरको मानकमा के खोज्नुपर्ने रहेछ भने त्यो मानकमा म आफू कहाँ छु? विद्यार्थीले स्वमूल्यांकन फाराम बनाउनुपर्ने। जसको निम्ति कक्षा ३, ५, ८, १०, १२ मा हामीले वकालत गरिरह्यौँ। तर अहिलेसम्म पनि सरकारका मानिसले चिन्तन नै गर्न चाहेनन्।

एसईई र कक्षा १२ को नतिजालाई कसरी तुलना गर्न सकिन्छ? यसले के देखाउँछ?

विद्यार्थी पास हुँदा रहेछन्, पास गर्ने कला जाने। तर उनीहरूले गरिखाने कला जानेनन्। हाम्रा ज्ञान व्यावहारिक भएनन्, वैज्ञानिक भएनन् भन्नचाहिँ जाने। कसरी बनाउने भन्नेचाहिँ जानेनन्। यही देशमा सम्भावना छ है, मेरो आँखाको अगाडि केराको बोट देखिरहेको छु, त्यो केराको हरेक चिज काम लाग्दो रहेछ भन्नेचाहिँ कसरी बनाउने? केराको पात कति राम्रोसँग उपयोग गर्दा रहेछन् गाईबस्तुहरूलाई खुवाउनका निम्ति! केराको पातको उपयोगितबारे चाइनिजलाई हेरे पुग्छ। पात जम्मा पार्ने, मेसिनमा खरर काट्ने। त्यसमा अलिकति घाँस मिसाएपछि बस्तुले मज्जाले खाँदो रहेछ। प्रत्येक चिजलाई उपयोग गर्ने कला हाम्रा विद्यार्थीले जाने त? यही नेपालमा सम्भावना छ है, युरोप, अमेरिका, अस्ट्रेलिया, साउदी, कोरिया, जापान जान पर्दैन। अर्काको देशमा भरिया र करिया हुन जान पर्दैन। भरिया भनेको भारी बोक्न जाने हो। करिया भनेको आदेश मान्ने हो। त्यसका निम्ति जानुपर्दैन भन्ने किसिमको कुरो कसले गर्ने हो? त्यो बारेमा छुटिराछ।

जो विद्यार्थीले पास गरेर जान्छ, म हप्तामा दुई दिनमात्रै पढ्छु, अहिले मलाई कमाउनुपर्छ भनेर भन्यो भने कलेज खोइ? त्यो कलेजको कुरा पनि हाम्रो मान्छेले सोच्दो रहेनछन्। हाम्रा मानिस कति रूढि रहेछन् भने कुरा त क्रान्तिकारी गर्छन्। मैले भ्रान्तिकारी भन्ने गर्छु। ‘तपाईँहरू भ्रान्तिक्रारी हो। नाउँ क्रान्तिकारी गर्नुभयो, शुभकामना भन्छु।’

भ्रान्तिका कुराचाहिँ गर्दा रहेछन्, क्रान्तिका कुराचाहिँ गर्दैनन्। मान्छे मार्नुलाई क्रान्ति भनिँदैन नि। त्यो भनेको त मान्छे मार्ने नै हो। क्रान्ति भनेको त विचार हो। विचारको क्रान्ति भनेको त लचिलो स्कुल कसरी बनाउने, लचिलो क्याम्पस कसरी बनाउने हो? विद्यार्थीले एक महिनामा दुई हप्ता मात्रै पढ्छु, दुई साता काम गर्न जान्छु भन्छ भने त्यसको निम्ति बाटो के गरिदिने हो? विद्यार्थीले पढ्दैखेरी मोटर पनि चाहियो, घर पनि चाहियो, जमिन पनि चाहियो। सारा चाहियो भनेदेखि उसलाई ऋण दिने र १०, १५ वर्षमा तिर्ने व्यवस्था के गरी बनाउने हो? योबारेमा साच्ने हो भने यसले बाटो लिन्छ। सोच्न बाध्य गराउँछ। तर नेतृत्वमा त्यो बुद्धि छ भन्ने पत्यार छैन।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ७० प्रतिशत पास गराउने दाबी गर्दाको असर उत्तरपुस्तिका परीक्षणमा देखिएको हो?

हो नै त्यही हो। उहाँले त मलाई जवाफ नै दिनुभएको हो। मैले भनेँ, चोर्ने-चोराउने दुवै किसिमको छ। कृपांक पनि हाल्ने चलन छ। दुवै काम भएपछि गडबड हुँदैन त भनेँ। केही विद्वान्‌हरूले यसरी भन्नुभयो भनेर संसद्‌मै भाषण ठोक्नुभयो। एम्बिसन गुरुले गर्दा गज्जब भएको हो भन्ने उहाँको दाबी हो। त्यसलाई उहाँले हाइलाइट गर्न खोज्नुभयो। उहाँले हाइलाइट गरिदिएपछि के असर गरेछ भने परीक्षा बोर्डलाई तिमीहरूले प्रश्नहरू अलि सजिला बनाऊ भन्ने संकेत उनीहरूले पाए। कापी जाँच्ने बेलामा पनि तपाईँहरूले विचार गर्नुहोला भन्ने संकेत पाए। यी दुई संकेतले गर्दा पनि नतिजा प्रतिशत बढेको पनि हो।

सरकारी शिक्षकप्रति त प्रधानमन्त्री त्यति सकारात्मक देखिँदैनन् नि?

ठिक भन्नुभयो। राजनीतिज्ञलाई अब शिक्षक घाँडो भयो। शिक्षकले पनि राजनीतिज्ञलाई घाँडो भयो भनेर बुझ्नुपर्ने हो। यी दुईले एकअर्कालाई घाँडो भयो भनेर बुझ्ने हो भने विद्यार्थीलाई कल्याण हुन्छ। विद्यार्थीलाई कल्याण नभएको घाँडो भन्ने नबुझेर हो। शिक्षकलाई राजनीतिज्ञले किन संरक्षण गर्छ भने त्यसले नोट दिँदो रहेछ, भोट दिँदो रहेछ। नोट र भोटका निम्ति अभ्यस्त भएको हुनाले राजनीतिज्ञले त्यसलाई सम्मान गरेर बसे। त्यसैले गर्दा आफ्नो दलभन्दा पर जान दिएनन्। शिक्षकले किन दल खोज्छ भने उसले नपढाए पनि संरक्षण गरिदिने राजनीतिज्ञ रहेछ।

अहिले सरकारी स्कुलको नतिजा जुन आयो त्यो नतिजा कमजोर भयो भनेर शिक्षकलाई गाली गर्‍यो, बर्बाद रहेछ। प्रधानमन्त्रीले पहिला त गाली गरिदिनुभयो। ४८ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउनेलाई तलब बढाउने? भन्नुभयो। पछि चाहिँ ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुन्छन् भनेर गफ लगाइदिनुभयो। यो त शिक्षकहरूले गर्‍या हो भनिदिनुभयो। प्रविधिले गरेको हो पनि भन्नुभयो।

प्रधानमन्त्रीले भनेको कुराले अर्को संकेत गर्‍यो। विद्यार्थी त शिक्षक होइन प्रविधिसँग पो पढ्दो रहेछ। त्यसो भए अब शिक्षकमा लगानी होइन प्रविधिमा लगानी भन्ने किसिमको चिन्तन भयो। त्यसरी सोच्ने हो भने प्रधानमन्त्रीको सद्बुद्धि पलाए हुन्थ्यो। शिक्षकको विकल्प प्रविधि होइन। शिक्षक सहायक हो। प्रविधि पनि सहायक हो। एकअर्कोलाई सिक्ने सिकाउने कुरा गरे भयो। त्यसरी भनिदिए पो शिक्षक बिस्तारै बन्थ्यो।

मलाई लाग्छ, शिक्षकका निम्ति समस्याचाहिँ पदोन्नति, सम्मान, सुविधा वा नपढाए पनि सम्मान पाउने किसिमको तरिका हो। राम्रो गर्ने शिक्षकलाई अगाडि ल्याउन पनि सकिएन। हाम्रो प्रणालीले त्यो काम  गरेन। त्यसले गर्दा शिक्षक निराश भएको निश्चित हो। मैले माओवादी संगठनका एकजना सज्जनसँग भनेँ, शिक्षकले यही कुरा गरेर देश बन्छ? अब त शिक्षकले भोलिको विद्यार्थीलाई कसो गर्ने भन्नेबारेमा खोइ संवाद शिक्षकको? विद्यार्थीलाई गरिखाने बनाउने कसरी हो? पढ्दै कमाउँदै वा कमाउँदै पढ्दै कसरी गर्ने हो? त्यसबारेमा शिक्षकले कुरा गर्न पर्दैन? पेसागत संगठनले यो कुरा गर्नुपर्ने होइन? यो समस्या समाधान भएपछि बल्ल होला भन्नुभयो। राजनीतिज्ञलाई मैले पीपलपाते भन्छु। त्यो भनेको के हो भने जता हावा लाग्छ त्यतैतिर फर्किने। हावा जतापट्टि छ त्यतापट्टि फर्किदिएपछि ठिक हुन्छ भन्ने दृष्टिकोण राखेको हुनाले प्रधानमन्त्रीले त्यसरी बोल्नुभएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast