नाउपा-जनमत विग्रह!

हिमाल प्रेस २१ साउन २०८२ २१:४०
26
SHARES
नाउपा-जनमत विग्रह!

काठमाडौँ- गत वर्ष चैत २१ मा गठित ‘संघीय लोकतान्त्रिक मोर्चा’ मा ६ महिना नपुग्दै खटपट सुरु भएको छ। मधेश केन्द्रित दलहरूले साझा एजेन्डालाई बल पुर्‍याउन गठन गरेको लोकतान्त्रिक मोर्चामा खिचातानी सुरु भएको हो।

गठनकै बेला पनि दलहरूबीच नेतृत्व लिन दौडधुप नभएको होइन। एजेन्डा नमिलेको भन्दै अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) त मोर्चामै समाहित भएन। सुरुमा विवाद आए पनि मोर्चा सक्रिय भयो।

मोर्चामा रहेका जनमत पार्टी, जसपा नेपाल, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तमलोपाले सबैले सामूहिक हिस्सेदारका रूपमा कार्यक्रम अघि बढाए। मोर्चाको सचिवालय समेत गठन भयो। अहिले मोर्चामा फेरि असन्तुष्टि बढेको छ।

रूपन्देही ३ को उपनिर्वाचनमा उम्मेदवार उठाउने विषयमा विवाद बढेको हो। साझा उम्मेदवार उठाउन मोर्चाका अधिकांश दल सहमत भए पनि सीके राउत नेतृत्वको जनमत पार्टीले असहमति जनाएको थियो।

मोर्चाका नेताहरूका अनुसार रूपन्देहीमा रेशम चौधरी नेतृत्वको नाउपाबाट उठाउने सहमति भएकोे थियो। बुधबार पनि रूपन्देहीमा मोर्चाले कार्यक्रम गरेको छ। जहाँ नाउपाका तर्फबाट रेशम आफैँ सहभागी छन् भने जनमतका कुनै नेता सहभागी छैनन्।

‘हामीले जनमतकै आधारमा पनि नाउपालाई दिने भन्ने छलफल चलाएका थियौँ’, एक नेता भन्छन्। जनमत पार्टीले भने आफ्नो उम्मेदवार हुनुपर्ने अडान राखेको थियो। नाउपाबाट मोर्चाको उम्मेदवार अघि सार्ने संकेत बुझेपछि जनमत अहिले मोर्चाप्रति निष्क्रिय छ।

‘जनमतका नेताहरू तीनपटकका मिटिङमा आउनुभएको छैन। किन नआउनुभएको हो, थाहा छैन’, मोर्चाका एक नेता भन्छन्। जनमत पार्टीले भने केही प्राविधिक कारणले मोर्चामा भाग नलिएको बताएको छ। ‘केही कुराहरू आएका छन्। जसमा छलफल भएका छन्’, जनमतका महासचिव चन्दन सिंह भन्छन्।

मोर्चाका एक नेताका अनुसार जनमत मोर्चा छाडेको बताउँछन्। ‘ठूलो फैसला गरेर मोर्चा छाड्ने कुरा हुँदैन। आउन छाडेपछि बुझ्नुहोस् न। उहाँहरू हुनुहुन्न अब’, ती नेता भन्छन्। जनमत भने मोर्चा छाडेको विषयमा मौन छ। जनमतका एक नेताका अनुसार रूपन्देहीको उपनिर्वाचनलाई लिएर आफूहरू मौन रहेको बताउँछन्। ‘मोर्चाभित्रका धेरै कुरा छन्। अहिले नै बोल्न मिल्दैन’, ती नेताले भने।

जनमत-नाउपा एकता होइन मोर्चामै खटपट!

गत वैशाख १७ मा जनमत–नाउपा एकता घोषणा थियो। दुवै दल एकताका लागि राष्ट्रियसभामा पुगेका थिए। तर रेशम चौधरी पक्राउ परेको विषयले एकाएक एकता प्रक्रिया भाँडियो।

पुरानो मुद्दाका कारण चौधरीमाथि पक्राउ पुर्जी जारी भएको प्रहरीको दाबी थियो। तर ‘फेक पक्राउ पुर्जी’ बनाएर रेशममाथि पक्राउ पुर्जी जारी गरिएको थियो। उनीहरू दुवै दलले रेशमको पक्राउप्रति खेद व्यक्त गरे। त्यसै दिन उनी रिहाइ भए। दुवै दलले रेशम पक्राउले एकता रोकिएको दाबी गरेका थिए।

उनीहरूले फेरि एकताको प्रयत्न गरेनन्। अहिले तिनै दलहरू एउटै मोर्चामा समेत नअटाउने अवस्थामा पुगेका छन्। जनमत मोर्चाबाट बाहिरिएमा नाउपा नै कारक बन्नेछ। ‘रेशम पक्राउले मात्र पनि एकता प्रक्रिया रोकिएको होइन। अन्य विविध कारण छन्’, जनमतका एक नेता भन्छन्, ‘नाउपा दुई धार छ। हामीलाई मिलाउन नै सकस पर्छ।’

उनका अनुसार रेशम चौधरी र पूर्वअध्यक्ष रञ्जिता श्रेष्ठका तिक्तताका कारण पनि एकता प्रक्रियामा सकस आएको थियो। अहिले रूपन्देहीको चुनावका विषयमा पनि दुवै दलको अडान समान छ। नाउपा उम्मेदवार उठाउन चाहन्छ भने जनमत पनि उही अडानमा छ। दुवै दलको अडानले उनीहरूबीच खिचातानी बढेको छ।

दुवै दलमा आन्तरिक किचलो

जनमत र नाउपा दुवैमा आन्तरिक किचलो तीव्र छ। नाउपामा अध्यक्ष रहेकी रञ्जितालाई भ्रष्टाचार मुद्दामा आरोपित भएकै निहुँमा साधारण सदस्यबाट पनि हटाइएको छ। रेशमले श्रीमतीसमेत रहेकी रञ्जितालाई अध्यक्षबाट हटाएर बुवा लालवीर चौधरीलाई बनाएका थिए। रेशम जेलबाट छुटेपछि रञ्जितासँग तिक्तता आएको थियो।

अन्ततः विवादकै कारण रञ्जिता पार्टीबाटै निस्कासनमा परेकी छन्। जनमतमा समेत आन्तरिक किचलो छ। पार्टीमा अनुशासनविपरीत काम गरेको भन्दै पार्टीले केन्द्रीय उपाध्यक्ष दीपककुमार साह, कोषाध्यक्ष सुरेन्द्रनारायण यादव र केन्द्रीय सदस्य वीरेन्द्र साहलाई निलम्बन गरेको थियो।

राउतले दाजु जयकान्त राउतलाई जिम्मेवारी दिन खोजेको कारण विवाद भएको थियो। परिवारभित्रको व्यक्ति ल्याइएको भन्दै जनमतमा असन्तुष्टि बढेको थियो। आन्तरिक कारणले पनि दुई दल एक हुन नसकेको नेताहरूको भनाइ छ।

प्रकाशित: २१ साउन २०८२ २१:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast