
काठमाडौँ- विद्यालय शिक्षा विधेयक-२०८० अन्तिम चरणमा पुगेको छ। सिंहदरबारमा राजनीतिक परामर्श समितिको बैठक जारी रहेको र उक्त बैठकबाट आजै विधेयकलाई टुंग्याउने तयारी भइरहेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सदस्य सरिता भुसालले जानकारी दिइन्।
भुसालका अनुसार मंगलबारदेखि नै बैठक चलिरहेको छ भने आजको बैठक निर्णायक बन्ने अपेक्षा गरिएको छ। उक्त विधेयक चालु संसद् अधिवेशनमै प्रतिनिधिसभामा प्रस्तुत गरिने तयारी भइरहेको छ।
विधेयकमा सहमति जुटाउन समिति सभापति अम्मबहादुर थापाको पहलमा परामर्श समितिको बैठक बसेको हो। समितिमा सहमति जुटेपछि शिक्षा समितिको औपचारिक बैठक बोलाइने र विधेयक पारित गरिने सभापति थापाले जानकारी दिए।
विधेयकमा शिक्षकहरूको बढुवा प्रक्रिया, बालविकास सहजकर्तालाई ‘शिक्षक’को मान्यता दिने जस्ता विषयमा सहमति जुटाउने प्रयास भइरहेको छ।
स्रोतका अनुसार अधिकांश विवादित बुँदामा सहमति नजिक पुगिएको छ। परामर्श बैठकमा दलीय आधारमा शिक्षा समितिकै सदस्यहरू उपस्थित छन्।
सरकार शिक्षा ऐन नल्याएर शिक्षकविरुद्ध मिडियाबाजीमा उत्रियो : नानुमाया पराजुली [अन्तरवार्ता]