
सुर्खेत- कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले विभिन्न महत्त्वपूर्ण निर्णय गर्दै प्रशासनिक तथा विधिक पक्ष सुदृढीकरणतर्फ कदम चालेको छ।
बैठकले प्रदेशसभाको छैटौँ अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। यो अधिवेशन कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालअन्तर्गतको हो।
प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहका अनुसार बैठकले प्रदेश सचिव ढोलकराज ढकाललाई सामाजिक विकास मन्त्रालयमा काजमा खटाउने निर्णय गरेको छ। ढकाल यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थिए।
त्यस्तै, सर्वोच्च अदालतको परमादेशअनुसार जाजरकोटको जुनिचाँदे गाउँपालिकाको प्रशासनिक केन्द्र वडा नम्बर ४ लुहादहमा तोक्न नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय पनि बैठकले गरेको छ।
पत्रकारिता क्षेत्रको सशक्तीकरणका लागि ‘पत्रकारिता पुरस्कार वितरण कार्यविधि, २०८२’ स्वीकृत गरिएको छ। साथै, सूचनाको हक कार्यान्वयनको प्रभावकारिता मूल्यांकन गर्न शासकीय सुधार महाशाखाका सचिवको संयोजकत्वमा ‘कर्णाली प्रदेश सूचनाको हक अनुगमन समिति’ गठन गरिएको छ।
उक्त समितिले प्रदेशका विभिन्न कार्यालयहरूमा सूचनाको हक लागू भएको नभएको विषयमा अनुगमन गर्नेछ।