
काठमाडौँ- भारतको उत्तराखण्ड राज्यमा पर्ने उत्तरकाशी जिल्लाको खिर गंगा नदीमा क्लाउडब्रस्ट (आरीघोप्टे वर्षा) पछि आकस्मिक रूपमा आएको बाढीले धराली बजारमा क्षति पुगेको छ। समुद्र सतहबाट ८,६०० फिट उचाइमा रहेको यस पर्यटक स्थलमा तीव्र बाढीको बहावले बजार, होटल र आवासीय भवनहरू केही क्षणमै बगाएर लगेका छन्।
प्रत्यक्षदर्शीले खिचेका भिडियोमा विशाल बाढीका भँगालाहरू तीव्र गतिमा फैलिँदै मानिस र घरलाई बगाउँदै लगेको देखिन्छ। सामाजिक सञ्जालमा फैलिएका भिडियोमा स्थानीय बासिन्दाको चिच्याहट र मानिसहरू माथिल्लो भूभागतर्फ भाग्ने हतारमा देखिन्छन्।
धमिलो पानीका भेलहरू गाउँको सडक हुँदै भवनहरूलाई भग्नावशेषमा परिणत गर्दै बासिन्दालाई ज्यान जोगाउन दौडन बाध्य पारेको थियो। दुर्घटनामा कम्तीमा चारजनाको मृत्यु भएको पुष्टि भएको छ भने करिब ५० जना हराइरहेको उत्तराखण्ड प्रहरी प्रशासनलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बाढीमा २५ वटा होटल, गेस्ट हाउस र घरहरू पूर्ण रूपमा नष्ट भएका छन्।
अधिकारीहरूका अनुसार घटनापछि तत्कालै उद्धार कार्य सुरु गरिएको थियो। राज्य विपद् प्रतिकार बल, भारतीय सेना र स्थानीय प्रशासनका टोलीहरूले बाँचेकाहरूको खोजी र भग्नावशेष हटाउने कार्यमा जुटेका छन्। स्थानीय बासिन्दा राजेश पंवारले भारतीय सञ्चार संस्था प्रेस ट्रस्ट अफ इन्डियासँग भने, ‘करिब १०–१२ जना भग्नावशेषमा हराएका हुन सक्छन्।’
पीडित क्षेत्रमा बासिन्दाहरू स्तब्ध छन्। धेरै परिवार विस्थापित भएका छन् र व्यवसायहरू भग्नावशेषमा परिणत भएका छन्। वर्षा जारी रहँदा उद्धार, पुनर्वास र थप जोखिम न्यूनीकरणमा केन्द्रित छ।
उत्तराखण्ड सरकारका अनुसार उत्तरकाशीमा भएको घटनापछि हालसम्म १३० जनाको उद्धार गरिएको छ। भारतीय सेना, भारत–तिब्बत सीमा पुलिस र राष्ट्रिय विपत्ति सम्बोधन बलका टोलीहरूले संयुक्त रूपमा उद्धार कार्य गरिरहेका छन्। भारतीय सेनाका अधिकारीहरूका अनुसार हरसिल क्षेत्रमा भएको घटनापछि तल्लो हरसिलको एक शिविरबाट ८ देखि १० सैनिक बेपत्ता भएका छन्।
उद्धारका लागि आइबेक्स ब्रिगेडका सैनिक परिचालन गरिएको छ। यसैगरी स्थानीय प्रशासनसँग मिलेर नागरिकको उद्धार र क्षतिको विवरण संकलन भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
बाढीका कारण उत्तरकाशी जिल्लामा उत्तरकाशी-हरसिल सडकका धेरै भाग अवरुद्ध भएका छन्। अवरुद्ध क्षेत्रको भग्नावशेष हटाउन र सडक खुलाउने प्रयास जारी भएको छ। सडक बगाएको थियो। धेरै मानिस हराइरहेका छन् भन्ने आशंका छ।
हरिद्वार, नैनीताल, उधमसिंह नगर, रुद्रप्रयाग, चमोली र पिथौरागढमा समेत वर्षाप्रति उच्च सतर्कता अपनाइएको छ। भारतीय मौसम विभागले साउन २५ गतेसम्म हिमाली क्षेत्रमा लगातार भारी वर्षा हुने पूर्वामानुमान गरेको छ। अधिकारीहरूले स्थानीयबासी र पर्यटकलाई सतर्क रहन तथा बाढी वा पहिरो सम्भावित क्षेत्रमा नजान आग्रह गरिएको छ।
खिर गंगा नदीमा आएको आकस्मिक बाढीले यहाँको प्राचीन ‘कल्प केदार’ शिव मन्दिरलाई भग्नावशेषमा परिणत गरेको छ। मन्दिर यसअघिको कुनै प्राकृतिक विपत्तिपछि धेरै वर्षसम्म भूमिगत थियो र टुप्पो मात्र बाहिर देखिने गरेको बताइन्छ। सन् १९४५ मा गरिएको उत्खननमा यो मन्दिर पुनः फेला पारिएको थियो। भूमिगत सतहबाट धेरै फिट माटो खनेर भेटिएको यस प्राचीन शिव मन्दिरको बनावट केदारनाथ मन्दिर जस्तै छ।
मन्दिर जमिनको सतहभन्दा तल रहेको हुँदा भक्तजनले पूजा गर्न तल झर्नुपर्थ्यो। स्थानीयका अनुसार खिर गंगाको केही पानी सधैँ मन्दिरको गर्भगृहमा रहेको ‘शिवलिंग’मा बग्ने गर्थ्यो र त्यसका लागि बाटो पनि बनाइएको थियो।
खिर गंगा नदी
उत्तरकाशीस्थित भागीरथी नदीको सहायक खीर गंगा नदीमा प्रायः बाढी आउने गरेको छ। श्रीकण्ठ पर्वतको शिखरबाट निस्किने यो नदी विगतदेखि नै विध्वंसकारी बाढीका कारण कुख्यात रहिआएको छ। यसको पानी शान्त देखिए पनि यसले विगतमा पनि धेरै दुर्घटना निम्त्याएको छ। उन्नाइसौँ शताब्दीमा आएको भीषण बाढीमा परेर आसपासका सयौँ संरचनाहरू बगाएका छन्। सन् २०१३ र २०१८ मा पनि आएको बाढीले ठूलो क्षति पुर्याएको थियो। सन् २०१८ मा खिर गंगामा आएको बाढीले गंगोत्री राजमार्गमा क्षति पुगेको थियो।
गोमुखबाट निस्किने गंगा (भागीरथी) नदीमा विभिन्न सानाठूला सहायक नदी मिसिन्छन्। धरालीको आसपास भागीरथी नदीमा खिर गंगा मिसिन्छ।
के हो आरीघोप्टे वर्षा?
‘क्लाउडब्रस्ट’ को नेपाली रूपान्तर बादल विस्फोट हुने या बादल फाट्ने भनेर बुझिन्छ। मौसमविद् गोविन्दप्रसाद झा यसलाई नेपालीमा आरीघोप्टे वर्षा भन्ने गरिएको बताउँछन्।
जलवायुविद् डा. धर्मराज उप्रेतीका अनुसार यस्तो वर्षा सीमित क्षेत्रमा अत्यधिक हुन्छ। बादलमा जमेर बसेको पानी प्रतिघण्टा १०० मिलिमिटरभन्दा बढीका दरले १० देखि २० वर्गकिलोमिटर क्षेत्रफलभित्र पर्नु नै ‘क्लाउडब्रस्ट’ हो
उप्रेतीले भने, ‘तल्लो तटीय क्षेत्रबाट उठेको बादल बाष्पीकरण भएर माथिल्लो क्षेत्रमा जान्छ र त्यहाँको बादलसँग ठोकिन्छ। माथिको चिसो बादलले तलबाट पानीसहित गएको बादललाई माथि जान दिँदैन। त्यस क्रममा एक खालको तालजस्तै बन्छ। त्यति नै बेला विस्फोट हुन्छ र एकै ठाउँमा ठूलो पानी पर्छ।’
उनका अनुसार पानीको भार बादलले थेग्न नसक्दा विस्फोट भएर एकैचोटि धेरै झर्छ। ‘एकै ठाउँमा भारी वर्ष हुँदा जमिनले पनि सोस्न सक्दैन। अनि ठूलो बाढीका रूपमा परिणत हुन्छ र क्षणभरमै ठूलो क्षति गराउँछ’, उप्रेतीले भने।
पहाडको खोँचमा र पहाडी क्षेत्रमा यस्तो खालको वर्षा हुने सम्भावना उच्च रहेको उप्रेतीले बताए। उनले भने, ‘नेपाल पहाडैपहाडले भरिएको मुलुक हो। त्यसैले यहाँ पनि यस्तो भयावह पानी पर्ने सम्भावना रहन्छ।’ यस्तो वर्षाको क्षतिबाट बच्न खहरे खोलामा पनि पूर्वसूचना प्रणाली राख्नुपर्ने जलवायुविद् उप्रेतीको सुझाव छ।