कोशीमा योजनाबद्ध रूपमा ट्रान्सफर्मर चोरी, गिरोह प्रहरी फन्दामा

हिमाल प्रेस २० साउन २०८२ २१:०९
16
SHARES
कोशीमा योजनाबद्ध रूपमा ट्रान्सफर्मर चोरी, गिरोह प्रहरी फन्दामा

इटहरी- कोशी प्रदेशका तीन जिल्ला सुनसरी, मोरङ र झापामा योजनाबद्ध रूपमा ट्रान्सफर्मर चोरी गर्दै आएको गिरोह प्रहरीको फन्दामा परेको छ।

गत माघ १५ यता शृंखलाबद्ध रूपमा २२ वटा ट्रान्सफर्मर चोरी गरेका ७ जना मुख्य योजनाकार र तामाको तार किन्ने पाँच जना बिचौलियालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो। करिब २ करोड रुपैयाँ बराबरको ट्रान्सफर्मर चोरीमा गिरोहको संलग्नता पुष्टि भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका डीआईजी ईश्वर कार्कीका अनुसार चोरी भएकामध्ये सबैभन्दा बढी सुनसरीमा छन्। सुनसरीमा १२, मोरङमा ८ र झापाका २ स्थान गरी कुल २२ वटा ट्रान्सफर्मर लक्षित गरी चोरी गरिएको हो। ट्रान्सफर्मर भित्र रहेको महँगो तामाको तार निकालेर बिचौलियामार्फत बिक्री गर्ने कार्यमा गिरोह सक्रिय रहेको डीआईजी कार्कीले जानकारी दिए।

प्रहरीले मंगलबार सार्वजनिक गरेको नामावलीअनुसार पक्राउ परेकाहरूमध्ये मोरङको ग्रामथान–४ का ४२ वर्षीय अर्जुनकुमार माझी (चौधरी), ग्रामथान–५ का ३१ वर्षीय इरज धामी, सुनसरी दुहबी–३ का ३५ वर्षीय अनुज विश्वास (चौधरी), दुहबी–२ का ३९ वर्षीय प्रयागकुमार खाँ चौधरी, मोरङ बेलबारी–४ का २६ वर्षीय अर्जुन चौधरी, बेलबारी–३ का २७ वर्षीय रञ्जित तामाङ र भारत घर भई दुहबी–४ स्थित ससुराली घरमा बस्दै आएका ३४ वर्षीय आलम मियाँ छन्।

त्यस्तै चोरी गरिएको तामाको तार किन्ने विराटनगर महानगरपालिका–३ का ५३ वर्षीय लक्ष्य प्रधान, विराटनगर–६ का ६२ वर्षीय कृष्णगोपाल ताम्राकार, दुहबी–३ का ३२ वर्षीय योगेश अग्रवाल, दुहबी–२ का ३१ वर्षीय कपिल भट्ट र इटहरी–४ का ३९ वर्षीय सीताराम राईलाई पनि प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

ट्रान्सफर्मरबाट निकालिएको तामा बेचबिखन गर्न प्रयोग भएका बिचौलियाहरूलाई पनि प्रहरीले पक्राउ गरिएको उनले बताए। ट्रान्सफर्मर चोरी गर्न गिरोहले विशेष उपकरण र सवारी साधन प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ। पक्राउका क्रममा २२ थान डायल रेन्च, ३ थान सलाई रेन्च, ३ पिलास, ३ पेचकस, १ छिनो, १ साङली, १ कैची र ३ ह्याक्सो ब्लेड बरामद गरिएको छ।

यसबाहेक को १ च ७७२९ नम्बरको पिकअप गाडी र ५ वटा मोटरसाइकलहरू प्रदेश १–०२–०५० प ७०९५, प्रदेश १–०२–०५६ प ५५८०, को २ प ९२९०, प्रदेश १–०२–०५० प ३०४९ र को २९ प ४५४४ समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

खास गरी गत साउन ९ गते मोरङको रंगेली नगरपालिका–९ स्थित इँटाभट्टा टोलमा ट्रान्सफर्मर चोरी गर्न गएका अर्जुनकुमार माझीलाई प्रहरीले पक्राउ गरेको थियो। उनलाई पक्राउ परेपछि गिरोहको तारतम्य खुलेको प्रहरीले जनाएको छ। माझीमाथि अनुसन्धान गर्ने क्रममा सुनसरी, मोरङ र झापा जिल्ला प्रहरी कार्यालयसँग समन्वय गर्दै प्रदेश प्रहरीको विशेष टोली खटिएको थियो। अनुसन्धानकै आधारमा चोरीको सञ्जालमा संलग्न व्यापारीहरूसमेत पक्राउमा परेका हुन्।

डीआईजी कार्कीले भने, ‘चोरी कार्य निकै योजनाबद्ध ढंगले गरिएको थियो। अभियुक्तहरू रातको समयमा ट्रान्सफर्मर भाँचेर तार निकाल्ने र तत्कालै त्यसलाई निश्चित किन्ने व्यक्तिहरूमार्फत बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ। चोरीमा संलग्न अरू सम्भावित व्यक्तिको खोजी पनि भइरहेको छ।

प्रकाशित: २० साउन २०८२ २१:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast