प्रचण्डको ‘एकता कार्ड’ विवादमा, प्रकाण्ड भन्छन्- तत्काल एकता सम्भव छैन

किरण पौडेल २१ साउन २०८२ ६:३७
88
SHARES
प्रचण्डको ‘एकता कार्ड’ विवादमा, प्रकाण्ड भन्छन्- तत्काल एकता सम्भव छैन

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) ले हालैको स्थायी समिति बैठकमार्फत नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग एकता गर्ने राजनीतिक निर्णय सार्वजनिक गरेकमो छ। तर यो निर्णय लिखित रूपमा औपचारिक छैन। प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार माओवादीले विप्लवलाई एकताका लागि ‘हात फैलाउने’ नीति लिएको हो।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एकीकृत समाजवादी) र नेकपाका नेतासँग पनि एकता अन्तिम चरणमा पुगेको बिफ्रिङ गरेका थिए। तर सम्बन्धित दुवै पार्टीले माओवादीको दाबीलाई ‘भ्रामक’ भन्दै खारेज गरेका छन्।

नेकपाको हालैको बैठकले माओवादीसँग तत्काल एकता नगर्ने निर्णय गरिसकेको छ। नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ तत्काल कुनै पनि सहमति सम्भव नरहेको बताउँछन्। बरु, माओवादीको सक्रियता देखेर नेकपा र समाजवादी दुवै आक्रोशित छन्। प्रकाण्ड भन्छन्, ‘माओवादीभित्रको आन्तरिक विवाद दबाउन प्रचण्डले एकताको तुरुप फ्याँकेका हुन्।’

प्रकाण्डका अनुसार माओवादीमा उपमहासचिव जनार्दन शर्मा र सचिव राम कार्कीले प्रचण्डको विकल्प खोज्ने चहलपहल बढाएका छन्।

विप्लव पक्षले अघिल्ला केन्द्रीय समिति बैठकमै प्रचण्ड एकताप्रति गम्भीर नभएको निष्कर्ष निकालेको थियो। प्रकाण्डले वैचारिक-सैद्धान्तिक आधार र पर्याप्त छलफलबिना एकता सम्भव नरहेको बताए। यसैगरी नेकपा नेता सुमन सिंह पनि तत्काल माओवादीसँग एकता नहुने बताउँछन्।

‘एकता भनेर मात्र हुँदैन। पहिले माओवादी रूपान्तरण आवश्यक छ। अनि विचारअनुरूपको नयाँ नेतृत्व आवश्यक छ,’ सिंह भन्छन्,‘अर्को कुरा, अख्तियारलगायत संस्थाबाट डामिएका नेताहरुको बहिर्गमन र विभिन्न स्रोतबाट कमाएको अकुत सम्पत्ति सार्वजनिकीकरण तथा जनताका नाममा जम्मा गर्नपर्ने हुन्छ।’

पूर्वउपराष्ट्रपति तथा माओवादी उपाध्यक्ष नन्दबहादुर पुनले स्थायी समिति बैठकमा ‘अहिलेको जनार्दन र पहिलेको विप्लव उस्तै’ भनेपछि नेकपा झन् आक्रोशित बनेको नेताहरू बताउँछन्। नेकपाले पुनलगायत नेतासँग आत्मालोचना गर्नुपर्ने प्रस्ताव अघि सारेको छ।

नेकपाले पूर्वप्रधानमन्त्री, मन्त्री, सांसद लगायत राजकीय पद सम्हालेकाहरूलाई पुनः पदमा नआउने घोषणा गर्न, समाजवाद र क्रान्तिको मार्गचित्र स्पष्ट बनाउन र उमेर सीमा तोकेर नयाँ नेतृत्व विकासको विधि निर्माण गर्नुपर्ने अडान राखेको छ।

माओवादी–समाजवादी एकताको विषय पनि चर्चामा छ। माओवादीबाट समाजवादीसँग एकता अन्तिम चरणमा पुगेको भनिएको विषयले अचम्मित बनाएको नेताहरू बताउँछन्। ‘एकताका विषयमा कुरा नभएको होइन। तर जुन तहमा चर्चामा भइरहेको छ। त्यो तहमा पुगेको छैन’, समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडा भन्छन्।

समाजवादी पार्टी नै माओवादीसँगको एकताले असन्तुष्टि छ। पार्टी अध्यक्ष माधवकुमार नेपाल एकताप्रति लचक बन्दा सम्मानित नेता झलनाथ खनाल र महामन्त्री घनश्याम भुसाल यथास्थितिमा एकता गर्न नहुने पक्षमा छन्। खनालले त माओवादीसँग एकता असम्भव रहेको बताएका छन्।

नेकपाका महासचिव पाँच दल सम्मिलित समाजवादी मोर्चाको समेत विपक्षमा उभिएका छन्। विप्लवले यसअघि मोर्चा यथास्थितिमा अघि बढ्न नसक्ने बताएका छन्। मोर्चाका संयोजक रहेका उनले मोर्चा उद्देश्यअनुसार नचलेको बताए ‘हामीले जुन तरिकाले मोर्चा चलाउनुपथ्र्यो। त्योअनुसार चल्न सकेन’, प्रकाण्ड भन्छन्। उनी मोर्चा नयाँ तरिकाले अघि बढ्नुपर्ने बताउँछन्।

प्रचण्ड-विप्लव सम्बन्ध सुमधुर नभएको नेताहरूको बुझाइ छ। विप्लव प्रचण्डसँग एकता त्यागेर नयाँ मोर्चा बनाउने प्रयत्नमा रहेको नेकपाकै नेताहरू बताउँछन्। विप्लवले माओवादी उपमहासचिव जनार्दन शर्मा र समाजवादी महासचिव घनश्याम भुसालसँग मिलेर बहस चलाएका थिए। उनी समाजवादी मोर्चा छाडेर वैकल्पिक मोर्चा बनाउने बाटोमा छन्।

यसैगरी माओवादी बैठकमा ‘समाजवादीसँग एकता अन्तिम चरणमा पुगेको’ भनिएको विषयले समाजवादीभित्र असन्तुष्टि बढाएको छ। अध्यक्ष माधवकुमार नेपाल लचक देखिए पनि वरिष्ठ नेता झलनाथ खनाल र महामन्त्री घनश्याम भुसाल यसलाई असम्भव ठान्छन्।

विप्लव नेतृत्वको पाँचदलीय समाजवादी मोर्चा पनि संकटमा छ। विप्लवले मोर्चा उद्देश्यअनुसार नचलेको भन्दै नयाँ ढंगले अघि बढाउने प्रस्ताव गरेका छन्। पार्टीभित्रकै केही नेताहरूको भनाइमा, विप्लव अब माओवादीसँग एकता त्यागेर समाजवादी महासचिव घनश्याम भुसाल र माओवादी उपमहासचिव जनार्दन शर्मासँग मिलेर वैकल्पिक मोर्चा बनाउनतर्फ लागेका छन्।

माओवादीका नेताहरू नेकपा र नेकपा समाजवादीसँग एकीकरण गर्ने निर्णय भएको बताए पनि पार्टीले पारित गरेको २६ बुँदे प्रस्तावमा कहीँ पनि एकताको विषय उल्लेख छैन। पार्टीले सार्वजनिक गरेको २६ बुँदे प्रस्तावको अन्तिममा उल्लेख छ, ‘सरकारले दलाल र बिचौलियाका पक्षमा एकपछि अर्को गर्दै चालेका जनविरोधी कदमको निन्दा तथा भत्र्सना गर्दै सुशासन, जनतन्त्र र जनजीविकासँग जोडिएका मुद्दाहरूमा एक भई अघि बढ्न सबैमा हार्दिक अपिल गर्दछ।’

प्रकाशित: २१ साउन २०८२ ६:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast