नागढुंगा-नारायणघाट सडकमा दुर्घटना हुँदा अब सशस्त्रकहाँ साइरन बज्छ

हिमाल प्रेस २० साउन २०८२ १६:३५
8
SHARES
नागढुंगा-नारायणघाट सडकमा दुर्घटना हुँदा अब सशस्त्रकहाँ साइरन बज्छ

काठमाडौँ- मुग्लिन-नारायणघाट सडकको सिमलताल र पृथ्वी राजमार्गको चरौँदीमा विपद्को सूचनाका लागि इलेक्ट्रिक डिभाइस जडान गरिएको छ।

घटना तथा दुर्घटनाबारे तत्कालै जानकारी दिनका लागि भरतपुर महानगरपालिका-२९ स्थित सिमलताल र धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ चरौँदीमा इलेक्ट्रिक डिभाइस जडान गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ। दुर्घटना भएपछि सशस्त्र प्रहरी बलको तालिम शिक्षालय कुरिनटारमा साइरन बज्नेछ।

बढी दुर्घटना हुनसक्ने ठाउँ छनोट गरी सशस्त्र प्रहरी बल नेपाल र लुना जीपीएस कम्पनीको सहकार्यमा डिभाइस जडान गरिएको बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। उनले भने, ‘दुर्घटना भइहालेमा उक्त डिभाइसबाट तत्कालै सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा जानकारी प्राप्त हुनेछ।’

थापाका अनुसार घटना तथा दुर्घटना भएमा त्यसको जानकारी दिन उक्त स्थानमा रहेका स्थानीय बासिन्दा तथा घटनाबारे जानकारी पाउने जोकोहीले सो डिभाइसमा रहेको हरियो बटन १० सेकेन्डसम्म थिच्नुपर्ने हुन्छ। बटन थिचिसकेपछि सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा रहेको साइरन बज्नेछ भने तालिम केन्द्रमा रहेको मोनिटरमा घटनास्थलको जानकारीसमेत हेर्न सकिनेछ। ‘यसरी घटनाबारे साइरन बजेर स्थानकाबारे समेत जानकारी हुनासाथ तत्कालै उद्धारका लागि सुरक्षा फौज परिचालन हुनेछ’, थापाले भने।

डिभाइसबारे तालिम शिक्षालय कुरिनटारले जडान गरिएका स्थानका स्थानीय बासिन्दालाई प्रयोगको तरिका र अवस्थाबारे जानकारी गराएको छ।

नारायणघाटदेखि नागढुंगासम्मका स्थानीय बासिन्दा तथा सो क्षेत्रमा आपद्मा परेका र घटना-दुर्घटना देखेका व्यक्तिले आफ्नो मोबाइलमा समेत लुना जीपीएसको एप्स डाउनलोड गरी घटनाबारे जानकारी दिन सक्नेछन्। एप्सभित्र रहेको एसओएस बटनमा क्लिक गर्दा त्यसभित्र एम्बुलेन्स, बाढीपहिरो, आगलागी र दुर्घटना गरी चारवटा अप्सन देखिनेछन्। त्यसमा कुन प्रकृतिको घटना हो त्यस अप्सनमा गई क्लिक गर्दा कुन व्यक्तिले जानकारी गराएको हो विवरणसहित विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा जानकारी प्राप्त हुनेछ। सो एप्सलाई डाउनलोड गरी अफलाइनमा समेत जानकारी गराउन सकिने थापाले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast