पाँचथरको बिरुवाका नाबालक दाजुबहिनी मृत फेला

हिमाल प्रेस २० साउन २०८२ १३:३५
16
SHARES
पाँचथरको बिरुवाका नाबालक दाजुबहिनी मृत फेला प्रतीकात्मक तस्बिर।

पाँचथर- याङवरक गाउँपालिका-१ बिरुवाका नाबालक दाजुबहिनी मृत फेला परेका छन्। यही साउन १५ गते बिहानदेखि हराइरहेका बिरुवाका बिर्खबहादुर राईका १० वर्षीय छोरा शिशिर र ६ वर्षीया छोरी नानुमा राईको शव आज बिहान बिरुवा खोलामा फेला परेको हो।

उनीहरूको शव खोलाको किनारामा करिब २०० मिटरको अन्तरमा फेला परेको वडाध्यक्ष राजेन्द्र खालिङ राईले जानकारी दिए। बेपत्ता दाजुबहिनीको खोजी भइरहेको थियो। खोजीका लागि जिल्ला प्रहरी कार्यालयको टोली सोमबार च्याङथापू पुगेको थियो।

मृतक दाजु शिशिर कक्षा ४ र बहिनी कक्षा १ मा स्थानीय पूर्ण आधारभूत विद्यालयमा अध्ययन गर्दथे। परिवारले ढिलो खबर गरेका कारण उनीहरूको खोजी २४ घण्टापछि मात्रै सुरु भएको थियो।

वडाध्यक्ष खालिङका अनुसार बिहान करिब ६ बजे बाबु बिर्खबहादुर छोराछोरीलाई हजुरआमा कहाँ गएर खाना खाई विद्यालय जानु भनेर पठाएका थिए। यता हजुरबुबा–हजुरआमा भने नातिनातिनी बाबुका साथ रहेको विश्वासमा दिनभरि आफ्नै काममा व्यस्त रहे।

सधैँ घर आउने नातिनातिनी नआएपछि साँझ करिब ७:०० बजे बाजे सूर्यबहादुरले बिर्खबहादुरलाई फोन गरेर सोधेका थिए। दुवै घरमा नानीहरू नभएपछि साउन १६ गते बिहानदेखि खोजी थालिएको वडाध्यक्ष खालिङको भनाइ छ। मृतक बालबालिकाकी आमा वैदेशिक रोजगारीमा रहेकी छन्।

जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीले घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको बताए। उनका अनुसार ती बालबालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ।

प्रकाशित: २० साउन २०८२ १३:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast