![प्रचण्डको विकल्प छैन : मातृका यादव [अन्तरवार्ता]](https://himalpress.com/wp-content/uploads/2025/08/matrika_yadav.jpg)
नेकपा माओवादी केन्द्रको नेतृत्वमाथि निरन्तर प्रश्न उठिरहेको छ। दोस्रो पुस्ताका केही नेताले ‘रूपान्तरण र पुस्तान्तरण’का विषयमा प्रश्न उठाएका छन्। उपमहासचिव जनार्दन शर्मा र सचिव राम कार्कीले त अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विकल्पको खोजी गरेका छन्। यद्यपि पुस्तान्तरणका पक्षमा आवाज उठाउनेविरुद्ध अधिकांश नेताहरूले आलोचना गरेका छन्। माओवादीको सोमबार सम्पन्न स्थायी समिति बैठकमा पनि केही नेताहरूले पुस्तान्तरणको कुरा गर्दा नेतृत्वले उनीहरूको आवाज ओझेलमा पारेको टिप्पणी भइरहेको छ। माओवादीभित्रको गतिविधि र पुस्तान्तरणका विषयमा उपमहासचिव मातृका यादवसँग गरिएको संवाद :
माओवादीको स्थायी समिति बैठक कत्तिको सौहार्द बन्यो? के के निर्णय गर्नुभयो?
जनयुद्ध तयारीका बेलामा हामी जसरी छलफल र बहस गर्थ्यौँ, सोमबार सम्पन्न स्थायी समिति बैठक त्यही किसिमको झल्को दिने गरी सम्पन्न भयो। अहिले हामी समाजवादका कुरा गरिरहेका छौँ। बैठकमा कस्तो पार्टी र नेता चाहिएको हो भन्ने विषयमा छलफल भयो। पार्टीभित्र गुटउपगुट नष्ट गर्ने र सबै समस्या समाधान गर्ने निष्कर्ष निकालिएको छ। पार्टीभित्र गुट बनाउन नदिने निर्णय बैठकमा भएको छ।
सबै नेताहरू गुट चलाउने माओवादीमा गुट निराकरण सम्भव छ र?
हिजो हामीले नै गुट गरेका थियौँ र पो असम्भव थियो त। अब हामीले नै प्रतिबद्धता गरेपछि त सम्भव भइहाल्छ नि। नहुने भए त निर्णय गर्ने थियौँ नि। तपाईँले भन्नुभयो नि सम्भव छ भनेर, दुनियाँमा कुनै कुरा पनि असम्भव छैन। हामीमा दृढता र प्रतिबद्धता छ। त्यही कारण हामीले गुट नबनाउने निर्णय गरेका हौँ।
माओवादीमा गुटको गतिविधि गर्ने नेतामाथि कारबाही हुन्छ?
हो, कारबाही नभएर माओवादी बिग्रिएको हो। पार्टीमा चाहिँ आलोचना गर्न मिल्छ। अरू पार्टी जस्तो होइन, सबैले सबैको विरोध गर्न मिल्छ तर अनुशासनमा बसेर। कहाँ कसरी आलोचना गर्ने भन्ने हामीले ठाउँ पत्ता लगाउन सक्नुपर्यो नि। ठाउँमा बसेर आलोचना गर्न पाइन्छ।
कुनै दिन तपाईँ पनि त माओवादी छाडेर हिँड्नुभएको थियो नि?
हो, म माओवादी छाडेर हिँडेको व्यक्ति हुँ। सबैभन्दा पहिला मैले नै अनुभव गरेको हुँ पार्टीमै छलफल र बहस गर्नुपर्थ्यो भनेर। म त सात वर्ष पार्टीबाहिर बसेँ। बाहिर बसेर पनि मैले नेता भनेको प्रचण्ड मात्र हो भनेको थिएँ। मलाई पार्टीले सबैथोक दिएको थियो। तर पनि पार्टी छाडेको थिएँ। हाम्रो पार्टीमा यो प्रक्रिया चलिरह्यो। मभन्दा माथिल्लो दर्जाका नेताले पार्टी छाड्नुभयो। ठूलो नेताहरूको समूहले पनि छोड्नुभयो। परिणाम के आयो? जो कमरेडहरू बाहिर हुनुहुन्छ? उहाँहरू कुन हालतमा हुनुहुन्छ? म त के भन्छु भने सबै कमरेडहरू एक ठाउँमा आउनुपर्छ। उहाँहरू नआई सुखै छैन। यो जनताको माग हो। जनताको मुक्तिका लागि पनि सबैजना एक ठाउँ आउनुपर्छ। अहिले त संघीयता, समावेशिता चाहिँदैन भन्न थालेका छन्। यसैले पनि हामी ढिलोचाँडो एक हुनु अनिवार्य छ। व्यक्तिगत समस्या प्रधान होइन। मुख्य कुरा पार्टी र देश हो।
माओवादी स्थायी समिति बैठकले एउटा निर्णय गर्यो, नेतृत्वविरुद्ध बोल्न नमिल्ने। के अब माओवादीभित्र नेताहरूका गलत कामका विषयमा बोल्न नमिल्ने हो?
यसो हो नि, पार्टीभित्र बोल्न मिल्छ। मान्छेले गलत गरेको छ भने सुध्रिन पनि दिनुपर्छ। पार्टीभित्र आलोचना गर्नेलाई कारबाही हुँदैन। अरू पार्टीजस्तो होइन हाम्रो पार्टी। अहिले पार्टीमा दण्डहीनताको स्थिति छ। कसैले गलत अभिव्यक्ति दिन्छ भने उसलाई दण्ड दिनुपर्छ। बाहिर गएर बोल्ने कुरालाई हामी सही मान्न सक्दैनौँ। बाहिर कसैको चरित्रहत्या गर्ने वा चर्को आलोचना गर्ने त्यो पुँजीवादी विचारधाराबाट ग्रस्त हो। यो हाम्रो पार्टीमा मान्य हुँदैन।
माओवादीमा प्रचण्डविरुद्ध बोल्दा त घेराबन्दीमा पर्न थालियो। उपमहासचिव जनार्दन शर्माविरुद्ध त्यही भयो होइन?
अध्यक्ष कमरेडको आलोचना गर्न पाइन्छ। उहाँको आलोचना गर्ने पहिलो व्यक्ति नै मै हु। अध्यक्ष कमरेड आलोचनाबाट हराउनुहुन्न।
पछिल्लो समय जनार्दनलाई आत्मालोचना गर्नुपर्छ भन्ने कुरा छ, यो त प्रचण्डको विरोध गरेकै कारण होइन?
प्रचण्डको विरोध गरेको होइन। बाहिर गएर भनेका कारण विरोध भएको हो।
जनार्दनले त आत्मालोचना गर्नु भएन नि। नगर्दा पनि हुन्छ?
होइन, अध्यक्ष कमरेडले यो पनि भन्नुभयो। हाम्रो पार्टीमा कसैले गर् भन्ने पनि होइन। जनार्दन कमरेड पनि इतिहास बोकेको नेता हो। उहाँ पनि आन्दोलनकै नेता हो। जनार्दनजीले पनि अब विचार गर्नुहोला नि त। गल्ती स्वीकार गर्नुपर्छ भन्ने लाग्ला नि त उहाँलाई। पार्टीले पनि त्यसै भनेको छ।
जनार्दनले भनेका कुरा के गलत थिए त? उहाँले रूपान्तरण र पुस्तान्तरणको कुरा उठाउनुभएको छ त?
नेतृत्व बिना त रूपान्तरण सम्भव छैन नि। अध्यक्ष कमरेडले नै भन्नुभएको छ– हामी वर्ग र समुदायमा गएनौँ भनेर। हामी रूपान्तरण हुन आवश्यक छ भनेर भन्नुभएको छ उहाँले। कहाँ चुक्यौँ, कहाँ गल्ती गर्यौँ भन्नुभएको छ। हामी सबै फिल्डमा गएका छौँ। रूपान्तरण बिना आन्दोलन सम्भव छैन। जसले जे कुरा उठाए पनि अध्यक्ष कमरेडले भनेका कुरा सही छन्। त्यसैको पक्षमा उभिनुको विकल्प छैन।
अब पुस्तान्तरणको कुरा?
पुस्तान्तरणको कुरा विचारबाट हो। युवा हुँदैमा पुस्तान्तरणबाट हुने होइन। हाम्रै आन्दोलनमा कमरेड प्रचण्ड सबैभन्दा कान्छा हो नि। मोहनविक्रम सिंहलाई माओ, निर्मल लामालाई चाओ भनिन्थ्यो। तर कसैबाट पनि आन्दोलन पूरा भएन। आखिर आन्दोलनका लागि कमरेड प्रचण्ड चाहियो। नेता हुनका लागि अध्यक्ष कमरेडले दिएर पनि हुन्न। आन्दोलन र विचारले दिने हो। अध्यक्ष प्रचण्डले दिएर हुन्न नि। अहिले अध्यक्ष कमरेड जति खट्ने नेता माओवादीमा छैन। बिहानदेखि रातिसम्म बिना आराम खटिरहनुभएको छ उहाँ। जो युवा गाउँमा जाँदैन, जनतामा जान्दैन। त्यस्तोलाई नेतृत्व दिने हो? उहाँ (प्रचण्ड)त तयार हुनुहुन्छ नि। किताब लेखौँ भन्नुभा थियो। मैले नै आठौँ महाधिवेशनमा यत्रो जहाज छाडेर बाहिर बस्न मिल्दैन भनेको थिएँ। अर्को क्याप्टेन नहुँदासम्म छाड्न मिल्दैन भनेको थिएँ।
माओवादीले महाधिवेशन मिति तोकेको छैन। महाधिवेशन कहिले हुन्छ?
हामीले गत केन्द्रीय समिति बैठकबाटै निर्णय गरेका थियौँ। यद्यपि हामी अभियान चलाएर अघि बढ्याँै। हामीले तत्कालिक विषय पनि हेर्नुपर्छ। किनभने कुनै पनि कुरा हुन रणनीति र कार्यनीति ठीक हुनुपर्छ। अब केन्द्रीय समिति बैठकबाट मिति तोक्ने काम हुन्छ।
हाम्रो महाधिवेशन अरू पार्टीमा जस्तो नेता चुन्ने मात्र होइन। हाम्रो महाधिवेशनको एजेन्डा नै त विचारको संश्लेषण र विचारको विकास हो। अहिलेको परिस्थिति हल गर्न सक्ने विचार र अहिलेको अन्तर्राष्ट्रिय परिस्थितिबारे सुझबुझ पूर्ण ढंगबाट निर्क्योल निकाल्नुपर्छ। कम्युनिस्ट आन्दोलन र देशको परिस्थितिका विषयमा छलफल गर्नुपर्छ। त्यो हो नि महाधिवेशन भनेको। अरू पार्टीको जस्तो भोट खसाल्ने र नेता चुन्ने मात्र महाधिवेशन हाम्रो हुँदैन। समय लागे पनि हामी महान् व्यक्तिसँग भएर पनि छलफल गर्नुपर्छ। जनयुद्धमा हामी भित्रभित्र छलफल गर्थ्यौँ नि। त्यही किसिमको बहस हामीले अघि बढाउन अनिवार्य छ।
विप्लवसँग एकताको कुरा उठाउनुभएको छ? के सम्भव छ? अर्कोतिर महिन्द्रराय यादवसँगको एकताको कुरा उठेको छैन। जसलाई तपाईँको प्रतिस्पर्धीका रूपमा हेरिन्छ। अर्कातिर एकीकृत समाजवादीको विषयमा मौन हुनुहुन्छ। के माओवादी साँच्चिकै एकता गर्न चाहन्छ?
एकीकृत समाजवादीबारे हामीले पहिल्यै निर्णय गरेका थियौँ। अब किन गर्ने? महिन्द्रजीको बारेमा पनि हामीले उहिल्यै निर्णय गरेका थियौँ। महिन्द्रजीविरुद्ध मलाई उभ्याउनु पहाडीयावाद हो। जो मधेशीबीचमा जुधाउने काम गर्छन्। महिन्द्र र मबीच हार्दिकतापूर्ण सम्बन्ध छ। जुन बेला उहाँ एमालेमा हुनुहुन्थ्यो, म माओवादीमा। हामीबीच त पारिवारिकजस्तै सम्बन्ध बनिसक्यो।
उहाँ त माओवादीको नाम परिवर्तन गर्नुपर्छ भन्नु हुँदै छ। तपाईँ माओवादी नै राख्नुपर्छ भन्नुहुन्छ? कसरी मिल्यो त?
हो, म त माओवादी नै रहोस् भन्छु। उहाँ माओवादी नराख्न पाए हुन्थ्यो भन्नेमा हुनुहुन्छ। हामी महाधिवेशनको निर्णय मान्न तयार छौँ। मभन्दा सिनियर नेता पनि हो। म सधैँ सम्मान गर्छु। उहाँ र मबीच समस्या छैन।
त्यसो भए उहाँ माओवादीमा फर्किँदा तपाईँलाई घाटा छैन?
मलाई किन घाटा हुने? कुनै घाटा छैन। म त उहाँ(महिन्द्र) मात्र होइन, जो नेताहरू पनि भित्रिनुपर्छ भन्नेमा छु।
विप्लव त एकता भन्दा पनि पन्छिन थालेका छन्? केमा समस्या आयो?
मलाई त्यस्तो थाहा छैन। अध्यक्ष कमरेडले जे रिपोर्टिङ गर्नु भा छ त्यहीअनुसार एकता हुन्छ।