बाढी : राप्ती नदी किनारका बस्तीहरूमा सावधानी अपनाउन आग्रह

हिमाल प्रेस २० साउन २०८२ १२:०४
14
SHARES
बाढी : राप्ती नदी किनारका बस्तीहरूमा सावधानी अपनाउन आग्रह

बाँके- अविरल वर्षाका कारण राप्ती नदीको सतह चेतावनी तह नाघेपछि बाँकेका तटीय क्षेत्रका गाउँबस्तीमा सतर्कता जारी गरिएको छ। राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाले साइरन बजाएर नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन्।

जिल्ला विपद् व्यवस्थापन समितिका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीका अनुसार नदीमा पानीको सतह चार मिटर ७० सेन्टिमिटर पार गरी चार मिटर ८६ सेन्टिमिटर पुगेकाले जोखिम बढेको छ।

‘डुबानको सम्भावना रहेकाले दिउँसोभर सतर्क रहन आग्रह गरिएको छ,’ ज्ञवालीले भने। उनका अनुसार पश्चिम राप्ती नदी राप्ती सोनारी जलमापन केन्द्र र कुसुम क्षेत्रका जलमापन केन्द्रले पनि सतर्कता तह नजिक पुगेको जानकारी दिएका छन्।

कुसुम केन्द्रमा चेतावनी तह ६ मिटर हो भने अहिले सतह ५.७४ मिटर पुगेको छ। सतर्कता बढ्दै जाँदा सबै संभावित जोखिमयुक्त क्षेत्रलाई अलर्ट गरिएको छ।

प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीका अनुसार नदीले अझै खतराको तह पार नगरे पनि आसपासका क्षेत्र सतर्क रहन जरुरी छ। ‘नरैनापुरमा सामान्य डुबान भएको छ। त्यहाँका बासिन्दाले सामान सुरक्षित स्थानमा सार्ने कार्य भइरहेको छ,’ उनले भने।

सुरक्षा निकायका टोलीहरू प्रभावित क्षेत्रमा परिचालनमा छन्। स्थानीय विपद् व्यवस्थापन समिति तयारी अवस्थामा राखिएको छ।

प्रकाशित: २० साउन २०८२ १२:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast