
काठमाडौँ- फिल्म ‘अभिमन्यु’ मा समावेश ‘माली’ बोलको गीत सार्वजनिक भएको छ। गीत गायक तथा संगीतकार प्रशान्त शिवाकोटीको स्वर, शब्द र संगीतमा बनेकाे छ।
रक्षा बन्धन पर्वलाई मध्यनजर गर्दै सार्वजनिक गरिएको गीतमा दाजुले बहिनीलाई गर्ने निस्वार्थ प्रेम र जिम्मेवारीको चित्रण छ। साथै उनीहरूको भावनात्मक सम्बन्धलाई पनि सुन्दर ढंगले देखाइएको छ। दाजुको नजरबाट बहिनीको हाँसोमा संसार खोज्ने र माली बनेर उनको हेरचाह गर्ने कथा प्रस्तुत गरिएको छ।
यही गीतमा फिल्म निर्माण टिमले भिडियो प्रतियोगिताको पनि घोषणा गरेको छ। प्रतियोगितामा सहभागी हुन दाजुभाइ र दिदीबहिनीलाई रक्षा बन्धनको राखी बाँधिएको भिडियो बनाएर सामाजिक सञ्जालमा सेयर गर्न आग्रह गरिएको छ। प्रतियोगिताका उत्कृष्ट तीन भिडियोलाई क्रमशः ५० हजार, ३० हजार र १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।
सुशान्त गौतमको डेब्यु निर्देशनमा बनेको फिल्म आगामी भदौ २७ देखि प्रदर्शन हुनेछ। फिल्मको कथा मुकेश खनालले लेखेका हुन्। फिल्ममा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल र सुष्मा निरौलालगायत कलाकारको अभिनय छ।
सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्।