
पोखरा- गत साता पोखरा आएको हायु परियार अन्ततः आफ्नै गाउँ फर्किएको छ। आफ्ना जनप्रतिनिधिबाट रोजगारी र सुरक्षित आवासको आश्वासन पाएपछि उनीहरू गाउँ फर्किन तयार भएका हुन्।
उनीहरूलाई सोमबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र पोखरा ३० का वडाध्यक्ष दुर्गा सुवेदीले सम्मानसहित बिदाइ गरे। हायु परिवार लिन गोलन्जोर गाउँपालिका-६ का वडाध्यक्ष रविन श्रेष्ठ आफैँ पोखरा आएका थिए। वडाध्यक्ष श्रेष्ठको जिम्मा लगाई ग २ ख २२८७ नम्बरको पर्यटन बसमा सोमबार दिउँसो ३ बजे बिदाइ गरिएको हो।
पोखरा आउँदा १६ जना रहेकामा आफन्तसमेत थपिएपछि २१ जना फर्किएका हुन्। परिवारका सदस्यमा ८ जना १६ वर्षमुनिका बालबालिका छन्।
सिन्धुलीको गोलन्जोर ६, बिखर कटेरी छेड्पाका ४५ वर्षीया उर्मिला हायुसहित परिवारका १६ जना सदस्यहरू गत साता एक्कासि बेपत्ता भएको खबरले सर्वत्र खोजी सुरु भएको थियो। ११ साउनदेखि हराएका उनीहरूलाई राज्यको सम्पूर्ण संयन्त्र लगाएर खोनबिन भएको थियो। सिन्धुलीबाट हिँडेको २ दिनपछि पोखरा-३०, गगनगौंडामा राति ९ बजे डेराकोठामा सकुशल फेला परेका थिए।
प्रहरीसँगको सोधपुछमा परिवारका सदस्यहरू पटकपटक बिरामी हुन थालेपछि हायु परिवार कसैलाई पनि थाहा नदिई गाईवस्तु गोठमै छोडेर गाडी रिजर्भ गरी पोखरा आएको बताएका थिए। साथै उनीहरूले आर्थिक, स्वास्थ्य र सुरक्षाका कारण घर छाडेकोसमेत बताएका थिए। परिवारका केही सदस्यले धामीले त्यहाँ नबस्न भनेपछि घर छाडेको बताएका थिए।
पोखरा आएका उनीहरू सुरुमा एक रात लेकसाइड होटलको जननीमा बसोबास बसे। भोलिपल्टदेखि गगनगौँडा बजारमा दुईवटा घरमा बाँडिएर डेराकोठामा बस्न थालेका थिए।
अब पोखरामै रोजगारी गरी बस्ने निधो गरेको हायु परिवार गाउँ फर्किन मानेको थिएन। अझ आफ्नो पुरानै घरमा भने नबस्ने अडानमा थियो।
तर उनीहरूमाथिको ऋण तिरिदिन पहल गर्ने आश्वासनसहित रोजगारी र सुरक्षित आवासको आश्वासन पाएपछि फर्किन राजी भएका हुन्।
सिन्धुली जिल्लाबाट निर्वाचित सांसद श्यामकुमार घिमिरेले परिवारका दुई जना सदस्यलाई रोजगारीको ग्यारेन्टी गरेका छन्। वडाले हायू परिवारले लिएको ऋण तिर्नमा सहजीकरण गर्ने जनाएको छ। आफ्नै पुरानै घरमा नबस्ने अडान राखेकाले उनीहरुलाई केही समय आफ्नै घरमा राख्ने र पछि स्वास्थ्य, आवास र रोजगारको व्यवस्था मिलाउने वडाध्यक्ष श्रेष्ठले बताए।