![आस्थाको केन्द्र पिण्डेश्वर [फोटो फिचर]](https://himalpress.com/wp-content/uploads/2025/08/pindeshwor4.jpg)
इटहरी– धरान उपमहानगरपालिका-१४ मा अवस्थित पिण्डेश्वर बाबाधाममा साउनको सोमबार विशेष भीड लाग्ने गरेको छ । शिवको आराधना गर्न देशका विभिन्न भागसहित छिमेकी मुलुक भारतबाट समेत हजारौँ भक्तजन यहाँ आउने गरेका छन् । श्रद्धालुहरू बराहक्षेत्रस्थित सप्तकोशी नदीबाट जल ल्याएर पिण्डेश्वरको शिवलिंगमा चढाउँछन्।
आफ्नो मनोकांक्षा पूरा हुने विश्वाससहित सप्तकोशीबाट जल बोकेर खाली खुट्टै पैदल हिँड्दै धरानसम्म आउने गरेको श्रद्धालुहरूले बताए। उनीहरू बोलबम भन्दै २० किलोमिटरभन्दा लामो दूरी पार गरी मन्दिरसम्म पुग्ने गरेका छन् ।
पिण्डेश्वरको पौराणिक मन्दिरका रूपमा पूजा गरिन्छ । स्थानीय जानकार प्रेमप्रसाद पराजुलीका अनुसार यस मन्दिरबारे स्कन्द पुराणको १८ अध्यायमा उल्लेख छ । ‘यो पौराणिक मन्दिर हो, रुद्राक्षको उत्पत्ति यहीँ भएको बताइन्छ,’ उनले भने, ‘पिण्डेश्वरको ऐतिहासिकता नभएको भए चतरामा कुम्भमेलाको अस्तित्व रहँदैनथ्यो । यो अमृतको सार हो, त्यसैले यहाँ कुम्भ मेला लाग्ने गर्छ ।’
पौराणिक कथाअनुसार देवता र दानव मिलेर समुद्र मन्थन गर्दा निस्किएको अमृतलाई छानेर रहेको शेषभागको पिण्ड बनाई शिवजीको आरम्भ गरी स्थापना गरेको शिवजीको मन्दिरका रूपमा व्याख्या गरिएको छ।
अमृतको शेष रहेको भागलाई पिण्डका आकारमा देवताहरूले रुद्राक्षारण्यको केन्द्र भाग स्थापना गरेको र देवता मिलेर स्थापना गरेको उक्त महादेव स्वरूपको पिण्डलाई नै पिण्डेश्वर नामकरण गरिएको विश्वास छ।
कतिपय भक्तजनले धरानमै रहेको शिवजट्टाबाट जल ल्याएर चढाउने गरेका छन्। धरान १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बोलबमको थालनी २०३९ सालदेखि भएको बताए। ‘त्यसैबेलादेखि श्रद्धालुहरू गेरुवस्त्रमा सजिएर, खाली खुट्टा कोशी नदीसम्म पैदल हिँड्दै जल लिएर पिण्डेश्वर मन्दिरमा चढाउने परम्परा थालनी भएको हो,’ उनले भने, ‘श्रद्धा र समर्पणले भरिएको त्यो यात्रा आफैँमा एक धार्मिक अनुष्ठान थियो । पछिल्ला केही वर्षयता सवारीसाधनको सहज पहुँच र प्रविधिको प्रभावले यो मौलिक परम्परा हराउँदै गएको देखिन्छ।’
पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकासकुमार बनेपालीले साउनभर करिब ५ लाख भक्तजनले जल चढाउने अनुमान गरिएको बताए।
पिण्डेश्वर मन्दिर परिसरमा ससाना गरी करिब १० वटा अन्य मन्दिर छन् । यहाँ साउन महिनाबाहेक महाशिवरात्री, तीज र अन्य चाडपर्वमा पनि उल्लेख्य भीड लाग्ने गर्छ। हरेक साउनको सोमबार यहाँको दृश्य एक उत्सवजस्तो देखिन्छ।
धार्मिक पर्यटन प्रवर्धनसँगै यस क्षेत्रको स्थानीय आर्थिक गतिविधि पनि यस मन्दिरको प्रभावमा चलायमान भएको छ । पिण्डेश्वर आउने भक्तजनले धार्मिक अनुभवसँगै प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताको पनि अवलोकन गर्ने अवसर पाउँछन्।