
काठमाडौँ– सरकारसँग १६ बुँदे सहमति भएपछि खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका अनशनरत मेयर तीर्थराज भट्टराईले आमरण अनसन तोडेका छन्।
आइतबार शहरी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसँग सहमति भएपछि भट्टराईले आमरण अनसन तोडेका हुन्।
आमरण अनसन तोड्नुअघि आइतबार माइतीघरमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी र स्वास्थ्यमन्त्री प्रदीप पौडेलको उपस्थितिमा १६ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको थियो। हस्ताक्षर भएपछि वनमन्त्री शाहीले भट्टराईलाई खानेकुरा खुवाएका थिए।
अनसन तोडिएपछि भट्टराईले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्नका लागि सबैले योगदान गर्नुपर्ने बताए। उनले आफुसँग सरकारले गरेको सहमति कार्यान्वयन हुने विश्वास व्यक्त गरे।
सहमतिमा बाँस, स्वदेशी काठ वा नेपालमा उत्पादित स्वदेशी वस्तु वा सामग्री खरिद गरी पहिलो चरणमा वनमन्त्रालयअन्तर्गतका सबै निकायमा प्रयोग सुरु गर्ने उल्लेख छ।
त्यस्तै वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका, २०८० को प्रभावकारी कार्यान्वयन गर्ने, जनधनको क्षतिको राहत वितरणलाई थप सरल, सहज, पारदर्शी बनाउने लगायत सहमति भएको छ।