
काठमाडौँ- संघीय लोकतान्त्रिक मोर्चाले काठमाडौँबाट एक महिने जनजागरण अभियान सुरु गरेको छ। वर्तमान राजनीतिक अवस्थाबारे देशव्यापी रुपमा जानकारी गराउन एक महिने जनजागरण अभियान सुरु गरको मोर्चाले जनाएको छ।
आइतबार काठमाडौँमा अभियानको शुभारम्भ गर्दै मोर्चा आवद्ध दलका शीर्ष नेताहरुले राज्यले मधेशी, जनजातीलगायत अन्य पछि परेका समूदायलाई उपेक्षा गरेको जनाए।
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले दलहरुले भनेजस्तो संविधान संशोधन गर्न सहज नहुने बताए। संविधान बनाउनेहरुबाट संविधानप्रति खतरा रहेको उनको भनाइ छ। ठाकुरले मधेशी समूदायहरुले बराबरको अधिकार पाउन नसकेको भन्दै सबै मिलेर राज्यलाई दवाव दिनुपर्ने धारणा रखे।
त्यस्तै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नागरिकमाथि भएको विभेद अन्त्य नभए विद्रोह हुने बताए। उनले सुकुम्वासीका नाममा धेरै खेल भएको भन्दै अहिले पनि आफ्नालाई जग्गा दिनका लागि सरकारले कानून बनाउन खोजेको आरोप लगाए। यादवले सरकारले जनताको पक्षमा काम गर्न नसकेकाले सरकारलाई दिएको समथर्न फिर्ता लिएको बताए।
त्यस्तै राष्ट्रिय मुक्ति मोर्चा नेपालका अध्यक्ष राजेन्द्र महत्तोले देशलाई साझा नबनाइ नेपाल बन्न नसक्ने बताए। देशका सवै ठाँउमा बस्ने सबै समूदायको साझा हुने गरी देशलाई अघि बढाउनुपर्ने उनले बताए। उनले सबैलाई स्वीकार्य हुने गरी संविधान संशोधन गर्नुपर्ने उल्लेख गरे।
जनजागरणसभामा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लाललगायतका नेताहरूले मधेशी, आदिवासी, जनजातिनगायतका सीमान्तकृत समुदायलाई अधिकारसम्पन्न बनाउन सबै एकजुट हुनुपर्ने उल्लेख गरे।
संघीय लोकतान्त्रिक मोर्चाले भैरहवा, नेपालगञ्ज, कैलाली, विराटनगर, राजविराज, जनकपुरका साथै भाद्र २२ गते वीरगञ्जमा पुगेर जनजागरण अभियान समापन हुने जनाएको छ।