
काठमाडौँ- नेकपा एमाले गण्डकी प्रदेश कमिटीको चौथो पूर्ण बैठक साउन १७ र १८ गते पोखरामा सम्पन्न भएको छ। बैठकले लिच्चीबारी अडियो प्रकरणका आरोपी सुजन लामालाई पार्टी सदस्यबाट निलम्बन गरेको छ।
सोही प्रकरणमा राजकुमार गुप्ताले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री पदबाट राजीनामा दिनु परेको थियो भने नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठले अध्यक्ष पद छाड्नु परेको थियो।
पोखरा लामाचौरमा रहेको लिची गार्डेन बेच्नका लागि मालपोत र भूमि आयोगमा आफ्नो फेबरको मान्छे ल्याउन तत्कालीन सामान्य प्रशासन मन्त्री गुप्तासँग घुसको डिल गरेको अडियो सार्वजनिक भएको थियो।
घुस डिल गरेको आरोप लागेका लामा एमाले प्रदेश कमिटी सल्लाहकार परिषद् सदस्य थिए। उनी गण्डकी प्रदेश कमिटी सदस्य, अनेरास्ववियुको केन्द्रीय सदस्य भइसकेका व्यक्ति हुन्।
लामालाई सफाइ नपाउँदासम्मका लागि निलम्बन गरिएको एमाले गण्डकी स्रोतले जनाएको छ।
यस्तै बैठकले गण्डकी प्रदेशमा पार्टी शक्ति र सामर्थ्यलाई उचाइमा पुर्याउने रणनीतिक योजना समेत बनाएको बताइएको छ।