प्रचण्ड-जनार्दन विवाद चुलियो 

अध्यक्षले पनि आत्मालोचना गर्नुपर्छ : शर्मा, दाहालको जबाफ- गल्ती गर्नेले मात्र गर्छ

हिमाल प्रेस १८ साउन २०८२ १८:०८
68
SHARES
प्रचण्ड-जनार्दन विवाद चुलियो 

काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आइतबार स्थायी समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत आत्मालोचना गर्नुपर्ने माग गरेपछि अध्यक्ष प्रचण्डले ‘गल्ती गर्नेले मात्र आत्मालोचना गर्छ’ भनेर प्रत्युत्तर दिएका छन्। यो भनाइसँगै दुवै नेताबीचको मतभेद झनै चुलिएको छ।

स्थायी समितिको बैठक सकिएर बाहिरिँदै गर्दा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले जनार्दनको नाम नलिए पनि उनीप्रति लक्षित गर्दै आत्मालोचनासम्बन्धी उक्त टिप्पणी गरेका हुन्। यसअघि साउन १६ गते सुरु भएको बैठकमा प्रचण्डले पार्टीभित्र अनुशासनहीनता बढेको र आन्तरिक कुरा बाहिर पुर्‍याइएकोप्रति गुनासो गरेका थिए। प्रचण्डको उक्त अभिव्यक्ति पनि जनार्दनप्रति लक्षित रहेको नेताहरू बताउँछन्।

बैठकमा जनार्दनले पार्टी निर्माणको सवाल उठाउनु अपराध हो भने सजाय भोग्न तयार रहेको बताएका छन्। उनले भनेका छन्, ‘मैले पार्टी निर्माणका लागि सबैका सामु प्रश्न उठाएँ, अरूले भित्रभित्रै यो पार्टी बन्दैबन्दैन भन्दै हिँडेका छन्। तर जति धकेल्न खोजेपनि म पार्टीमा अडिइरहन्छु।’

उनले माओवादीले ३१ लाखबाट ११ लाख मतमा झर्नुको जिम्मेवारीमाथि प्रश्न उठाउँदै भनेका छन्, ‘त्यसमा मेरो कमजोरी छ भने म आत्मालोचना गर्न तयार छु। होइन भने अन्य जिम्मेवार ठाउँबाट पनि आत्मालोचना आवश्यक छ।’

आइतबारको बैठकमा अधिकांश सदस्यले नेतृत्वविरुद्ध जनार्दनको आलोचना अस्वीकार्य भएको बताएका थिए। कतिपयले नेतृत्वविरुद्ध सार्वजनिक अभिव्यक्ति अनुशासनविपरीत भएको भन्दै उनलाई आत्मालोचना गर्न सुझाव दिएका थिए।

अध्यक्ष प्रचण्डले भने नयाँ क्रान्तिको सुरु गर्ने संकेत दिँदै नेतृत्व परिवर्तनको सम्भावना नदेखिने धारणा अघि सारेका छन्। माओवादी सचिव हितमान शाक्यले प्रचण्डको विकल्प खोज्नु मूर्खता हुने टिप्पणी गरेका छन्।

प्रवक्ता अग्नि सापकोटाले पनि बैठकमा ‘प्रचण्डले आत्मालोचना गर्नुपर्छ’ भन्ने माग औचित्यहीन रहेको बताए। शर्मा यसअघि माओवादीको महाधिवेशनमा महासचिवको आकांक्षी थिए। तर प्रचण्डले देव गुरुङलाई महासचिव बनाए। त्यसयता शर्माले पार्टीभित्र विशेष महाधिवेशनको माग गर्दै नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहसलाई निरन्तरता दिँदै आएका छन्।

अहिले पनि अधिकांश नेताहरू प्रचण्डको लाइनमा उभिँदा शर्माले फरक धारणा राखिरहनु, बैठकमा समेत झुक्न नखोज्नु र बाह्य दलका नेतासँग वैचारिक बहसमा सहभागी हुनुले पार्टीभित्रको विवाद चर्कँदो दिशामा गएको विश्लेषण गरिएको छ। प्रवक्ता सापकोटाले सोमबार बस्ने स्थायी कमिटी बैठकमा वरिष्ठ उपाध्यक्ष र महासचिवले धारणा राख्ने र त्यसपछि अध्यक्ष प्रचण्डले जवाफ दिएर बैठक सम्पन्न हुने  बताए।

प्रकाशित: १८ साउन २०८२ १८:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast