
काठमाडौँ- हालैको एक कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा, नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ एउटै मञ्चमा देखिएपछि नयाँ वाम गठबन्धनको सम्भावनाबारे चर्चा सुरु भएको छ।
साउन ६ गते पुष्पलाल जयन्तीका अवसरमा स्कुल अफ मार्क्सिज्मले आयोजना गरेको ‘वर्तमान राजनीति र कम्युनिस्ट आन्दोलन’ विषयक बहसमा यी तीन नेताले केपी ओली, माधव नेपाल र प्रचण्ड नेतृत्वप्रति गम्भीर आलोचना गरे। उनीहरूकै शब्दमा वर्तमान शीर्ष नेतृत्व कम्युनिस्ट मूल्य-मान्यताबाट विचलित भएको छ।
विप्लवबाहेक जनार्दन र घनश्याम दुवै आ-आफ्ना पार्टीमा दोस्रो तहका नेताहरू हुन्। उनीहरू नेतृत्वप्रति खुलेर असन्तुष्टि व्यक्त गर्दै आएका छन्। भुसालले पुरानो नेतृत्वबाट अब परिवर्तन सम्भव नरहेको ठोकुवा गरे भने विप्लवले प्रचण्डकै कारण माओवादी कमजोर बनेको आरोप लगाए। जनार्दनले त मनमोहन अधिकारीबाहेक सबै कम्युनिस्ट प्रधानमन्त्रीहरू भ्रष्ट रहेको आरोपसम्म लगाए- जसमा अप्रत्यक्ष रूपमा प्रचण्ड पनि पर्छन्।
जनार्दनको विद्रोह-पूर्वसंकेत?
कार्यक्रमपछि सर्वाधिक आलोचनाको केन्द्रमा परेका जनार्दन हाल माओवादीको स्थायी समिति बैठकमा पनि विवादको मुख्य बिन्दु बनेका छन्। माओवादी नेताहरूले उनलाई पार्टीभित्रै आत्मालोचना गर्नुपर्ने माग गरेका छन्। सामाजिक सञ्जालदेखि मुख्यालयसम्म जनार्दनमाथि चर्को आलोचना भइरहेको छ। अर्कोतर्फ उनले माओवादी पार्टीभित्र पुस्तान्तरण र वैचारिक सुधारको बहस सुरु गरिदिएका छन्।
जनार्दनले स्थायी समिति बैठकमा आफूले ल्याएको किसान पेन्सन योजना, कृषि स्वयम्सेवक कार्यक्रमजस्ता योजनाहरू प्रचण्ड नेतृत्वले उल्ट्याएको गुनासो गरे। साथसाथै उनले माओवादी नेतृत्व उदारवाद र नवउदारवादको वकालत गर्न थालेको आरोप पनि लगाए।
घनश्यामको वैचारिक अभियान
एकीकृत समाजवादी पार्टीभित्र वैचारिक बहस उठाउने र संस्थापन नेतृत्वलाई चुनौती दिने तयारीमा छन् घनश्याम। पछिल्लो महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने तयारी भए पनि माधव नेपाल र झलनाथ खनालको गठबन्धनले रोक लगाएको थियो। अहिले पार्टीको विवाद चुलिँदा उनी दुवै नेताको अवकाशका पक्षमा उभिएका छन्। घनश्यामको धारणा छ- पुरानो नेतृत्वबाट विकल्प सम्भव छैन।
विप्लवको रणनीति : एकता वा विकल्प?
नेकपाका महासचिव विप्लव फेरि माओवादीसँग एकता गर्न इच्छुक देखिन्छन्। तर उनी निकट नेताहरू प्रचण्डकै कारण त्यो सम्भव नभएको बताउँछन्। विगतमा पनि केन्द्रीय समितिमा उनले एकतालाई गम्भीरतापूर्वक नलिएको भनेर प्रचण्डको आलोचना गरेका थिए। मोर्चाबाट अपेक्षित उपलब्धि नआएकाले नयाँ ध्रुवीकरणको सम्भावनामा विप्लव अग्रसर हुन थालेको आकलन गरिएको छ।
के बन्नेछ नयाँ वाम गठबन्धन?
भुसाल निकटका एक नेताका अनुसार यी तीन नेताले नेतृत्व पुस्तान्तरणको बहसलाई अझ तीव्र पार्ने रणनीति बनाइरहेका छन्। उनीहरूले मोर्चाका कार्यक्रम कोशी प्रदेशदेखि सुरु गर्ने तयारी गरिरहेका छन्। संवादलाई दोस्रो तहका नेताबीच बढाउँदै एकता प्रक्रियातर्फ जान सक्ने संकेतका रूपमा हेरिएको छ।
विश्लेषक डम्बर खतिवडाको भनाइमा वाममोर्चाले अहिलेको राजनीतिक संरचनाभित्र गतिशीलता ल्याउन कठिन हुनेछ। तर दोस्रो तहका नेताहरूले निरन्तर प्रयास गर्नुपर्छ भन्ने उनको सुझाव छ।
अध्यक्ष प्रचण्डले जनार्दनमाथि अप्रत्यक्ष रूपमा टिप्पणी गर्दै गल्ती गरेकाले आत्मालोचना गर्नुपर्ने बताएका छन्। स्थायी समिति बैठकपछि आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘छलफल चलिरहेको छ। जसले गल्ती गरेको छ, उसले आत्मालोचना गर्ने कुरा हो।’ उनले जनार्दनको नाम भने स्पष्ट रूपमा उल्लेख गरेनन्।
विप्लव, जनार्दन र घनश्यामको सामूहिक असन्तुष्टि केवल आआफ्नो पार्टीभित्रको कलह नभई वाम आन्दोलनमै नयाँ वैचारिक तरंग ल्याउने सम्भावना देखिन्छ। यी नेताहरूको संयोजन भविष्यमा सशक्त वैकल्पिक वाम शक्तिको जग बन्न सक्छ वा सधैँझैँ क्षणिक हलचलमै सीमित हुने हो त्यो त निकट दिनमै स्पष्ट हुनेछ।